विकल्प न्यूज/म्याग्दी
असार २७ गते ।
उत्तरी म्याग्दीको ग्रामिण बस्तीमा खेलमैदान निर्माण कार्यले तिब्रता पाएको छ । नारच्याङ, शिख, घार, टिकोट, नांगीमा स्थानीय युवाहरुको सक्रियतामा सुबिधासम्पन्न खेलमैदान निर्माण भएको हो ।
मैदान निर्माण भएपछि खेल प्रशिक्षण र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । खेलको माध्यमबाट युवाहरुले प्रतिभा प्रस्फुटनको अवसर पाएका छन् । बिशेष गरेर उत्तरी क्षेत्रमा बास्केटबल र भलिबलका लागि खेलमैदान निर्माण भएको छ ।भिरालो भुगोल रहेको र फुटबलका लागि खेलमैदान बनाउन आवश्यक पर्ने धेरै जमिन नभएकाले यस क्षेत्रका युवा, युवतीहरुमाझ बास्केटबल खेल बढी लोकप्रिय रहेको कान्छीबाराही युवा कल्व शिखका बिसन रानाले बताउनुभयो ।
खेलमैदान निर्माणमा सरकारी निकायको तुलनामा स्थानीय बासीन्दा, संघ संस्था र प्रवासीहरुको लगानी बढी रहेको छ । नारच्याङको बेशी गाउँमा खेलमैदान निर्माण गर्न जिविसले विद्युत रोयल्टी मार्फत एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।
क्लवको नेतृत्वमा बिदेशमा रहेका नारच्याङका युवाहरुबाट थप ६ लाख रुपैयाँ जुटाएर स्थानीय बासिन्दाले श्रमदान गरेर २८.५ मिटर लम्बाई र १६ मिटर चौडाई भएको बास्केटबल र भलिबल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण गरेको अध्यक्ष हेमनारायण गर्बुजाले बताउनुभयो ।
खेलमैदान निर्माणका लागि बेशीगाउँका बासिन्दाले श्रमदान गरेर कालीगण्डकी किनारबाट बालुवा, गिट्टी ढुवानी र ढुङ्गा संकलन गरेका थिए । एक वर्षअघि शिखको शिख उच्च मावि परिसरमा कान्छी बाराही युवा क्लवले बिदेशमा रहेका शिखका युवाहरुको सक्रियतामा खेलमैदान र मञ्च निर्माण गरेको थियो ।
शिखमै फुटबल खेल मैदान निर्माणको लागि पहिलो चरणको काम सकिएको छ । तारबार र प्याराफिट बनाउने तयारी भएको छ । त्यसैगरी घारको ३ र ४ नम्बर वडामा पर्ने खिवाङ गाउँमा पनि प्रवासीहरुको सहयोगमा प्याराफिट र मञ्च सहितको खेलमैदान निर्माण भएको छ ।
हिस्तानको टिकोट र राम्चेको नांगीमा पनि बास्केटबल खेल सञ्चालनका लागि ढलान गरेको खेलमैदान बनाइएको छ । खेलमैदानहरु खेल गतिबिधि सञ्चालनका लागि मात्र नभएर सांस्कृतीक कार्यक्रम, आमसभा, भेला, सम्मेलन आदी कार्यक्रम आयोजना गर्नका लागि पनि प्रभावकारी भएका छन् ।