बेनीमा आगामी चैत्र २७ गतेदेखि पाँचौ उत्साही कप संचालन हुने

विकल्प न्यूज/बेनी
फागुन २३ गते ।

नव उत्साही समुह जलजला ३ पर्वत बेनीको आयोजनामा आगामी चैत्र २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व। लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । श्रेष्ठको गत साउन ६ गते निधन भएको थियो ।

वुधबार क्लवको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सुरेन्द्र श्रेष्ठले प्रतियोगिताको तयारी थालिएको जानकारी गराउनुभयो । प्रतियोगिताका लागि आर्थिक संकलन, प्रचारप्रसार लगायतका कार्य सुरु गरिएको छ, उहाँले भन्नुभयो ।
२०८१ वैशाख १ गते सम्म संचालनहुने प्रतियोगिताको प्रथम पुरस्कार ७० हजार १ सय ११ र द्वित्तिय पुरस्कार ३५ हजार १ सय ११ ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । अनुशासित टिमलाई रु ७ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई रु २ हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका सचिव राजकुमार परियारले जानकारी दिनुभयो ।

प्रतियोगितामा साविक धवलागिरी अंचल भित्रका क्लव तथा खेलाडीहरुले भाग लिन पाउनेछन । एक समुहमा ३ जना मात्र वाहिरका खेलाडी समावेश गर्न पाईने नियम बनाईएको सचिव परियारले बताउनुभयो ।

प्रतियोगिता संचालनका लागि ४ लाख वढि खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ३ जना व्यक्तिहरुलाई सम्मान समेत गरिने भएको छ ।

क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठ र उहाँका दाजु मनोज श्रेष्ठले अष्ट्रेलियाबाट प्रथम प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य गर्नुभएको छ । त्यस्तै क्लवका पूर्व खेलाडी सन्देश÷स्वदेश श्रेष्ठ हाल अष्ट्रेलिया तथा पूर्व खेलाडी माधव सुवेदी हाल अमेरिकाबाट प्रतियोगिताको द्वित्तिय पुरस्कार सौजन्य गर्नुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष दिलिप कुमार वरुवालले प्रतियोगितालाई निष्पक्ष रुपमा संचालन गर्नका लागि प्रत्यक्ष खेलाडीहरुको उपस्थितिमा गोलापर्थाद्वारा टाईसिट गराउने व्यवस्था गरिएको बताउनुभयो ।

२०६१ सालमा स्थापना भएको क्लवले वर्षेनी खेलकुद, साहित्यीक, सांस्कृतिक तथा विविध सामाजिक गतिविधिहरु संचालन गर्दै आएको अध्यक्ष वरुवालले बताउनुभयो । कार्यक्रममा समाजसेवी राम बहादुर श्रेष्ठ तथा समुहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

क्लवले आयोजना गर्ने उत्साही कपबाट बचेको रकमले ३ जना खेलाडीहरुलाई फुटबल प्रशिक्षणका लागि पोखरा पठाउदै आएको छ । यस वर्ष पनि राम्रो सम्भावना भएका खेलाडीहरु छनौट गरि थप खेल क्षमता विकासका लागि प्रशिक्षणका लागि पठाईने क्लव सचिव परियारले बताउनुभयो । कार्यक्रम समुहका अध्यक्ष श्रेष्ठको अध्यक्षता र सचिव परियारको संचालनमा सम्पन्न भएको थियो ।