चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
म्याग्दी,जुेठ २० गते ।
वेनी झर्नु थियो । जीपले फुर्केसल्लाको चौतारीमा यात्रुहरु कुरिरहेको थियो । घरबाट जीपस्टपसम्म पुग्न करीब दश मिनेट ओरालो झर्नुको विकल्प थिएन । मलामी डाक्न शंख फुकेझै जीपको हर्न बजिरहेको एकोहोरा ध्वनीले गोडालाई अत्याइरहेको थियो ।
भन्न त जीपवालालाई अघिल्लै दिनदेखि एउटा सिट सुरक्षित राखि दिन अनुरोध गरिएको थियो । तैपनि समयमा पुग्नु बेस हुन्थ्यो । बसिसकेको मान्छेले स्वेच्छाले सिट खाली गरिदिए त ठिकै हुन्थ्यो । त्यसो भएन भने ? अथवा महिला, असक्त वा बुढाबुढी बसिसकेका रहेछन भने “मेरो सुरक्षित सिट हो” भनेर उठाउने अमानवीय व्यवहार गर्ने कुरै हुदैनथ्यो । त्यसको अर्थ एकाध घण्टाको कच्ची बाटोको जीवनभर विर्सन नसिकने कष्टकर यात्राका लागि तयार हुनुपथ्र्यो ।
त्यसैले हुनुपर्छ धङधङाउँदै, लडखडाउँदै र बत्ताउँदै भए पनि गोडा स्वचालितरुपमै अपेक्षाकृत चाँडो चल्ने कोशिस गरिरहेका थिए । मन पनि हतारिकै थियो, गोडाहरु पनि हतारोमै थिए तर आँखा भने अर्को एउटा दृश्यतिर निरन्तर तानिन खोज्दै थिए । “आमा बाबुको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गामुढा माथि” भनेजस्तो मन, गोडा र आँखाको तालमेल मिलिरहेको थिएन । मन र गोडा जीपतिर लक्षित थिए, आँखा भने खोरगैरोको दलित बस्तीमा भएको मानव जमघटतिर आकर्षित थिए ।
“मानिसहरु निकै जुम्टिएका छन् ।
खोरगैरामा आज के रहेछ ?”–मेरो मुखबाट अनायासै प्रश्न चुहियो । “आज शनिबार । प्रार्थनाका लागि गिर्जाघरमा जम्मा भएका होला नी । हरेक शनिवार सबै जम्मा हुन्छन”। –जीपपार्कसम्म हामीलाई पु¥याउन साथ आएकी बुहारी अनुसाले अथ्र्याइन् । घर त त्यस्तै २०÷२५ वटा हुँदा हुनन् । मान्छेहरुको जमघट भने अपेक्षाकृत ठूलै थियो । त्यसको अर्थ सबै परिवारका सबै सदस्यहरुको गिर्जाघरमा गनीटिपी उपस्थिति गराइएको हुनुपर्छ । कसैको घरको एउटा सानो कोठालाई अस्थायी स्तुतिकक्षको रुप दिइएको रहेछ ।
मानिसहरुको उपस्थितिले खोरगैराको सिङ्गो गाउँ नै सगोलमा क्रिश्चियन भएको कुराको मौन वकपत्र गरेजस्तो लाग्थ्यो । धर्मबाट राज्य अलग रहने कुरा नयाँ संविधानमा परेको छ । राज्यको कुनै धर्म हुदैन भन्ने कुरालाई सैद्धान्तिक रुपमा पहिलोचोटि स्वीकार गरिएको छ । अर्थात नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरिएको छ । व्यक्तिको धार्मिक स्वतन्त्रतालाई नयाँ संविधानले प्र्रत्याभूत गरेको छ । स्वेच्छाको धर्मान्तरणलाई कानुनले मान्यता दिएको छ । खोरगैरेहरु नेपालका सक्कली (बोनाफाइड) नागरिक हुन् ।
संविधानले दिएको स्वतन्त्रताको उपभोग गर्ने अधिकार उनीहरुलाई छ । स्वाभाविकै हो, उनीहरुले नागरिक स्वतन्त्रताको उपभोग गरेछन् । तर सिंगो गाउँले एकैचोटि नयाँ धर्म किन, के कारणले र कहिलेदेखि अपनाएको हो भन्ने जिज्ञासाको उत्तर दिने सामथ्र्य मेरी बुहारीसँग थिएन । तत्काल कसैलाई भेटेर जनकारी लिने फुर्सद आफूसँग पनि थिएन । मनको जिज्ञासा मनभित्रै पोको पारेर हिँडिएथ्यो, त्यस दिन !
हिजो अस्तितिरको कुरा हो । पूर्व झापातिर कतै पुगेका मुक्तिनाथका स्वघोषित पीठाधीश स्वामी श्री कमलनयनाचार्यजीले हिन्दूधर्म संरक्षणका लागि राजसंस्थाको पुनस्थापना आवश्यक रहेको विचार सार्वजनिक गरेका थिए । उनले भनेजस्तो हिन्दूधर्म संरक्षणका लागि कसैको बलियो संरक्षकत्व आवश्यकता छ जस्तो लाग्दैन ।
हिन्दूधर्ममा बडे बडे ग्रन्थहरु लेखिएका छन् । वेद, उपनिषद, पुराण, महाभारत, रामायण, श्रुतिस्मृतिहरुमा धर्म एकदमसँग सुरक्षित छ । ठूलाठूला मन्दिरहरुमा पनि धर्म अवश्य सुरक्षित होला । गैरहिन्दू परिवारमा जन्मेको मान्छेलाई हिन्दू हुने अनुमति हिन्दू धर्मले दिदैन । सुद्धताको त्यो सास्त्रीय मान्यताले हिन्दू परिवारमा जन्मेपछि हिन्दू हुन पाइहालिन्छ । नभए अवसर छैन ।
धर्म, संस्कार, रीतिरिवाज र परम्पराहरु परित्याग गरे पनि केही फरक पर्दैन । अर्थात हिन्दू परिवारहरुले सन्तान जन्माउन नछोड्दासम्म हिन्दू धर्म मासिन्छ कि भन्ने चिन्ता योगीजीहरुले लिनुपर्ने आवश्यता छैन । हिन्दूहरुको संख्या निरन्तर बढीरहेकै छ । हिन्दूधर्म जोगाउने एउटा मात्र बाटो त्यही हो, जो सनातन चलिरहेकै छ । राजसंस्थाको अभावले यो धर्तीमा हिन्दु जन्मन छोडेका छैनन् ।
स्वामीजीलाई हिन्दूधर्म संरक्षणका लागि राजसंस्थाको अभाव कसरी खट्कन गएछ कुन्नी ?
स्वामीजी अलि उदार भएका हुन कि आग्रही ? त्यसको भेउ भने पाउन सकिएन । सायद आम जनतामा पुरानो राजपरिवारका बचेका सदस्यहरुप्रति सकारात्मक भावना छैन भन्ने बुझेरै होला “पुरानै राजवंश फर्काउनुपर्छ भन्ने पक्षमा आफू नरहेको तर धर्म संरक्षणका लागि कुनै गरिब ठकुरी वंशको नयाँ मानिसलाई राजाको रुपमा स्थापना गर्नुपर्ने” जिकिर गरेछन् । उनको दिव्य ज्ञान देखेर दया पनि लाग्यो ।
कुनचाही धर्मग्रन्थमा राजा हुनका लागि “ठकुरी” वंशको हुनुपर्ने कुरा लेखिएको रहेछ कुन्नी ? आफूलाई धर्मधुरन्धर विद्वान भनेर दावी गर्ने मानिसले अवश्य कहीँ न कहीँ त्यस्तो उटपट्याङ कुरा पढेको हुनुपर्छ । वेद, पुराण, ब्राह्मण ग्रन्थ, उपनिषद, रामायण, महाभारत, श्रुतिस्मृतिका ठेलीहरुमा कतै पनि त्यस्तो लेखिएको छैन ।
कि स्वामीजीले पढेका ग्रन्थहरु तीभन्दा फरक छन् र ? कहिल्यै भेट हुने संयोग जु¥यो भने सोध्न मन लागेको छ । जसरी ती ग्रन्थहरुमध्ये एउटै पुस्तकमा एक ठाउँमा मात्र पनि “हिन्दू” शब्द परेको छैन, त्यसैगरी राजा बनाउनका लागि ठकुरी वंशको हुनुपर्ने कुरा पनि लेखिएको छैन । ठकुरी भनेको खस वंशको एउटा जात हो ।
यदि स्वामीजीमा आफू पनि खसवंशको मानिस हुँ भन्ने कुराको जानकारी भैदिएका भए ठकुरीवंशको बारेमा पनि अलिकता ज्ञान अवश्य हुने थियो । हिन्दूधर्मका आदिश्रोत मानिने वेदादि ग्रन्थहरु आर्यवंशी विद्वानहरुबाट रचित लिखित हुन् । आर्यवंशमा ठकुुरी भन्ने अलग जातको अस्तित्व कहीँ कतै भेटिदैन ।
अनि कुन धार्मिक ग्रन्थ र कुन धार्मिक मान्यतालाई आधार मानेर ठकुरीलाई राजा बनाउनुपर्ने कुरा गरेका हुन कुन्नी स्वामीजीले खोई ? धार्मिक ग्रन्थहरुमा पनि उल्लेख नभएको र आर्य परम्परामा पनि अभ्यासमा नरहेको कुराको पक्षमा पैरवी गर्नु पाखण्ड प्रदर्शन होइन भन्न कसरी सकिन्छ र ?
हिन्दूधर्मका कथित पक्षपातीहरुले राज्य धर्मनिरपेक्ष भैदिनाले धर्मान्तरणलाई सहयोग पुग्यो, क्रिश्चियानीटीले आर्थिक प्रलोभनमा पारेर मानिसहरुको धर्म परिवर्तन गरिदिन थाल्यो भनेर कोकोहोला मच्चाउन थालेका छ्न् । होला त्यो पनि धर्मपरिवर्तनको कारण बनेको होला । तर हिन्दूधर्मबाट मानिसहरु बिच्कनुपर्ने अन्य अनेकौ कारणहरु छन् । धर्म मानवजीवनको उन्नयनका लागि हो ।जब धर्म र धार्मिक परम्पराहरुले जीवनलाई थप कष्कर बनाउँछन, तव मानिसहरुका लागि धर्मको उपादेयता नै समाप्त हुन्छ ।
हिन्दूधर्मले विकास गरेको छुवाछुतको आदि संस्कार एउटालाई उदाहरणका लागि लिन सकिन्छ । समयले दलित भनिएका समुदायहरुमा पनि चेतना जगाइदिएको छ । त्यही चेतनाले अछुतको नाममा आफूहरु माथि सदियौं देखि समाजले अन्याय गरेको कुरा बुझ्न सक्ने बनाइदिएको छ ।
एउटै जातिसमुदायका मानिसहरुबीच रक्त सम्बन्ध गाँस्ने कुरा त परेै रहोस, आफ्नो हातको पानी समेत नचल्ने जस्तो हददर्जाको अपहेलना र भेदभाव धर्मकै नाममा हुँदै आएको छ । जातीय भेदभाव र छुवाछुत कानुनी रुपमा दण्डनीय बनीसक्दा पनि व्यवहारमा समाजबाट उन्मूलन भएको छैन । यस्तै जुम्सो गतिको प्रगतिले त्यो भेदभाव मेटिन अझै सदियौं सदि लाग्नेछ ।
पुर्खाले अपमान र भेदभाव भोगे, वर्तमानमा पनि त्यो स्थिति यथावत छ र भविष्यमा सन्ततिले पनि त्यही भेदभाव र अन्याय सहनुपर्ने हो भने के कारणले हिन्दू धर्म मानिरहने ? हिन्दूधर्मले दलित समुदायलाई अन्याय, पीडा, अपमान, भेदभाव बाहेक अरु दिएको के छ ? मानिस मानिसका बीच विभेद गर्ने गराउने पनि कुनै धर्म हुन्छ ? त्यो त पाप हो । मानिसहरुका बीच भेदभाव राख्ने पनि देवता हुन्छ कही ? ती त राक्षस हुन्, शैतान हुन् ।
साँचो कुरा गर्ने हो भने हिन्दूधर्म संस्कार दलित समुदायका निमित्त पापाचार हो । दलित समुदायलाई हिन्दूधर्मले कहिल्यै आफ्नो भनेन । धर्मले आफ्रनो नभनेपछि समुदायको धर्म हिन्दू कसरी हुनसक्छ र ? खोरगैरे बन्धुहरुले अधर्म र शैतानको संगत छोडेर राम्रो गरेछन् । धेरै अगाडि नै आफूलाई अपमान गर्ने धर्मसंस्कृतिलाई तिरस्कार गर्नुपथ्र्यो । ढिलै भए पनि चेत पलाएछ । राम्रो भो ।
दुई दिन अघि मात्र मेरा साहिलादाजुको बरखी थियो । निम्तालु इष्टमित्र अफन्तहरुको बाक्लो जमघट हुने वातावरणले वाल्यकालको सम्झना गरायो । गाउँघरको स्थानीय परम्पराभन्दा केही भिन्न संस्कार हामीलाई बुवाआमाले दिनु भएको थियो । हाम्रो घरमा दलित समुदायको बाक्लै आवगमन हुनेगथ्र्यो ।
गाउँको परम्परा र चलन अनुसार उनीहरुलाई आगन वा पटाङ्गिनीमा बस्नका लागि अलग गुन्द्री राडी विछयाइदिने चलन थियो । जुनसुकै जातजातिको होस् आफूभन्दा उमेरमा जेठो छ भने कसैलाई पनि “तँ” को सम्बोधन गर्न पाइदैनथ्यो । साइनो लगाएरै बोल्नुपथ्र्यो ।
कुनै पर्व, उत्सव वा धार्मिक आयोजना भयो भने दलतिहरुलाई पनि निम्तो जान्थ्यो । यसपटक भने निम्तालुहरुमा एउटा दलितको पनि उपस्थिति थिएन ।
निम्तो नगएको त नहुनुपर्ने हो ! सायद समाजबाट जातीय भेदभाव नहटिनसकेको हुनाले समूहबाट बेग्लिएर अलगै बस्नुपर्ने, ब्राह्मणहरुको हातबाट टिका प्रसाद लिन पनि नपाइने, खानपीन पनि अलगै बसेर गर्नुपर्ने कुराले इष्टमत्रिहरुलाई हिनताबोध गरायो होला, अपमानित हुनुपर्ने अनुभूति गरायो होला ।
त्यसैले निम्तो पाएर पनि आउने रुचि जागेन होला । यदि अनुपस्थितिको कारण त्यही थियो भने राम्रो भो । आफैले बोलाएर एउटो सिंगो समुदायलाई अपमानबोध गराउने पाप बेसाउन त परेन कमसेकम !