सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ भदौ ।
बेनी नगरपालिका १४ सिंगामा रहेको धवलागिरि माविमा मंगलबारदेखि जिल्लास्तरीय अन्तरमावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । जुरेस, बाल कल्वको आयोजना र विद्यालयको व्यवस्थापनमा सुरु भएको छात्रतर्फ १३ र छात्रातर्फ ९ टिमको सहभागिता रहेको प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले उद्घाटन गर्नुभयो । बाल क्लबका अध्यक्ष नारायण थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विश्वकर्माले खेलकुदमा राज्यको लगानी बढाउनुपर्ने बताउनुभयो ।
जुरेसका अध्यक्ष ममता पौडेलले स्वागत गरेको कार्यक्रममा स्रोतव्यक्ति केशबप्रसाद रेग्मी, धवलागिरि रेफ्री कमिटीका संयोजक तेजेन्द्र बानियाँ, भूतपुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र बानियाँ, व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्का (भगवान), नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका सदस्य विष्णु रोका, विद्यालयका निमित्त प्रधानाध्यापक भुवनप्रसाद रेग्मी र विद्यालयका खेल शिक्षक रमेश बोगटी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।शिक्षक खगेश्वर रिजालको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा माउण्ट एभेरेष्ट आवासिय मावि बेनीले धवलागिरि मावि बीलाई पराजित गरेको छ । त्यस्तै, डर्निङ आवासीय मावि बावियाचौरले पौलस्त्य मावि भीरमुनीलाई पराजित गर्दा महेन्द्ररत्न मावि बरंजाले तातोपानी बोर्डिङलाई पराजित गर्दै विजयी सुरुवात गरेका छन् ।
जनकल्याण मावि पुलाचौरले म्याग्दी एकेडेमी र धवलागिरि मावि सीले सरस्वति मावि बीलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको मूख्य रेफ्री तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । प्रतियोगितामा छात्रतर्फ विजयी टिमलाई ट्रफी, मेडलको साथमा नगद १५ हजार र उपविजेतालाई नगद १० हजार रुपैयाँ र छात्रातर्फ उपाधी विजेतालाई ट्रफीको साथमा १० हजार र उपविजेतालाई ६ हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको विद्यालयले जनाएको छ ।