ठूला लगानी भित्र्याउन म्याग्दीका विनोद कुँवरको सक्रियता

विकल्प न्यूज\बेनी
असोज २६ गते ।

म्याग्दीका विनोद कुँवरले विदेशमा रहेका नेपालीको लगानीलाई आर्कषित गर्न धमाधम सम्मेलनको आयोजनामा सक्रिय भएका छन् । कोरियाका सफल नेपाली ब्यवसायी कुँवरले एनआरएनए आइसीसीको नेतृत्व गरेपछि कोरियाका विभिन्न कम्पनीलाई नेपालमा समेत उत्पादन गर्ने वातावरण बनाएका छन भने ठूला परियोजनामा समेत लगानी र नेपालबाटै निर्यातको वातावरण बनाउन सक्रिय छन् ।

यसैक्रममा हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन मन्थन गर्दै दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ । एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको नेपाल ग्रीन हाइड्रोजन समीट ले लगानीकर्ता उत्साहित भएका छन् ।

एनआरएनए आइसीसीका अध्यक्ष विनोद कुँवरले हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीका लागि अब बाटो खुलेको बताए । अध्यक्ष कुँवरको नेतृत्वमा म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाटको जलविद्युत आयोजना निर्माणको क्रममा प्राप्त अनुभव तथा थप लगानीको वातावरण बनाउने गरी उक्त सम्मेलनले समेत सघाएको जनाइएको छ । सम्मेलनका विभिन्न सत्रहरुमा नीति निर्माता, विदेशी तथा स्वदेशी विज्ञ तथा लगानीकर्ताले नेपालमा हाइड्रोजन उत्पादनका लागि पूर्वतयारी, खपत तथा बजारीकरण लगायतका विषयमा विभिन्न अध्ययनका आँकडा विश्व अभ्यास लगायतलाई विश्लेषण गर्दै नेपालमा यसको सान्दर्भिकता र सम्भाव्यतामा बहस गरेका थिए । सम्मेलनले नेपालले अबको १० वर्षपछि मात्रै हाइड्रोजन निर्यात गर्न सक्ने सम्भावना रहेको निश्कर्ष निकालेको छ ।

नेपालले खनिज इन्धन तथा रासायनिक मल आयातमा ठूलो समस्या भोगिरहेकाले त्यसलाई प्रतिस्थापन गर्ने गरी नीति निर्माण गर्नुपर्नेमा सहभागीको जोड रहेको अध्यक्ष कुँवरको भनाई छ । एनआएनएको अध्यक्ष भएपछि कुँवरले विभिन्न लगानीमुलक सम्मेलन सहित विदेशी लगानीमा धमाधम उद्योग स्थापना गरिरहेको अवस्थामा जलविद्युत सहितका ठूला परियोजनामा समेत लगानी भित्राउन तल्लिन रहेको बेलामा एनआरएनकर्मी तथा पूर्व अध्यक्ष शेष घले सहितको टोलीले समेत साथ दिएको छ । हाइड्रोजन उद्योगका लागि प्रारम्भिक चरणमा सहुलियत पूर्ण विद्युतको व्यवस्थापन गर्न सरकार तयार देखिएपछि सम्मेलनलाई सतप्रतिशत सफल मानिएको छ ।

सम्मेलनमा एमआईटी ग्रप अफ होल्डिङ्सकी अध्यक्ष जमुना गुरुङले नेपालमा हाइड्रोजन उत्पादन व्यवसायिक नाफाका दृष्टिकोणबाट सम्भव हुने अवस्था नदेखिएको स्पस्ट पारिन् । ‘विश्वमा उपलब्ध प्रविधि तथा प्रतिस्पर्धाको वातावरण हेर्दा अहिले नै नाफामुलक व्यवसायका रुपमा बढाउन सक्ने देखिएन,’ उनले भनिन्, ‘तर वातावरणीय तथा सामाजिक आवश्यकताका हिसावले यसमा अग्रसर भने हामी लाग्नै पर्छ ।’ गुरुङले अनुदान, वातावरण संरक्षण कोष, सहुलियतपूर्ण कर्जा र सरकारको लगानीसहित निजी क्षेत्रको लगानी गरेर जानु उपयुक्त हुने सुभाव दिइन् ।

सम्मेलनका विभिन्न विज्ञहरुले नेपालमा हाइड्रोजन मार्पmत युरिया उत्पादन गर्ने योजना भने बनाउन उपयुु्क्त हुने बताए । प्रति युनिट तीन रुपैयाँमा बिजुली पाउने हो भने प्रतिमेट्रिक टन ४३६ अमेरिकी डलरमा रासायनिक मल उत्पादन हुन सक्ने आँकडा प्रस्तुत गरिएपछि अव नेपाल सरकारको ध्यान समेत सम्मेलनबाट मोडिएको छ । एमआईटी ग्रुप फाउण्डेशन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संयुक्त रूपमा सम्मेलनको आयोजना गरेका हुन् ।सम्मेलनमा सरकारका विभिन्न निकायका प्रतिनिधि, विभिन्न मुलुकका राजदूत, अन्तर्राष्ट्रिय समुदाय, गैर आवासीय नेपालीका साथै हाइड्रोजनका क्षेत्रमा सक्रिय संस्था तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।