सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी १८ पुष ।
म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसंग जोड्न सुरुङ मार्गको परिकल्पना गरिएको छ ।
धौलागिरी गाउँपालिकाको वडा न. १ मा पर्ने गुर्जामा सहज रुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको परिकल्पना गरिएको हो । गाउँपालीकाले २ नम्बर वडामा पर्ने लुलाङदेखि गुर्जासम्म सुरुङ मार्ग निर्माणको विषयमा सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा आठ लाख रुपैयाँ बजेट बिनियोजन गरेको १ नम्बर वडाका अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्भाव्यता अध्ययन गर्न परामर्शदाता कम्पनी छनौटको प्रक्रिया अघि बढेको हो ।
एउटै बस्ती र एउटै गाउँ रहेको गुर्जामा पुग्न नजिकैको बस्ती लुलाङबाट तिन हजार पाँच सय मिटर उचाईको देउराली धुरी पार गर्दै कम्तीमा आठ घण्टा पैदल हिड्नुपर्छ । उकालो, ओरालो, जंगल र भिरको बाटोको पैदलयात्रा अत्यासलाग्दो हुने गर्छ । हिउँदमा हिउँ परेपछि पैदलमार्ग समेत अवरुद्ध हुने गर्छ ।
भौगोलिक बिकटता र प्रतिकुल मौसमका कारण सडकको विकल्पमा सुरुङमार्गको परिकल्पना गरिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । “सकेसम्म सवारी साधन आवत जावत गर्ने नभए, पैदल मार्फत आवत जावत गर्नका लागि भएपनी सुरुङ मार्ग आवश्यक छ” उहाँले भन्नुभयो ।
सडक पुगेको मुनादेखि गुर्जासम्म खच्चर मार्फत सामान ढुवानी गर्दा प्रतिकीलो २१ रुपैया लाग्छ । २३० घरधुरी छन्त्याल र दलीत समुदायको बसोबास रहेको गुर्जा पर्यटन, जडिवुटी खेती, खानी र पशुपालनका लागि प्रशस्त सम्भावना बोकेको क्षेत्र हो ।
ढोरपाटन शिकार आरक्षसंग जोडिएको गुर्जाका बासिन्दा भौगोलिक बिकटताका कारण आधारभुत स्वास्थ्य उपचार सेवाबाट बञ्चित भएका छन् । बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन र बढी तौल भएका निर्माण सामाग्री ढुवानी गर्न हेलीकप्टरको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
लुलाङ गाउँको शिरानदेखि गुर्जाको वनथान भन्ने ठाउँलाई सुरुङ मार्गले जोड्न सकेमा आठ घण्टाको पैदलयात्राको समयअवधि दुई घण्टामा छोटीने वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । सुरुङ मार्ग बनेपछि सहज यातायात सुबिधासंगै पर्यटक भित्र्याउने, तामा, फलामी खानी सञ्चालन गर्ने, जडिवुटी खेती, भेडाबाख्राको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्भाव्यता अध्ययन गरेपछि सुरुङ मार्ग निर्माणका लागि प्रदेश र संघीय सरकारसंग योजना भित्र्याउन पहल गरिने गाउँपालीकाले जनाएको छ ।