म्याग्दीका मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण

ठाकुरप्रसाद आचार्य/म्याग्दी
मङ्सिर ३ गते ।

भोली आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण धमाधम भइरहेका छन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहितको टोलीले निर्वाचनलाई सफल बनाउन सर्वदलीय वैठक र बुथ निर्माण गरेका छन् ।

जिल्लाका सबै मतदान स्थलमा मतदान केन्द्रको संरचना निर्माण लगायतको काम लगभग पूरा भएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो । सबै मतदानस्थलमा मतदान अधिकृतसहितको टोलीले मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारीका सवै काम गरेको उहाँले बताउनुभयो । ८६ मतदानस्थलका एकसय २० मतदान केन्द्रमा आवश्यक संरचना निर्माणसहित सवै कामहरु पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा एक र प्रदेशसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार एकसय २० मतदाता छन् । निर्वाचनको सवै तयारी पुरा भएको र निर्धक्कका साथ मतदानस्थलमा पुगेर मतदाताले मत हाल्ने अवस्था बनेको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो । निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्न सवैले सहयोग गर्न उहाँले अनुरोध समेत गर्नुभयो ।