भेटीबाट गलेश्वरको विकास

विकल्प न्यूज /बेनी
साउन २० गते ।

galeshowrभक्तजनहरुले चढाएको भेटीबाट म्याग्दीको गलेश्वर मन्दिरमा लोभलाग्दो विकास गरिएको छ । मन्दिरमा भेटी वापतको आम्दानी बर्षेनी बढ्दै जाँदा भौतिक पूर्वाधार निर्माण पनि धमाधम हुन थालेका छन् ।

गत आर्थिक वर्ष २०७३७४ मा ३७ लाख तिन हजार रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कालीगण्डकी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलीएको एउटै चट्टानमाथी अवस्थीत गलेश्वर मन्दिरको दर्शन र पुजाआजाका लागि आउने भक्तजनले सो भेटी चढाएका हुन् ।galeshowarदैनिक पुजा मार्फत संकलन भएको १७ लाख दुई हजार ८९३ र मेला पर्वको अवसरमा बिस लाख ८१६ रुपैयाँ भेटी संकलन भएको कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०७२७३ मा नियमित ११ लाख ५३ हजार ३८५ र मेलापर्वको अवसरमा १६ लाख ७४ हजार ५९४ रुपैयाँ भेटी संकलन भएको थियो ।

भक्तजनको आगमनसंगै भेटी पनि बढ्दै गएको कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । देशका अधिकांश मठमन्दिरमा भक्तजनले चढाउने भेटी अपारदर्शी भएको गुनासो भैरहेका बेला विगत पाँच वर्षदेखि गलेश्वर मन्दिरमा संकलन हुने भेटी रकम साप्ताहिक र मासिक रुपमा सार्वजनिक गरिदै आएको छ ।

“प्रहरी, स्थानीय युवा क्लब, आमा समूह र कोषका पदाधीकारीहरुको रोहबरमा भेटी गणना गरी कोषको बैङ्क खातामा दाखीला गर्ने व्यवस्था मिलाएका छौ” कोषाध्यक्ष पुनले भन्नुभयो “पारदर्शीता र दुरुपयोग नहोस भनेर यसो गरीएको हो ।”

यो वर्षको साउनको तेस्रो हप्तासम्म सात लाख ७६ हजार रुपैयाँ भेटी संकलन भएको छ । सोमबार एक लाख ९२ हजार, दोस्रो सोमबार दुई लाख ७४ हजार र तेस्रो सोमबार तिन लाख दश हजार रुपैयाँ भेटी संकलन भएको छ । हालसम्म कोषको आम्दानी तिन करोड तिन लाख ४० हजार रुपैयाँ छ ।galeshowarआम्दानी रकम कार्यालय, पुजा सञ्चालन, मन्दिर परिसरमा पूर्वाधार निर्माण, संस्कृत विद्यालय सञ्चालन लगायतका काममा खर्च गरिदै आएको कोषका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । पछिल्लो पाँच वर्षयता गलेश्वर मन्दिर परिसरमा सत्संग भवन, पुजारी निवास, पदमार्ग, पार्क लगायत पूर्वाधार निर्माणमा करिब आठ करोडको हाराहारीमा लगानी भएको छ ।

पूर्वाधार निर्माणसंगै मन्दिरको महिमाको बारेमा प्रचारप्रसार हुन थालेकाले भक्तजन आगमन बढेको छ । कालीगण्डकीको पानी तानेर १०८ धारा निर्माण गरी स्नानको व्यवस्था मिलाउने योजना कोषले बनाएको छ । मन्दिरको सहयोगमा गलेश्वरमा मुक्तिनाथ जाने भक्तजनलाई निशूल्क भोजनको व्यवस्था गरिएको छ । जेष्ठ नागरिक आश्रम समेत सञ्चालन भएको छ ।

बेनी जोमसोम सडक खण्ड अन्तरगत पर्ने गलेश्वर सदरमुकाम बेनी देखि तिन किलोमिटर उत्तरमा अवस्थित छ । द्धापरयुगमा सतिदेवीको गला पतन भएको स्थानको रुपमा मानिने गलेश्वर हिन्दु तथा बौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथ प्रवेशद्धारको रुपमा मानिन्छ ।

साउन महिनाको सोमबार, बालाचर्तुदर्शी, शिवरात्रीमा बिशेष मेला लाग्ने गलेश्वरमा अन्य समयमा समेत पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । एउटै ढुङ्गामाथी रहेका दर्जनौ मन्दिर, शालीग्राम, शिवलिङ्ग, जलकुण्ड गलेश्वरको आकर्षण हो । यहाँ नेपालको सबै जिल्लाका साथै भारतीय तिर्थयात्रीहरु पनि उल्लेख्य मात्रामा आउने गर्छन् ।