बेनी खानेपानी पुनर्निर्माणमा झण्डै १५ करोड लाग्ने
ठाकुरप्रसाद आचार्य
म्याग्दी,असोज २६ गते । यही असोज ८ देखि ११ गते सम्म परेको भारी वर्षाका कारण म्याग्दीको सदरमुकाम बेनीमा खानेपानीको आपूर्ति गरिँदै आएको पाइपलाइन क्षतिग्रस्त भएपछि यसको पुनर्निर्माण गर्न झण्डै १५ करोड रुपियाँ लाग्ने भएको छ । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराबाट आएको इन्जिनियर सहितको प्राविधिक टोलीले क्षतिग्रस्त पाइपलाइनको स्थलगत रुपमा अवलोकन गरेपछि १४ करोड ८० लाख रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको हो ।
बेनी–जोमसोम सडक सँगै विच्छाइएको खानेपानीको पाइपलाइन बाढीपहिरो र कालिगण्डकी नदी कटानका कारण १४ किलोमिटर पाइपलाइन क्षतिग्रस्त भएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ इन्चको दुईवटा पाइपलाइन मार्फत बेनीमा पानी आपूर्ती हुँदै आएको थियो ।
अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क र डाडाँखर्कको मुहनाबाट बेनी–जोमसोम सडकको किनारै किनार बैसरी देखि गलेश्वर हुँदै बेनीसम्म १६ किलोमिटर पाइपलाइन विस्तार गरेर पानी ल्याइएको थियो । सडक सँगै १४ किलोमिटर दूरीमा रहेको पाइपलाइन पनि पूर्णरुपमा क्षतिग्रस्त भएपछि पानी आपूर्ती अवरुद्ध भएको संस्थाका अध्यक्ष गिरीले बताउनुभयो ।
‘‘क्षतिग्रस्त पाइपलाइन पुनर्निर्माण गरेर खानेपानी सञ्चालन गर्न संस्थाको क्षमता काबुभन्दा बाहिर भएकाले पानीका वैकल्पिक स्रोतको पहिचान गरि अस्थायी रुपमा उपभोक्तालाई पानी आपुर्ती गरेका छौं,” उहाँले भन्नुभयो,‘‘बाढीपहिरोले ठूलो क्षति पुगेकाले संस्था आफैले पाइपलाइन पुनर्निर्माण गर्न सक्ने क्षमता छैन । पुनर्निर्माणका लागि प्रदेश र संघीय सकारसँग सहयोग मागेका छौं ।”
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराबाट इन्जिनियर सुरेशराज आचार्य सहितको प्राविधिक टोलीले क्षतिग्रस्त पाइपलाइनको स्थलगत रुपमा अध्ययन गरेर क्षतिको मुल्याङ्कन गरेको उहाँले बताउनुभयो । अहिले नयाँ पाइपलाइन निर्माण गर्दा ८ इन्चको पाइपलाइन राखिने र गलेश्वरदेखि बेनीको रिङरोड हुँदै बराहपाखोमा रहेका पानी शुद्धीकरण गर्ने ट्याङ्कीमा हाल्ने गरी योजना बनाएको उहाँले बताउनुभयो ।
टोलीले तयार पारेको लगत स्टिमेटलाई संघीय सरकार अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभाग लगायतका निकायमा पठाइएको र सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो । संस्थाले अहिले वैकल्पिक पानीको स्रोतहरुको खोजी गरेर बेनीमा खानेपानीको अस्थायी आपूर्ती गर्दै आएको छ । बेनी नगरपालिका ६ स्थित राहुवडा,अम्रेनी र वडा नम्बर ३ मा रहेको कोप्रे खोलाको मुहानबाट पानी ल्याएर आलोपालो प्रणाली अनुसार बजारमा पानी वितरण गरिएको संस्थाले जनाएको छ ।
संस्थाका अनुसार राहुवडाको मुहाबाट प्रतिसेकेन्ड ३ देखि ४ लिटर,कोप्रे खोलाको मुहानबाट प्रतिसेकेन्ड ३ लिटर र अम्रेनीको मुहानबाट प्रतिसेकेन्ड ६ देखि ७ लिटर गरेर अहिले जम्मा १२ देखि १३ लिटर प्रतिसेकेन्ड पानी आपूर्ती हुँदै आएको छ ।
बेनीबजारका उपभोक्तालाई सहज रुपमा पानी आपूर्ती गर्नका लागि प्रतिसेकेन्ड २२ लिटर पानी आपूर्ती हुनुपर्दछ । पानीको आपूर्ती कम भएपछि १२÷१२ घण्टाका दरले बुधबार बेलुका देखि लोडसेडिङ गरिएको संस्थाका अध्यक्ष गिरीले जानकारी दिनुभयो । अस्थायी रुपमा आपूर्ती हुँदै आएको पानी मंसिरसम्म मात्र हुने र त्यसपछि पानीको स्रोत सुक्ने हुँदा मंसिर महिना भन्दा अगावै पाइपलाइनको पुनिर्निर्माण गर्नुपर्ने उहाँको भनाई छ । बजेट प्राप्त भएमा एकमहिना भित्रमा पूर्णरुपमा पाइपलाइन विस्तार गरी पूर्ण क्षमतामा पानी आपूर्ती गर्न सकिने संभावना रहेको उहाँले बताउनुभयो ।
संस्थामार्फत बेनी नगरपालिका–२ हाँडेभिर,बेनीबजारका ७ र ८ नम्बर वडाका गरी एक हजार २१६ घर परिवारका २५ हजार जनसंख्याका लागि खानेपानी वितरण हुँदै आएको छ । विसं २०६३ मा नगर विकास कोषबाट ऋण लिएर बेनी खानेपानी आयोजना निर्माण गरिएको थियो ।
रिठ्ठाखर्क, डाँडाखर्क र बेनी नगरपालिका–३ कोप्रे खोलाको मुहानबाट प्रतिसेकेण्ड २४ लिटर खानेपानी आपूर्ती गरेर संस्थाले २४ सै घण्टा बजारमा पानीको वितरण गर्दै आएको थियो । बाढीपहिरोले खानेपानी योजनामा क्षति पु¥याएपछि अहिले बजारमा खानेपानी वितरणमा समस्या भएको छ । विभिन्न संघसंस्थाले ट्याङ्करमा पानी आपूर्ती गरी निशुल्क रुपमा पानीको वितरण गरिरहेका छन् ।


प्रतिक्रिया राख्नुहोस्