ताकममा घुम्ती शिवीर – चन्द्रबहादुरले ७६ वर्षमा नागरिकता पाए

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २५ असोज । म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकममा बुधबार घुम्ती शिवीर सुरु भएको छ ।
धौलागिरी गाउँपालिकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिवीर सञ्चालन भएको हो । विकट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै प्रशासनीक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो । takamप्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले धौलागिरी गाउँपालिका ३ मुनाका ७६ वर्षिय चन्द्रबहादुर खत्री र रमीता खत्रीलाई नागरिकता प्रदान गरेर शिवीरको सुरुवात गर्नुभएको थियो । अपाङ्गता, जेष्ठ नागरिक र अन्य कारणले सदरमुकाम बेनी सम्म आएर सेवा लिन नसकेका सर्वसाधारणहरुको शिवीरमा भिड लागेको छ ।

एक दिनका लागि आयोजित शिवीर सेवा ग्राहीको चापका कारण दुई दिनसम्म सञ्चालन गरिने भएको छ । अपराहन्न ४ बजेसम्म ३२ जनालाई नागरिकता वितरण गरिएको थियो । ताकम, मुना, मुदी, लुलाङ, मराङका बासिन्दाहरु शिवीरमा प्रशासनीक कामका लागि आएका छन् ।

विभिन्न कारणले बेनी सम्म पुगेर सेवा लिन नपाएका सर्वसाधारणको सुबिधाका लागि गाउँमै घुम्ती शिवीर आयोजना गरीएको गाउँपालीकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । यसैगरी ताकममा बुधबारनै निजामती कर्मचारी र जनप्रतिनिधिहरुबीच सार्वजनिक सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
निजामती कर्मचारीहरुको आधीकारीक टे«ड युनियनको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष थमसरा पुन, जिसस सदस्य शेरबहादुर केसी, प्रजिअ कृष्णप्रसाद अधिकारी, बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, बरिष्ठ पशु चिकित्सक मनबहादुर पुन, अनुसन्धान अधिकृत अर्जुन शर्माको उपस्थिती रहेको थियो ।

जिसस प्रमुख केसी, गाउँपालिका अध्यक्ष पुन र जिसस सदस्य केसीले निजामती कर्मचारीहरुले प्रक्रियासंगत ढङगले जनतालाई सहज हुने गरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रजिअ अधिकारीले सेवा प्रवाहका क्रममा कुनै समस्या उत्पन्न भएमा तथा कसैले दःुख दिएमा प्रशासनमा जानकारी गराउन आग्रह गर्नुभयो ।

निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियनका अध्यक्ष चन्द्रमणी सापकोटाको अध्यक्षता, धौलागिरी गाउँपालिका ७ का वडा अध्यक्ष कलानीधी सुवेदीको स्वागत र युनियनका सचिव सुवास रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा ताकम स्थित आरसियुपी भवनमा वडा कार्यालयको उद्घाटन गरिएको थियो ।