बाढीपहिरोले तहसनहस अन्नपूर्ण,सहयोगको अपिल
असोज २६ गते । यही असोज ८ देखि ११ गते सम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र कालिगण्डकी नदी कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा विपद्को चपेटामा परेको छ । अधिकांश ग्रामिण भेगमा बाढीपहिरोले प्रभावित भएको छ । बाढीपहिरोबाट ६ जनाको मृत्यु हुनुका साथै ६० घर पूर्ण र १२९ घर आंशिक क्षति भएका छन् । अधिकांश ग्रामीण बस्ती पहिरोको उच्च जोखिममा छन् भने सडक, खानेपानी, विद्युत् र सञ्चार पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ । विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ठूलो स्रोत आवश्यक भएपछि गाउँपालिकाले संघ, प्रदेश सरकार, संघसंस्था र सहयोगी दाताहरुसँग आर्थिक सहयोगको अपिल गरेको छ ।
सडक, खानेपानी, विद्युत् र सञ्चार सेवा लामो समय सम्म प्रभावित हुँदा जनजीवन कष्टकर बनेको छ । गाउँपालिकाले बाढीपहिरो प्रभावितहरुका लागि तीन स्थानमा त्रिपाल र टेन्ट टागेर आश्रयस्थल निर्माण गरि सुरक्षित रुपमा बसोबासको व्यवस्था मिलाएको छ ।
वडा नम्बर ६ को घार वडा कार्यालयमा रहेको आश्रयस्थलमा पाउद्धारका पहिरो प्रभावित ९४ जना,शिखमा रहेको आश्रयस्थलमा किन्दु र धस्केखोरका ९१ जना र काफलडाँडाको शिरुवारीमा रहेको आश्रयस्थल महभिरका ७० जना गरेर २५५ जनालाई सुरक्षित रुपमा राखेको पालिका उपाध्यक्ष दिवाकुमारी तिलिजाले जानकारी दिनुभयो । उहाँका अनुसार १५६ जना बाढीपहिरो प्रभावितहरु आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको दैनिक उपभोग्य वस्तु सकिन थालेको र आश्रयस्थल सम्म पुग्ने सडक अझै अवरुद्ध भएकाले दैनिक उपभोग्य सामग्री पु¥याउन समस्या भएको पालिकाले जनाएको छ । पालिकाका शिख र घोडेपानीमा अझै विद्युत् सेवा सुचारु हुनसकेको छैन ।
नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले क्षतिग्रस्त पोल तथा वितरण लाइन मर्मतसम्भार गरेर ११ दिनपछि गाउँपालिका केन्द्र पोखरेबगर,नागी,राम्चे,भुरुङतातोपानी,दाना लगायतका स्थानहरुमा विद्युत् सेवा सुचारु गरेको छ । अझै पनि शिख,घोडेपानी लगायतका केही वस्तीहरुमा विद्युत् सेवा अवरुद्ध नै छ । विद्युत् र सञ्चार सेवा पुनः सुरु हुन एकहप्ता भन्दा पनि बढी समय लागेका कारण स्थानीयहरुको दैनिक प्रभावित बनेको थियो ।
विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि स्रोत अभाव भएपछि गाउँपालिकाले सहयोग गर्न सबैमा अपिल गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । नदी कटानका कारण गाउँपालिकाको महभिरदेखि मुस्ताङको सिमानासम्मका उच्च जोखिममा परेका वस्तीको संरक्षण निकै चुनौतीपूर्ण भएको उहाँले बताउनुभयो ।
बाढीपहिरोका कारण क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडकअन्तर्गत गाउँपालिकाभित्रका विभिन्न स्थानमा सडक कटान र पहिरोले आवागमन प्रभावित भएको छ । सडक तथा अन्य पूर्वाधारमा क्षति पुग्दा प्रभावित बस्तीमा अत्यावश्यक सामग्री पु¥याउनसमेत कठिनाइ भएको छ । पालिका भित्रका विभिन्न वडामा बाढीपहिरोले घर,गोठ, सडक, खानेपानी, सिँचाइ, कृषि तथा सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

राहत तथा भौतिक संरचनाको पुनिर्निर्माण गर्न आवश्यक स्रोतसाधन जुटाउन पालिकाको काबुभन्दा बाहिरको विषय भएकाले सबैलाई सहयोग गर्न अपिल गरिएको पालिका अध्यक्ष पुनले बताउनुभयो । प्रभावित नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापना गर्न थप सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष पुनले विपद् राहत,उद्धार तथा पुनःस्थापनाका कार्यमा स्वैच्छिक रुपमा सहयोग गर्न चाहने संघ, प्रदेश तथा स्थानीय तह, विभिन्न संघसंस्था, उद्यमी, व्यापारी र मनकारी व्यक्तिलाई गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न अनुरोध गर्नुभएको छ । गाउँपालिकाको कोषमा रहेको क्युआर कोडमार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्था मिलाएको अध्यक्ष पुनले बताउनुभयो ।
बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उच्च जोखिममा रहेका बस्तीको प्राविधिक अध्ययन गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण गर्न चुनौती रहेकाले प्रदेश र संघीय सरकारबाट सहयोगको अपेक्षा गरिएको पालिका अध्यक्ष पुनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्