धौलागिरि क्षेत्रका गाउँगाउँमा खानी

म्याग्दी/बागलुङ

फागुन १४ । okharbot-ko-tamakhani-myagdi-धौलागिरि क्षेत्रका बागलुङ, म्याग्दी र मुस्ताङमा थुप्रै खानी छन् । परम्परादेखि कतिपय गाउँकै नाम खानीका आधारमा रहेका छन् । बेलाबखत खनिज स्रोतहरूको उत्खनन गरी उपयोगमा ल्याइने योजना सुने पनि व्यवहारमा भने आएका छैनन् ।

खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा खनिज पदार्थ अन्तर्गत सुन, तामा र फलाम खानी, गैर–खनिज पदार्थअन्तर्गत चुनढुंगा, रत्न, पत्थर क्वार्ज, कप्रक, स्लेटढुंगा, मार्बल र इन्धन खनिज पदार्थमा तातोपानीमा मुहानहरू (हटस्प्रिङ) पाइन्छन् ।
म्याग्दीमा पाइने प्रमुख खनिज पदार्थमा तामा हो । स्थानीय खनेलहरूले रैथाने विधिबाट उत्खनन गरिएको मालिका गाउँपालिका ४ खटेनडाँडास्थित तामाखानी मुख्य हो । स्थानीय दीर्घनारायण भट्टचन र दिलीप शेरचनले २०१८ सालदेखि नै ओखरबोटमा उत्खनन गरे पनि आधुनिक प्रविधिसँगै अनुमतिको अभावमा २०४६ यता तामाखानी बन्द छन् । ‘उपयुक्त प्रविधि अभावमा जोखिम मोल्न सकेनौं र खानी बन्द गर्‍यौं । खानी विभागले पुन: उत्खनन अनुमति दिएन,’ खानी सञ्चालक शेरचनले भने, ‘खानीसम्म मोटरबाटो र बिजुली पुगेकाले पुन: उत्खनन गर्ने रआफ्नो सीप र ज्ञान हस्तान्तरण गर्ने धोको छ ।’ खटेनडाँडाको भीरमा कम्तीमा २५ वटाभन्दा बढी तामा निकाल्ने गरिएका सुरुङहरू रहेको उनले बताए ।
ओखरबोट धौलागिरि गाउँपालिकाका गुर्जा, मच्छिम, रघुगंगा गाउँपालिका ६ ठाडाखानी र चौरको झिंखानीमा तामाखानी भए पनि सबै बन्द छन् । विभिन्न स्थानका खानीहरू सञ्चालन हुन नसक्दा उत्खननमा पोख्त स्थानीय ‘खनेल’ हरूको सीप पुस्तान्तरण हुन रोकिएको छ । स्थानीय सरकारका रूपमा रहेको गाउँपालिका निर्वाचनपछिस्थानीयले खटेनडाँडाको तामाखानी पुन: सञ्चालन गर्न प्रयास गरे पनि कानुनी अडचन आएको छ । ‘वन मन्त्रालयसँगको समन्वयमा खानी उत्खनन गर्न वतावारणीय प्रभाव मूल्यांकन प्रतिवेदन र विस्तृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारी खानी विभागमा गयौं तर, अनुमति पाइएन,’ मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले भने, ‘खानी उत्खननको स्वीकृति प्रदेश कानुन अनुसार हुने भएकाले कानुनी अल्झन आएको छ ।’
तामाखानी मात्र होइन धौलागिरि गाउँपालिका ९ मल्कबाङ र रघुगंगा गाउँपालिका ८ मंगले क्षेत्रमा फलामखानी पनि छन् । स्थानीयस्तरमा तामा तथा फलामका खानी पत्ता लगाउने र उत्खनन गर्न जान्ने छन्त्याल जातिलाई मानिन्छ । छन्त्यालका अग्रजहरूले आफूलाई खानी खन्ने जातिको रूपमा गर्व गर्ने पनि गरेका छन् । जहाँ छन्त्याल जातिको बसोबास छ त्यहीं नै फलाम र तामाखानी रहेको पाइन्छ । त्यसैले धौलागिरिमा छन्त्याल बस्ती रहेका गाउँको नामको पछाडि ‘खानी’ जोडिएको हुन्छ ।
रहुघाट र कालीगण्डकी नदीमा प्लेसर गोल्ड भनिने बालुवामा सुनका कण पाइने गरेको छ । बालुवामा सुनका टुक्रा भेटिनुलाई नदीका उद्गम क्षेत्रमा सुनखानी हुन सक्ने बलियो आधार हो । करिब १० वर्षअघि काठमाडाैंको एक कम्पनीले दाना गविस र सदरमुकाम नजिक बगुवाखोलामा सुन उत्खनन गर्न खानी विभागबाट अनुमति लिएको परिपत्र जिल्ला प्रशासनमा आएको थियो । तर, कम्पनीले अन्वेषण गरे/नगरेको बारे प्रशासनमा कुनै जानकारी छैन । गत वर्ष एक चिनियाँ कम्पनीले घाँसा क्षेत्रमा कालीगण्डकी नदी क्षेत्रमा सुनखानी अन्वेषण गरेको थियो ।
खानी तथा भूगर्भ विभागले वेबसाइटमा राखेको नक्सामा सदरमुकाम बेनीदेखि केही तल वडा १ रत्नेचौर सीमावर्ती पर्वतकोनाङ्लीबाङ क्षेत्रमा सुनखानी उत्खनन गर्न खानी विभागबाट क्यायुन प्रालिले अनुमति लिएको ‘हाइलाइट’ गरी उल्लेख छ । गैरखनिज पदार्थ अन्तर्गतको खरीढुंगा अर्को महत्त्वपूर्ण छ । रघुगंगा गाउँपालिका २ भगवतीमा त्यसको खानी छ । यहाँको खानी सञ्चालन गर्न चितवनको गौतम खनिज उद्योग र हाल काठमाडौंको एएसडीसी एसियाले उत्खनन गर्दै आएका थिए । वन विभागको स्वीकृति नभएको भन्दै अख्तियारमा मुद्दा परेपछि उत्खनन रोकियो । हाल यो खानीको मुद्दामामिला टुँगो लागेकाले पुन: उत्खनन गर्ने तयारी भइरहेको छ ।
‘खरीढुंगा उत्खननमा देखिएका कानुनी अल्झन सुल्झिएका छन् । स्थानीय करको दररेट कायमगर्ने विषयमा छलफलभइरहेको छ,’ रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले भने, ‘खरीढुंगा खानी सञ्चालनमा सहज गराउने मात्र होइन, गाउँपालिका भित्रका स्लेटढुंगा र भगवतीको आउरी, मंगलेको झिंखानीक्षेत्रका तामा तथा फलाम खानी उत्खनन गराउनसमेत प्रयत्न सुरु गरेका छौं ।’
गैरखनिज पदार्थ अन्तर्गत चुनढुंगा सबैभन्दा बढी उत्खनन हुने पदार्थ हो । सिमेन्टमा प्रयोग हुने चुनढुंगा म्याग्दीका धेरै ठाउँमा छ । सदरमुकाम वरपरका पहाडबाट निक्लने पानीको मुहानमा अधिक चुनढुंगा भेटिएको छ । त्यसैगरी मुदीको बगरा तातोपानीको मूलमा अधिक मात्रामा चुनढुंगा बग्ने गर्छ । यहाँको मूलबाट निस्कने पानीमा चुनको लेग्रालेग्रा बग्ने गर्छ ।
खनिजपदार्थ मात्र होइन खनिज रत्न पत्थरहरू पनि प्रशस्त पाइन्छन् । धौलागिरि गापा १ गुर्जा र २ लुलाङ क्षेत्रमा क्वार्ज पाइन्छ । गुर्जा हिमालमुनी घुर्मखोला नजिक चम्किलो र टल्कने पत्थर (क्वार्ज) को पहाड छ ।
‘खनिजरत्न क्वार्जको पहाड नै राति टल्कन्छ,’ धौलागिरि १ का वडाध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘टल्कने पत्थर स्थानीयले पहिचान र प्रशोधनका लागि बाहिर लैजान खोज्दा प्रहरीले पक्राउ गरेपछि अहिले अलपत्र छ ।’ डाइमेन्सन ढुंगाहरू पनि जिल्लामा पाइन्छन् । अन्नपूर्ण गाउँपालिका ५ शिख र ६ घारको दगुर्नेपानी क्षेत्रमा मार्बल पाइन्छ । मालिका गाउँपालिका ३ रुममा स्लेटढुंगाको खानी छ । स्लेट ढुंगा जिल्लाका अन्य दर्जनभन्दा बढी क्षेत्रमा छन् ।
जिल्लामा पाइनेमध्ये ऊर्जा खनिजअन्तर्गत तातोपानीका मूलहरू मुख्य हुन् । म्याग्दीखोलाको मुदी र सिङघा, राहुघाट खोलाको दग्नाम र कालीगण्डकी नदीको तिप्ल्याङ, रातोपानी र नारच्याङमा यस्ता ऊर्जा खनिजहरू पाइन्छन् । सिङघास्थित तातोपानीको मूलबाट बिरेनुनको गन्ध आउँछ । नारच्याङ छेउको तातोपानी नुनिलो छ । यहाँको तातोपानीको मुहान वरपर भित्ता तथा कालीगण्डकी नदी बगरमा सेताम्मै नुनिलो पदार्थ टाँसिएको हुन्छ । वैज्ञानिक खोज तथा अन्वेषण नभए पनि यहाँको भूगोलले बिरेनुन र नुन खानी हुनसक्ने सम्भावनालाई प्रचुरता दिएका छन् । स्थानीयले परम्परादेखि सघन विश्वाससाथ तातोपानीका मूललाई विभिन्न रोग उपचार गर्ने प्राकृतिक अस्पतालका रूपमा उपयोग गर्दै आएका छन् ।
कसले गर्ने खोजी र परीक्षण ?
बागलुङमा दर्जनभन्दा बढी गाउँका नाउँ खानीबाट राखिएको छन् । ती सबै स्थानमा परम्परागत रूपमा खानी सञ्चालन भएको स्थानीय बताउँछन् ।
सडक यातायातको अभाव हुँदा पुराना पुस्ताले फलाम र तामा उत्खनन गरेर प्रयोगमा ल्याएको इतिहास छ । बूढापाकाले प्रयोग गरेका घरेलु हतियार तथा सामानहरू अझै केही गाउँमा भेटिन्छन् । ‘मेरा हजुरबुबाले निकालेको कच्चा तामाका डल्ला अहिले पनि हामीले राखेका छौं,’ राङखानीका ७७ वर्षीय तुलबहादुर श्रीषले भने, ‘वैज्ञानिक परीक्षण र पगाल्ने प्रविधिको अभावमा खानीहरू गर्भमै छन् ।’ राँगोको गर्धनजस्ता कच्चा तामाका डल्लाहरू निस्केकाले यो गाउँको नाउँ राङ्गाखानी रहेको थियो । अपभ्रंस भएर हाल राङखानी भएको उनले बताए ।
महाभारत कालका पाण्डवहरूले वनवासमा बसेको र त्यतिबेला तामा उत्खनन गरेको भन्ने भनाइ रहेको गाउँको नामै पाण्डवखानी छ । यो गाउँमा २०३५ सालमा सरकारले पनि वैज्ञानिक अनुसन्धान गरेर तामा भएको निष्कर्ष निकालेको थियो । भौगोलिक कठिनाइको कारण देखाएर सरकारले उत्खननको काम उपयोगी तवरले अघि बढाएन । त्यसपछि सरकारी टोली दोहोरिएर त्यहाँ पुगेको छैन । ‘यहाँ आउन पोखरादेखि तीन/चार दिन लाग्थ्यो, खानी उत्खनन गरेर लैजान नसक्ने भन्दै सरकारी टोलीले वास्ता गरेन,’ स्थानीय अगुवा नीरज पुनले भने, ‘अब गाउँमा सडक आइपुगेको छ, सरकारी प्रतिनिधिले वास्ता गरेका छैनन् ।’ खानी तथा भूगर्भ विभागमा पुगेर यो जानकारी गराउँदा प्राविधिक अभाव र उत्खननको काम महँगो हुने भनेर टार्न खोजेको उनले बताए । सरकारी टोलीको बेवास्तापछि गाउँलेहरू काम गर्न सक्ने निजी क्षेत्रको खोजीमा छ । पुनले भरपर्दो निजी कम्पनी भेटिएमा तामा उत्खनन गर्न पहल गर्ने बताए ।
खुंखानी र नर्जाखानीमा ठूला–ठूला सुरुङ छन् । ती सुरुङ तामा झिकेर बनेको तमानखोला ६ का वडाध्यक्ष कुलबहादुर छन्त्याल बताउँछन् । अझै पनि धेरै तामा भएको अनुमान उनले गरे । ठूला पहरा खोपेर निकालिएको तामा सरकारलाई चढाएर पैसा कमाउन यहाँका गाउँले सिपालु भएको उनले बताए । ‘आर्थिक रूपमा विपन्नहरू बस्ने नर्जाखानीमा एक/दुई घर करोडौं सम्पत्ति भएकाहरू छन्,’ उनले भने, ‘उनीहरूले खानीको व्यापार गरेको इतिहास छ ।’
गाउँमा प्रयोग हुने कुटोकोदालो, गल र छिनोजस्ता सामान परम्परागत खानीका फलामबाट बनाइएका छन् । फलामका सामानसँगै तामाका केही भाँडाकुँडा पनि गाउँलेले प्रयोग गरेका छन् । सिसाखानीमा सिसाको खानीसमेत भएको अनुमान छ । परम्परागत रूपमा उत्खनन भएर प्रयोगमा आए पनि दोहोर्‍याएर वैज्ञानिक अनुसन्धान नभएपछि सबै खानीहरू अलपत्रै छन् । लेखानी र बुंखानीसहित सबै खानी जोडिएका स्थानमा हाल पनि मगर र छन्त्यालको बस्ती छ । खानी सञ्चालन गर्ने विषयलाई राजनीतिक दलले चुनावी घोषणापत्रमा जोडेका थिए । तर, कुनै पनि संस्थाले उत्खननको काम गरेका छैनन् । केही गाउँमा कोइला खानीसमेत भएको स्थानीयको अनुमान छ । खानी उत्खननबारे बागलुङ उद्योग वाणिज्य संघले पनि चासो राख्ने गर्छ । ‘आर्थिकरूपमा समृद्धितर्फ लैजान सकिने भएकाले सम्भावित खानीको उत्खननमा सरकारको ध्यानाकर्षण गराउने काम गरेका छौं,’ अध्यक्ष जयराम भारीले भने, ‘हालसम्म तथ्यांक निकाल्ने काम पनि भएन ।’ उत्खनन भएमा जिल्लाको व्यवसाय बढ्ने उनले बताए ।
भीमगिठे, खरबाङ र ग्वालीचौरलगायतका केही खोलामा घरेलु उद्योगमा तयार पारिएका फलामे साङ्लाले बनेका पुल देख्न सकिन्छ । ‘आरनमा पगालेर ती पुल बनेकाले असम्भव भनिएको काम पुराना मानिसले सम्भव बनाएका थिए,’ राङखानीका श्रीषले भने, ‘अब केही लगानी गरेमा फेरि पुनर्जीवित गर्न सकिन्छ ।’ खानी तथा भूगर्भ विभागले अनुसन्धान गरेर गुणस्तर र मात्रा पहिचान गरिदिएमा निजी क्षेत्र पनि उत्खननमा आउन सक्ने उनले बताए । kantipur