- सन्दर्भः ४३ औं विश्व वातावरण दिवश
दिवाकर पौडेल/विकल्प न्यूज
जेठ २३ गते ।
जुन ५ तारिख सन् २०१६ तदनुसार जेष्ठ २३ गते संसारभर विभिन्न कार्यक्रमहरु आयोजना गरेर विश्व वातावरण दिवश मनाईदैछ । यो दिवश मनाउन थालेको पनि ४३ वर्ष भैसकेछ । वातावरण जोगाउन हामी मानव जातीले जे जति प्रयास गरेपनि बर्तमान समयमा विश्वको वातावरण दिनानुदिन बिग्रदो अवस्थामा गइरहेको छ र मानव तथा जीवजन्तुका लागि थप चुनौतीपुर्ण एवं कष्टकर बन्दैछ ।
विश्व वातावरण दिवश मनाउने ऐतिहासिक पृष्ठभूमी हेर्दा हामीले आज भन्दा करिब ४४ वर्ष अगाडि संयूक्त राष्ट्रसंघको सक्रियता एवं पहलमा स्वीडेनको स्टकहोम शहरमा भएको मानवीय वातावरण विषयक सम्मेलन -Stockholm Conference On Human Environment–1972 – लाई स्मरण गर्नुपर्ने हुन्छ ।
उक्त सम्मेलनको निर्णयानुसार संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम – United Nations Environment Program–UNEP- सन् १९७४ मा स्थापना गरियो । अनि सोहि वर्षको जुन ५ तारिखको दिनलाई हरेक वर्ष जनचेतना फैलाई विश्वको बिग्रदो वातावरणलाई संरक्षण गर्ने र अरु बिग्रेर जान नदिने मुलभुत उद्देश्यका साथ वातावरण दिवस मनाउन थालिएको हो । सन् १९७४ देखि हरेक वर्षको जुन ५ मा विश्वका सम्पुर्ण देशहरुमा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूनेप) ले निर्धारण गरेको मुल नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रमहरु आयोजना गरी विश्व वातावरण दिवश मनाउने गरिन्छ ।
विश्वको बिग्रंदै गएको वातावरणका विविध पक्ष तथा समस्या एंव समाधानका लागि हामी विश्व मानव समुदायले पुरा गर्नु पर्ने जिम्मेवारी झल्किने आशयका मुल नारा यूनेपले तय गर्दछ र संयुक्त राष्ट्रसंघ मार्फत विश्वका सबै देशहरुमा सम्प्रेषण गरी सोही मुल नाराको आशय झल्किने राष्ट्रिय नारा तय गरी हरेक देशले विश्व वातावरण दिवश विभिन्न कार्यक्रमका साथ मनाउने चलन छ ।
वास्तवमा मानव तथा जीवजन्तुका लागि जीवनको आधारका रुपमा रहेका प्राकृतिक स्रोतहरु –जमिन,जंगल र जल (जसलाई “३ ज“ पनि भनिन्छ ) को तीब्र विनाश, जथाभाबी एंव अविवेकी प्रयोग, संरक्षण तथा वातावरणीय सोच विना संचालन गरिने विकास निर्माणका क्रियाकलापहरु, बढ्दो औधोगिकीकरण, युद्ध तथा लडाई, आणविक भट्टी संचालन तथा मानवीय स्वार्थका लागि प्रयोग हुने अति सुविधायूक्त साधनहरुको बढ्दो प्रयोगले विश्वको वातावरणीय अवस्था ह्रासोन्मुख हुंदै गएको छ । वातावरणमा आएको ह्रास र प्राकृतिक स्रोतहरुको जथाभाबी प्रयोगले विश्वमा बाढी,पहिरो,अतिवृष्टि,अनावृष्टि,खडेरी,सुनामी आदि दैवी प्रकोप तथा विपत्तीहरुले ठूलो जनधनको क्षति हुनुका साथै ओजन तहमा प्वाल परेको कुरा बैज्ञानिक तथ्यबाट प्रमाणित भइसकेको छ । बन जंगलको तीब्र बिनास तथा वातावरण मैत्री विनाका विकासका क्रियाकलापहरुका कारण लाखौं हेक्टर कृषियोग्य भूमि मरुभूमिमा परिणत भैरहेको छ । यसबाट विश्वको वातावरण मानव ,जीवजन्तु एंव वनस्पतिका लागि थप कष्टकर बन्न थालेको छ । पृथ्वीको तापमान विगत सय वर्षको तुलना गर्दा २ डिग्री सेल्सियसले वृदि भएको छ । यसबाट ध्रुवीय एंव हिमालय क्षेत्रको हिउं पग्लने, समुन्द्रहरुको सतह बढ्न गई सामुन्द्रिक एवं तटीय क्षेत्रका देशहरुको भू भाग डुब्दै जाने खतरा बढेको छ भने वनस्पति, जीवजन्तुहरुको बासस्थान परिवर्तन हुनुका साथै सयौं जलचर तथा थलचर जीव र बानस्पतिक प्रजातिहरु लोप भैसकेको अवस्था छ ।
यिनै वातावरणीय समस्याहरुलाई विश्व जनमानस समक्ष ल्याउने, प्रसार प्रसार गर्ने र वातावरण संरक्षणका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्ने पवित्र उद्धेश्य लिई संयुक्त राष्ट्रसंघको पहलमा थालिएको वातावरण दिवस मनाउने अभियानलाई समाजका हरेक वर्ग र समुहले सहयोग पु¥याउन जरुरी छ । यस वर्षको विश्व वातावरण दिवसको नारा – “ न्य धष्मि ायच षिभ, ँष्नजत बनबष्लकत तजभ ष्ििभनब ितचबमभ ष्ल धष्मिषिभ ” भनेर तोकिएको छ । यस बर्षकोे उक्त नारालाई भावानुवाद गर्दा मेरो विचारमा “जिवनका लागि कम्मर कसेर लागौ, गैरकानूनी रुपमा हुने वन्यजन्तुको व्यापार विरुद्ध डटेर लडौं ” हुन्छ जस्तो लाग्छ ।
यस नाराको मुल मर्म भनेको अब विश्व र यहां बस्ने करीब ७.३५ अरब जनसंख्या(संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक र जनसंख्या महाशाखाको गत जुलाई २०१५को तथ्यांक) यही गतिमा बन्यजन्तु, बनजंगल र वातावरणप्रति बेवास्ता गर्दै अगाडि बढ्ने हो भने यो पृथ्वी अर्थात् विश्व भावी पिंढीका लागि बस्न लायक बन्ने छैन । एकातर्फ, बिश्वमा बढ्दो वन बिनास, बढ्दो जनसंख्याको चाप, वातावरण र संरक्षणका सोच विना संचालन गरिने विकास निर्माणका गतिविधिहरु र भौतिक बिकास र बिलासी जीवनशैलीका कारणबाट बनजंगलको क्षेत्र खुम्चिंदै गएको छ भने वनजंगलमा बस्ने बन्यजन्तुहरुको संख्या घट्ने क्रम बढेको छ ।
त्यस्तै, हाम्रो वरपरको वातावरण तिब्रगतिमा प्रदुषित र उकुसमुकुसयुक्त बन्दै छ । वायु प्रदुषण, ध्वनि प्रदुषण, जमिन प्रदुषण, जल प्रदुषणको गति रफतारमा बढिरहेको छ । अर्कोतर्फ, विश्वको तापमान बृद्धिले गर्दा हिमालय तथा धुवीय क्षेत्रको हिउं पग्लिने, हिमनदी र हिमतालहरु फुट्ने संभावनाहरु बढ्न थालेको र यसबाट माथिल्लो हिमाली क्षेत्र कालो पहाडको रुपमा परिणत हुने, पहिरा,े भूक्षय बढ्ने, हिमाली क्षेत्रको जैविक विविधता नास हुने तथा थुप्रै वातावरणिय समस्याहरु बढ्ने र तल्लो तटीय क्षेत्र बाढी र डुवानको उच्च जोखिममा पर्ने अवस्था देखिएको छ ।
यो अवस्था निरन्तर जारी रहेमा विश्वमा प्राकृतिक विपद्का दुखद घटनाहरुबाट हजारौं लाखौंका संख्यामा मानवीय क्षति र भौतिक पूर्वाधारहरुको विनास हुने अवस्था प्रबल बनेको छ । विनासजन्य मानवीय क्रियाकलापहरुका कारण प्राकृतिक विपत्तीहरुको अधिक रुपमा बृद्धि भइरहेको छ । यस्ता प्राकृतिक विपद्हरुको न्यूनिकरण गर्ने काम तत् तत् क्षेत्रमा बसोबास गर्ने मानव समुदायको र संबद्ध निकायहरुको हो ।
प्रकृतिका अनुपम उपहारहरु जमिन, वन जंगल र जलको उपस्थिति विना मानव एंव प्राणी जगतको जीवनको कल्पना गर्न सकिंदैन । रुख विरुवाहरुले फालेको अक्सिजन प्राणवायूको रुपमा लिई हामी मानव लगायतका जीवजन्तुको जीवनको ढुकढुकी चलिरहेको छ । रुख विरुवाहरु अर्थात वन जंगलले कार्वन संचित गरेर वातावरणको तापमान बृद्धिलाई घटाउंछ, वातावरण स्वच्छ, सफा र हराभरा बनाइराख्छ ।
यसरी वन जंगल प्राणी जगतकै जीवनको आधार हो । हामीलाई थाहा छ तथापि एक्कासौ शताब्दीका हामी मानवहरु वन जंगलहरु जानी नजानी आफ्नो निहित स्वार्थका लागि विनास गर्दै आफ्नै जीवनलाई चुनौती दिइरहेका छौं, भनौं कालीदास प्रवृत्ति देखाइरहेका मात्र छैनौं, अन्य प्राणी जगतको जीवन माथि समेत हामी मानवले नै धावा वोलिरहेका छांै ।
प्राकृतिक श्रोतहरुको दोहन र अविवेकपूर्ण उपयोगलाई रोक्न अब ढिला भैसकेको छ । तसर्थ यसका लागि विश्वमा रहेको वनजंगल (जहां हजारौ र लाखौंको संख्यामा रहेका बन्यजन्तुहरु आश्रय लिई बांचिरहेका छन)् को संरक्षण, विकास र क्षेत्र विस्तार गर्दै लैजान जरुरी छ । बनजंगलको क्षेत्र बृद्धिसंगै बन्यजन्तुको बासस्थानमा सुधार आउंदछ । वनजंगलको बृद्धिले वरपरको वातावरण सफा, सुन्दर र हराभरा बन्दछ । हरियाली बढेसंगै विश्वको बढ्दो तापमान बृद्धिको क्रमलाई घटाउन सघाउ पुग्दछ । विश्व तापमान बृद्धिबाट जलवायु परिबर्तन हुने क्रम बढ्न थालेपछि ध्रुविय र हिमालय क्षेत्रहरुको हिउं पग्लेर ती क्षेत्रहरु कुरुप काला पहाड बन्नबाट जोगाउन र वातावरण स्वच्छ, सफा र हराभरा बनाइराख्न विश्वको जुनसुकै देशको माटोमा बसेपनि संरक्षणप्रति हामी सबैको अथक मिहेनत र प्रयास जरुरी छ । हामी सबैलाई थाहै छ, जमिन , जल र जंगल प्र्रकृति प्रदत्त उपहारहरु हुन् र यिनलाई जोगाइराख्ने परम कर्तब्य पनि हामी मानव जातिकै हो ।
विश्व वातावरण दिवसको यस परिप्रेक्ष्यमा यी श्रोतहरुको संरक्षण र व्यवस्थापन गर्न हामी सम्पूर्ण नेपालीको परम कर्तव्य हो भन्ने सन्देश दिने गरी यस बर्षको मुलनारालाई नेपालको सन्दर्भमा “ हाम्रो बन्यजन्तु, हाम्रो वातावरण र बन ।, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन ।।” भन्ने तय गरिएको छ । वास्तवमा बिश्वको सानो मुलुक नेपाल जैविक विविधताले अत्यन्त धनि छ । हालसालै नेपाल सरकारले सार्बजनिक गरेको तथ्यांक अनुसार नेपालको वनजंगलले ढाकेको क्षेत्र ६६.१ लाख हेक्टर ( ४४.७४ प्रतिशत) रहेको छ जहां विभिन्न दुर्लभ बन्यजन्तु, चराचुरु¨ी, सरिसृप र माछाहरु तथा बहुमूल्य बनस्पति र जडिबुटीहरु पाइन्छन् ।
विश्वको करीब ०.१ प्रतिशत क्षेत्रफल ओगटेको यस सानो भूखण्डले ३.२ प्रतिशत बनस्पति र १.१ प्रतिशत बन्यजन्तुलाई आश्रय दिएको छ । यहां २८४ प्रकारका फूल फुल्ने वनस्पति, १६० प्रकारका स्तनधारी जनावर, ९०० प्रकारका चराहरु पाईन्छन् । यि महŒवपूर्ण र लोपोन्मुख बन्यजन्तु तथा बनस्पतिको दिगो संरक्षण र व्यवस्थापनका लागि देशको विभिन्न भौगोलिक क्षेत्र र पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने गरी राष्ट्रिय निकुञ्ज, आरक्षहरु , संरक्षण क्षेत्र र मध्यवर्ति क्षेत्रहरु स्थापना गरिएको छ जस्ले देशको करीब २३.३१ प्रतिशत क्षेत्रफल ओगटेको छ । त्यसै गरी १९ हजार भन्दा बढी सामुदायिक बनहरु, हजारौ राष्ट्रिय वन, साझेदारी वन तथा कबुलियती वन, धार्मिक बन र नीजि बनहरुको संरक्षण र व्यवस्थापनबाट बन्यजन्तु, बनस्पति र जलाधार क्षेत्रको संरक्षण भएको छ । त्यति मात्र होइन वनजंगलको संरक्षणबाट कृषिमा निर्भर नेपालीको कृषि प्रणाली तथा व्यवसायिक पशुपालनमा दिगो रुपमा टेवा दिइरहेको छ ।
वातावरणलाई स्वच्छ, सफा र हराभरा बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । यस प्रकार संरक्षित हजारौ जलाधार क्षेत्रहरुमा अवस्थित गाउंबस्ती, खेतीयोग्य जमिनलाई बाढी, पहिरोबाट जोगाउन सहयोग गरेको छ भने तिनै जलाधार क्षेत्रका बनजंगलबाट प्रस्फुटन हुने पानीका मुलहरु करोडौं जनताहरुका लागि शुद्ध पिउनेपानीका अजश्र श्रोतहरु बनेका छन् । यसप्रकार जमिन, जल र जंगलको महत्वपूर्ण भूमिकालाई नेपालको सन्दर्भमा भन्ने हो भने “माटो, बनस्पति र पानी, यसैमा अडिएको छ हाम्रो जिन्दगानी” भन्ने यस पङितकारको अनुभवजन्य भोगाइ हो अनि हाम्रो सांचो यर्थाथ पनि । यहि सांचो यर्थाथलाई व्यवहारमा उतारी सतत् रुपमा जोगाइराख्न हामी सबै नेपाली आ आफ्नो क्षेत्रबाट लाग्न प्रेरणा मिलोस् भन्ने अभिप्रायले माथि उल्लेख भएअनुसार यस बर्षको बिश्व वातावरण दिवशको नारा नेपालको सन्दर्भमा तय गरिएको हो जस्तो लाग्छ ।
बन्यजन्तुको चोरी शिकारीको अन्त्य गर्न, बढ्दो बातावरणीय विनास न्यून गर्न र बनजंगलको जथाभावी विनास गर्ने कार्यलाई घटाउन संरक्षणको क्षेत्रमा लाग्ने सरकारी तथा गैरसरकारी निकायहरुको जोड र प्रयास मात्र पर्याप्त छैन ।
यसका लागि बिकासका साझेदार निकायहरुले पनि माटो, वनजंगल, बन्यजन्तु र बातावरणको महत्वलाई नजरअन्दाज गर्ने सांगुरो सोच र व्यवहार तुरुन्त सच्याइनु पर्दछ र उल्लेखित श्रोतहरुको संरक्षणमा खलल नपुग्ने गरी संरक्षण एवं वातावरणमैत्री भौतिक विकासमा जोड दिन सके प्राकृतिक श्रोतहरुको संरक्षणको साथसाथै भौतिक विकासका पूर्वाधारहरुको दिगोपनामा समेत बढोत्तरी हुनेछ ।
त्यसैले, विश्व वातावरण दिवशको यस पवित्र एंव पुण्य दिनमा वातावरण दिवशको नाराले दिएको सन्देशलाई आत्मसात् गरी तपाई हामी सबैले मनन र प्रण गरौं कि आ–आफ्नो क्षेत्रबाट वातावरणको संरक्षण अर्थात् वनजंगल एंव रुख विरुवाहरु, बन्यजन्तुहरु, माटो र पानीको समुचित संरक्षण र व्यवस्थापन गरी आफ्नो गाउं,टोल र शहर बजारको वातावरण सफा, सुन्दर, सुरम्य र हरियाली बनाऔें । संरक्षण कार्यमा सबैले गच्छे अनुसार तन, मन र धन लगाऔं । यसबाट बिग्रंदो वातावरण जोगाउन मद्दत पुग्छ । गाउं,टोल,शहर,बजार र सिङ्गो देशको वातावरण संरक्षण भएपछि विश्वको वातावरणको संरक्षणमा समेत मदत पुग्न जान्छ ।
िवग्रिरहेको वातावरण सपार्न एक दुई जनाको प्रयास सफल र प्रभावकारी नहुने भएको हुंदा सबैको एकमना एकता र अथक परिश्रम आवश्यक छ । विद्धान डा. विकासानन्दको भनाइलाई सापटी मागेर भन्ने हो भने पनि “ संसार बदल्नु छ भने असल कर्मको प्रयास आंफैबाट शुरु गर्नु पर्दछ ” भन्ने सारगर्भित भनाइलाई हरेक नागरिकले मनन् गर्न जरुरी छ ।
असल कामको थालनी आ आफ्नो क्षेत्रबाट तपाई हामी सबैले गर्न सकेमा अवश्य नै वातावरण्ीाय समस्याहरु कम हुनेछन् । वातावरणीय तापमान कम गर्ने कार्यहरु जस्तैः वन जंगल एंव रुख विरुवाहरुको संरक्षण गर्ने, बढाउने र विवेकपूर्ण उपयोग गर्ने गराउने, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने, संरक्षण एवं वातावरणमैत्री विकासमा जोड दिने, वातावरणीय प्रदुषण र कार्वन फुटप्रिन्ट घटाउने नै हो ।
यो नै विश्व वातावरण दिवशको सहि सन्देस हो । यो सन्देस हरेकले मनन् गरेर व्यवहारमा उतार्न सकेमा मात्र विश्व वातावरण दिवसको सार्थकता झल्किने छ र हामी मानव लगायत प्राणी जगतको जीवन सुरक्षित हुनेछ । यस सन्दर्भमा तपाईं हामी हरेक नागरिकको सांचो कर्तव्य भनेको नै वातावरणीय संरक्षण कार्यमा निरन्तर लाग्ने र प्रकृतीले दिएको अनुपम उपहार यस सुन्दर धरतीलाई भावी पुस्ताका लागि जस्ताको तस्तै सुम्पिनु हो । यसमा नै तपाई हामी सबैको हित निहित छ । लेखक ः जिल्ला भू संरक्षण कार्यालय, म्याग्दीका जिल्ला भू संरक्षण अधिकृत हुन
2 thoughts on “विश्व वातावरण दिवश २०७३ कोे सन्देश र हाम्रो कर्तव्य”