बेनीको खुल्ला मञ्च संरक्षण सुरु

विकल्प न्यूज/बेनी
जेठ ३ गते ।
म्याग्दी सदरमुकाम बेनीको बहुउद्देश्यीय खेलमैदानको संरक्षण योजना सुरु भएको छ ।
राष्ट्रिय खेलकुद विकास परिषद्को सहयोगमा जिल्ला खेलकुद विकास समितिले खेलमैदानको संरक्षण सुरु गरेको हो । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको खेलमैदानलाई पहिलो चरणमा घेराबार गर्न थालीएको छ ।Khulla Manch

राष्ट्रिय खेलकुद विकास परिषद्को पाँच लाख रुपैयाँ आर्थिक सहयोगमा म्याग्दी खोलातर्फ मञ्चको डिलमा करिब ८० मिटर तारबार गर्न लागिएको उपभोक्ता समितिका सचिव दिलगोपाल सिकेले बताए । उनका अनुसार बेनी नगरपालीकाको थप दुई लाख रुपैयाँ अनुदानमा कालीगण्डकीतर्फको डिलमा तारबार गर्ने तयारी भएको छ ।

प्यारापिटमाथि सात फिट अग्लो तारबार गर्न लागिएको हो । तारबार भएपछि खुल्ला मञ्चमा फुटबल र भलिबल खेल सञ्चालन गर्दा बल खोलामा गएर क्षत्ती र दुख हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

यसैगरी प्याराफिटमा बसेर दर्शकले सुरक्षित तरिकाले खेल हेर्ने अवसर पनि पाउनेछन् । बेनीको खुल्ला मञ्चसंगै यस वर्ष घार गाविस २ चित्रे स्थित हिमालयन प्राबी परिसरको खेलमैदानको मर्मत तथा संरक्षणका लागि पनि बजेट प्राप्त भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विकले बताए ।