फर्सेको दर्दनाक कथाः बग्यो घर,उजाडियो बस्ती
ठाकुरप्रसाद आचार्य
असोज २६ गते । यही असोज ११ गते कालीगण्डकी नदीको बाढीले तहसनहस पारेर बगरमा परिणत भएको पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से पुग्दा संगीता आचार्य नदी किनारमा आफ्नो घरको अवशेष खोजिरहनुभएको थियो । कुनै समय घर रहेको स्थान देखाउँदै उहाँले पीडामिश्रित स्वरमा भन्नुभयो, “हाम्रो घर भएको ठाउँबाट अहिले नदी बगिरहेको छ । जीवनभर दुःख गरेर बनाएको घर बाढीले बगाइदियो । एकैछिनमा घरबारविहीन हुनुप¥यो । प्रकृतिको लीला पनि कस्तो होला ! मनै मान्दैन। त्यसैले दिनमा एकपटक यहाँ आउँछु, घर भएको ठाउँ हेर्छु र मन भारी पार्दै फर्किन्छु ।”
संगीताको मात्र होइन, कालीगण्डकी नदीको बाढीले घर र खेत बगाएपछि फर्सेका ६५ घरपरिवारको पीडा उस्तै छ । ७६ घरमा बढीले बस्न नमिल्न गरी क्षति पु¥याएको छ । बाढीप्रभावितहरु केही फर्सेकै मजुवा वस्तीमा टेन्ट टाँगेर निर्माण गरिएको आश्रयस्थलमा र केही आफन्तका घरमा शरण लिएर बसेका छन् । वर्षौँको मेहनतले बनाएको घर र जीविकाको आधार बनेको खेतीयोग्य जमिन गुमाएका उनीहरू अहिले घरबारविहीन बनेका छन् । कसैले घरको अवशेष खोजिरहेका छन् त कसैले आफ्नो पुख्र्यौली थलो उजाडिएको पीडा मनमा बोकेर अस्थायी शिविरमा रात काटिरहेका छन् ।
‘श्रीमानले विदेशमा श्रम र पसिना बगाएर कमाएको पैसाले बल्लतल्ल एउटा बास मात्र बनाएका थियौं,’ सुकमाया विकले भन्नुभयो,‘घरसँगै हाम्रो सपना पनि कालीगण्डकीमा बगे । भाग्यले बाँचियो, साना–साना बालबच्चाहरु छन् । चाढपर्व नजिकिँदै भएपनि हाम्रा लागि कुनै खुसी छैन । टेन्टको बास दुःखसुख रात काटेका छौं ।’’ सरकारी निकायले सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाइदिए आफूहरूलाई ठूलो राहत मिल्ने र उजाडिएको जीवनमा खुसी फर्किने उहाँले बताउनुभयो ।
“घर बगे पनि हाम्रो साहस बगेको छैन,”पार्वती विकले भन्नुभयो, “सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाइदिए हामी फेरि उठ्ने थियौँ । भाग्यले बाँचेका छौँ, अब सुरक्षित ठाउँमा बस्न पाए नयाँ जीवन सुरु गर्ने थियौँ ।” पचास वर्षदेखि त्यही ठाउँमा बस्दै आउनुभएकी ७० वर्षीया चन्द्रकुमारी फगामीले जीवनमा यसअघि कहिल्यै यस्तो विनाशकारी बाढी नदेखेको सुनाउनुभयो । उहाँले भत्किएको घर देखाउदै भन्नुभयो, “असोज १० गते राति ११ बजेतिर छिमेकीको घरमा कोरा कुर्न बसेकाहरूले ‘लौ, कालीगण्डकीमा बाढी आयो, भागौँ’ भने । सुरुमा त विश्वास नै लागेको थिएन । तर, पछि सुतेकै ठाउँमा बाढी आइपुगेपछि सकिनसकी भागेर ज्यान बचाएँ ।घरमा भएको सबै सरसामानहरु बाढीले बगाइदियो । अरुले दिएको कपडा लगाएकी छु ।”

पहिला पातीले बारेर बनाएको घर थियो पछि दुःख गरेर बल्लतल्ल ढुङ्गामाटोले तातो हुने एकतल्लाको घर बनाएर बस्दै आएको उहाँले बताउनुभयो । फगामीले भन्नुभयो, ‘‘अहिले के विपत्ती आइलाग्यो,बाढीले घर बगाएपछि राम्रो सँग निद्रा पनि लागेको छैन ।’’ १४ दिन सम्म आश्रयस्थलमा बसेर शनिबार देखि आफन्तको घरमा बस्न थालेको बताउनुभयो । असोज १० गते राती देखि नै कालिगण्डकीमा पानीको सतह बढेपछि जोखिमा रहेका घरहरु खाली गराउन र स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्नका लागि सक्रिय हुनुभएका फर्सेका रेडक्रसकर्मी हरेमबहादुर खत्रीले बाढीले फर्से बजार अब फेरी नउठ्नेगरी तहसनहस पारेको बताउनुभयो ।
वस्ती भएको ठाउँमा नदीले बगर बनाइदिएकाले बाढीबाट विस्थापितहरुको पुर्नस्थापनाका लागि तीनै तहका सरकारले बैकल्पिक स्थानको खोजी गरेर सुरक्षित बसोबासको व्यवस्था गर्न ढिला गर्न नहुने उहाँको भनाई थियो । उहाँका अनुसार वडा कार्यालय,जिल्ला विपद् व्यवस्थापन समिति,विभिन्न संघसंस्था र दाताको सहयोगले टेन्ट टाँगेर आश्रस्थल निर्माण गरि ७० जनालाई सामुहिक रुपमा राखिएको छ ।
जलजला गाउँपालिका ८ का वडाध्यक्ष हरिविकास जिसीले कालीगण्डकी बाढी र नदी कटानका कारण नसोचेको क्षति हुनपुगेको बताउनुभयो । वास्तविक बाढीप्रभावितहरुलाई एकिकृत वस्ती निर्माण गरेर बसोबासको व्यवस्था मिलाउन वडाले तीनतहका सरकार,विभिन्न संघसंस्थाहरु र दाताहरुसँग सहयोगको अपिल गरेको बताउनुभयो । तत्कालका लागि वडा कार्यालय,जिल्ला विपद् व्यवस्थापन समिति लगायत स्वदेश तथा विदेशमा रहेकाहरुबाट सहयोग प्राप्त भएकाले व्यवस्थापनमा कुनै समस्या नभएको बताउनुभयो ।
बाढीले फर्से र बागलुङ नगरपालिका ४ ढोडेनी जोड्ने झोलुङ्गे पुल बगाएकाले वारपार गर्न समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ढोडेनीका बालबालिका यता फर्सेमा भएको विद्यालयमा पढ्न आउने गर्दथे र दुबै वस्तीका किसानहरुको वारीपारी नै जमिन तथा खेतीपाती थियो । पुल बगेपछि उनीहरु समस्यामा परेका छन् ।’’ तत्काल पुलको पुनर्निर्माण गर्न स्थानीय तहको साधनस्रोतले सम्भव नभएकाले प्रदेश तथा संघीय सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्