बेनी–दरवाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
म्याग्दी(बेनी) कात्तिक १ गते । सुख्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकको फापरखेत खण्डको बैकल्पिक सडक सञ्चालन भएको छ । बैकल्पिक सडक सञ्चालनमा आएसँगै दसैँ मनाउन गाउँ हिडेका सर्वसाधारणहरुलाई सहज भएको छ ।
बेनी–नगरपालिका –४ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराहन्न देखि शुरु भएको पहिरो नरोकिएपछि मंगला गाउँपालिकाले पखेर–बरंजा– ज्यामिरे– सातबिसे –बाबियाचौर वैकल्पिक सडक सञ्चालन गरेको हो ।
मंगला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीले बर्खा याममा अवरुद्ध बनेको बरंजा– सातबिसे– बाबियाचौर खण्डको सडक तत्कालै मर्मत गरेर आइतबार दिउँसो देखि मिनिबस, जिप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्याक्टर चलाउन मिल्ने बनाइको जानकारी दिनुभयो ।
“निरन्तर खसिरहेको पहिरो नरोकिदा सम्म मर्मत गर्न नसकिने भएकाले दसैको समयमा जन्मथलो जाने नागरिकहरुलाई सहजताका लागि गाउँपालिकाले वैकल्पिक सडक सञ्चालन गरेको हो,” उहाँले भन्नुभयो “पखेर–सिमलचौर झोलुङ्गे पुल तरेर पैदलयात्रा गर्न सकिन्छ ।” मोटरसाइकल र स्कुटरका लागि पखेर देखि बान्द्रे हुदै सिम जोड्ने झोलुङ्गे पुल तरेर सिम पुग्न सकिने विकल्प पनि रहेको छ ।
बेनी–दरवाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ । फापरखेतमा पहिरो निरन्तर झरेकाले पन्छाउने काम शुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।
पहिरो र वैकल्पिक सडकको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गैरेले स्थलगत निरिक्षण गरि यातायात सञ्चालन र सडक मर्मतका लागि सहजिकरण गर्नुभएको थियो ।
विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिकै हरेक बर्खायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सीधा यातायात सेवा बन्द हुने गरेको छ । दुर्घटनाको जोखिम बढाएको छ । फापरखेतमा सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो छ । माथिबाट पहिरो खसिरहने र साँघुरो उक्त ठाउँको सडकबाट गत वर्ष दुई वटा मालवाहक ट्रक म्याग्दी नदीमा खसेर दुर्घटना भएको छ । साउन यता दुई वटा मोटरसाइकल म्याग्दी नदीमा खसेपनि मानवीय क्षति भएको छैन् । मंगला, मालिका र धौलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।
घुमाउने भनेर चिनिने फापरखेत पहिरोले स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पु¥याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ । साँघुरो सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ । जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम छ ।
फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथी मोटरेबल पुल बनाउन चालु आर्थिक वर्ष २०८३÷८४ मा दुई करोड रुपियाँ बजेट बिनियोजन गरेको गण्डकी प्रदेश सरकारले प्रक्रिया थालेकोे छ ।
सवारी साधनको अत्याधिक चाप हुने बेनी–दरवाङ सडकमा बेलिब्रिज बनाउँदा जोखिम हुने प्राबिधिक प्रतिवेदनको आधारमा प्रदेश सरकारले . सात करोड ५० लाख रुपियाँ बजेटको स्रोत सुनिश्चित गरेपनि ठेक्का आह्वान नभएको र ‘डिजाइन एण्ड बिल्ड’ बिधीबाट पक्की मोटरेबल पुल बनाउने तयारी गरेको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्