विकासे हल्ला, फगत हल्ला मात्रै हो कि फट्याई पनि ?!!

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज ।

chandraparkash baniya आधा दर्जन दिदी–भाइहरुमध्ये अब एक तीहाई अर्थात दुईजना मात्रै बाँकी रहिएछ ! पछिल्लो पालो साहिँला दाजुले महाप्रस्थानको बाटो समातेको पनि वर्षदिन कटिसकेछ । समय पनि कति चाँडो चाँडो बित्छ कुन्नी ? साँच्चै दिनहरु किन त्यतिसारो हतारिएर कुद्छन् होला ?! वास्तवमा दिनहरुको लागि कुनै गन्तव्य तोकिएको त हुदैन ।

पुग्र्नैपने समयको सिमाबन्धन पनि हुदैन । तैपनि नित्य निरन्तर कुदिरहन्छन ! हुनत सधैं झै विगतवर्षका साढे तीनसय दिनहरु पनि आफ्नै गतिमा हिँडे होलान् । हतारिनुपर्ने कारण केही नभएपछि आफ्नो नियमित र स्वाभाविक गतिबाट यताउता अवश्य गरेनन् होला ।

गएको वर्ष मुलुकका लागि सर्वाधिक कष्टकर रह्यो । दुःखकष्टका दिनहरु अपेक्षाकृत लामा लाग्छन, पट्यारलाग्दा हुन्छन् भनिन्छ । तर मलाई भने त्यस्तो पटक्कै लागेन । सिङ्गो वर्ष सुतेरै बित्यो ।

उल्लेख गर्न लायक काम केही गरिएन भने कसरी जागा रहियो भन्न मिल्छ र ? अल्छी मानिसको धर्तीअवतरण पृथ्वीका लागि अनावश्यक बोझ हो भन्ने मान्यता हाम्रा धर्मशास्त्रहरुले राख्छन् । पूरापूर “तीनबीसे पाँच” वर्ष व्यर्थमै बिताइयो भने पछिल्लो एक वर्षको मात्र कुरा गर्नुको के अर्थ रहला र ? सग्लो जीन्दगी नै विनाप्रयोजन बितेपछि जाबो एकवर्ष वेकार खेर गयो भनेर किन चिन्ता सुर्ता लिनु ? केको लागि मन सानो बनाउनु ?

वैदिक आर्यसमाजले विकास गरेको धर्मसंस्कार खसहरुले सर्लक्क अवलम्वन गरेका हुन भनेर मानिन्छ । नयाँ सिर्जना, अनुसन्धान र विकास गर्नुभन्दा अर्काको नक्कल गर्न सजिलो हुन्छ । खसहरुले अपेक्षाकृत सजिलो बाटो रोजेर ठिक÷वेठिक के गरे भन्ने कुराको मूल्याङ्कन भविष्यमा हुँदै गर्ला ।

यतिबेलाको प्रसङ्ग त्यही नक्कल गरिएको समाजिक संस्कारहरु मध्येकै एउटा “बरखी” को हो । एउटा वास्तविक यथार्थ के रहेको छ भने वैदिक समाजले विकास गरेको र खसहरुले दुरुस्त नक्कल गर्नेगरेका समाजिक धार्मिक संस्कार र परम्पराहरु पुरेत ब्राह्मणहरुको जीविकाको सुनिश्चितासँग जोडिएका छन् ।

समय सन्दर्भले तिनीहरु अनावश्यक र अप्रसाङ्गिक ठहरिएछन् भने मासिएलान् वा परिमार्जित हुँदै गर्लान् । हरेक कुराको अग्निपरीक्षा समयले लिएरै छोड्छ । त्यो परीक्षामा पास हुने पार लाग्छन् । दीर्घ जीवन प्राप्त गर्छन् । असफल हुनेहरु मासिन्छन् । परित्यक्त हुन्छन् ।
पछिल्लो ३÷४ दशकयता वर्ष दिनको मरेतिथिमा “एकाह” पाठ गराइदिने चलन अनिवार्यजस्तै बनेको छ । एकाह भनेको एकै दिनमा श्रीमदभागवतको पाठ सुनाउनु हो । भागवत कथा सुनेपछि अगति परेको अर्थात मुक्तहुन नसकेको आत्माले गति र मुक्ति प्राप्त गर्दछ भन्ने पाठ समाजलाई घोकाइएको छ ।

आपस्तम्ब धर्मसूत्र देखि स्कन्दपुराण, विष्णुपुराण, कुर्मपुराण, गरुढपुराण लगायतका ग्रन्थहरुमा कतै उल्लेख नभएको एकाहको परम्परा कसरी सुरु भयो भन्ने कुरा सोचनीय विषय होइन भन्न मिल्दैन । बरखी विनापुराण पनि सम्पन्न हुन्छ । पुराण सुनाउनुपर्छ भन्ने केही छैन । बरखीको कथा निकै पुरानो हो । भारतीय वैदिक आर्यहरुको डीएनए परिक्षणले उनीहरुलाई इरानी (फारसी) हरुको वंशज ठह¥याइदिएको छ । मानिसहरुको आर्यन शाखा रसियाको भोल्गा नदीको किनारमा बिकसित भएको हो भनेर पनि अनुसन्धाताहरुले भन्छन् ।

भोल्गा छेउछाउका रसियनहरुले आफूलाई आर्यवंशी मान्छन् । उनीहरुको समाजमा आजपर्यन्त प्रचलित अन्तिमसंस्कार सम्बन्धी केही विधि विधानहरु भारतीयहरुसँग मिल्छन् । मान्छे मरेपछि तेह्रदिनसम्म शोक मनाइन्छ । पैतालिस दिनमा एक पटक र वर्षदिनमा एकपटक मृतात्माको स्मरणमा विशेष कार्यक्रम आयोजना गरिन्छ । हरेकवर्ष मरेतिथिमा मृतात्माको नाममा मैनबत्ति बालिन्छ ।
साहिँला दाईको वर्षदिनको पुण्यतिथिमा आयोजना हुने श्राद्ध मेरा लागि “पशुपतिको जात्रा, सिद्राको व्यापार” भनेजस्तो दोहोरो फाइदाको विषय थियो । पितृकार्यमा सहभागि हुन पनि पाइने, आफ्नो जन्मस्थानमा पाइला राख्न पनि पाइने । इष्टमित्र आफन्तहरुसँग एकै थलोमा भेटघाटको अवसर पनि मिल्ने ।

दौंतरीहरुसँग पुनर्मिलनको चाँजो पनि मिल्ने । मनमा उत्साह त थियो तर मेरा लागि पुलासम्मको यात्रा भने सहज थिएन । पुलाजाने कुरा चल्यो कि वेनीबाट उकालो कसरी चढ्ने ? भन्ने चिन्ताले स्वाभाविक रुपमा सताउन थालिहाल्छ । मैले वेनीको डेराडण्डा उठाएकै वर्ष अर्थात २०६० सालको जेठ महिनामा अथुङ्गे–पुलाचौर कृषी सडकको ट्रयाक खोलिएको हो । सडक निर्माण सुरु भएको दिव्य बाह्र वर्ष बितिसकेछन् ।

“बाह्र वर्षमा खोला पनि फर्कन्छ” भन्छन् । सडकको अवस्था भने जस्ताको तस्तै छ । जस्ताको तस्तै पनि के भन्नु ? अझ विग्रेभत्केको हालत छ । सडक निर्माण सुरु भएको बाह्रवर्ष बितिसक्दा तीन किलोमिटर उताको गाउँमा पुग्न पैदल हिँडनुपरेपछि खोला फर्कोस् नफर्कोस्, समय भने पछि फर्केकै होइन कसरी भन्नु ?
एकसरो डोजर कुदाएको कच्ची बाटो, चाहिएको बेलामा सवारी साधन पाइदैन । पोखरादेखि तीन घण्टाको यात्राका लागि सिङ्गै दुई दिन छुट्याउनुपर्छ । धेरैथोरै मर्मतखर्च सालबसाली छुट्टिने गरेको भए पनि बाह््र वर्षमा तीन किलोमिटर सडकको सामान्य सुधारको काम पनि हुन सकेको छैन ।

सालिन्दै छुट्टिने खर्च सडक सुधारका लागि होइन, डोजर पोस्नका लागि मात्रै भएको छ । हरेक वर्ष डोजरले अर्थुङ्ग देउरालीदेख कुहुँसम्म एकसरो यात्रा गर्छ, बस् ।

पुलामीहरुको बुद्धिको बिर्को कहिले खुल्ने हो कुन्नी ? इन्टेकमा नजोडेसम्म पोलिथिन पाइपमा पानी भरिदैन भन्ने सामान्यज्ञान पनि समाजले नराखिदिएपछि कस्को के लाग्यो ? वेनी–पाखापानी र वेनी–दर्वाङ्ग सडक निर्माण प्रक्रियाको अध्ययन अवलोकन पुलामीहरुलाई गराउनसके स्थितिमा सुधार आउँथ्यो कि ? दर्वाङ्ग पुग्ने बाटो वेनीबाट पिच गर्न थालिएको छ ।

गतवर्ष भण्डारीबन्धुहरुको सौजन्यको परिणामस्वरुप अवरुद्ध भएको वेनी–पाखापानी सडकखण्डको स्तरोन्नति पनि यो वर्ष वेनीबाटै सुरु भएको छ । विगत १२ वर्षमा प्रतिवर्ष आधा किलोमिटर सडकको स्तरोन्नति गर्ने गरेको भए कमसेकम छ किलोमिटर अर्थात पुलाचौरसम्म बाह्रै महिना गाडी चल्ने सडक तयार हुन्थ्यो । स्तरोन्नतिका लागि खर्च पुग्दैनथ्यो भने पनि बाटोको ग्रेडिङ्ग मिलाउन सकिन्थ्यो, फराकिलो बनाउन सकिन्थ्यो ।

खाल्डाखुल्डी सम्याउन सकिन्थ्या । वेनीदेखि कुहुँसम्म दुई दिनमै डोजर कुदाएर आफनो आँखामा आफै छारो हाल्ने कामको परिणाम त्यो भन्दा उन्नत कसरी होओस् त विचरा !
वेनीसम्म पु¥याइदिन्छु भनेर घरडेरामै लिन आइपुगेका स्याङजाली टयाक्सी चालक भाईसँग “तपाईको गाडी भिरमुनीसम्म जान सक्तैन ?” भनेर सोद्धा प्राप्त भएको जवाफले आफैलाई लज्जित बनायो । “पुला जाने सडक म्याग्दी जिल्लाकै सबभन्दा अप्ठेरो छ” भन्ने उनको भनाईले नराम्रोसँग थप्पड हानेजस्तो रन्को छुटायो ।

हुन त देशभरकै स्थिति त्यस्तै होला । कामभन्दा गफ बढी गर्ने परम्परा नेपालीहरुको जन्मजात आदत नै बनिसक्यो । विकास होइन, हल्ला बढी गरिन्छ । । “आफ्नो गाउँ आफै बनाउँ” भन्ने एमालेको कार्यक्रमको परिणामस्वरुप देशमा ७०/८० हजार किमि सडक खनिएको छ भनेर गर्व गर्छन् अघिकारीहरु ! हो, गाउँ, पाखा, खेत, खरबारी भत्काइएका छन् । तर मोटर भने कतै चल्दैनन् । उहील्यै भूपि नामका कविले नेपाललाई “हल्लै हल्लाको देश” भनिदिएका हुन् ।

विकासे हल्लाको स्याल हुँइया कसरी चलाइन्छ भन्ने कुराको सानो उदाहरण २०७३ साल वैशाख ३० गतेको कान्तिपुर दैनिकमा प्रकाशित एउटा समाचारले पनि दिँदो रहेछ । उक्त दैनिकको अठारौं पेजको ५÷६ कोलममा सम्वाददाता घनश्याम खड्काद्वारा पे्रषित समाचारमा “म्याग्दी जिल्लालाई तुइनमुक्त बनाउने” जिल्ला विकासको अभियान सम्बन्धी समाचार प्रकाशित भएको रहेछ ।
म पनि म्याग्दीमै जन्मी हुर्केर बढेको मानिस हुँ । मैले जानेसम्म म्याग्दीमा तुइनको सहारामा नदी वारपार गर्ने परम्परा नै छैन । राजधानीको नाकैमुनीको त्रिशूली नदीमा आजको यो एक्काइसौ शताब्दीसम्म पनि तुइनहरु देखिन्छन् । तर म्याग्दीको हकमा उन्नाइसौं शताब्दीको अन्तसम्ममा ठुला तारघाटहरुमा फलामे झोलुङ्गोको व्यवस्था भैसकेको थियो । साना खोला खोल्सीहरुमा काठ बाँसका फड्के राख्ने चलन थियो ।

म्याग्दी र राहुघाटजस्ता ठुला नदीमा समेत हिँउदयाममा ठाउँ ठाउँमा फड्के राखिन्थ्यो । पचासको दशकतिर आर.सी.यु.पी योजनाका लागि भवनहरु बनाउने सन्दर्भमा मङ्गलाघाट पारी खवराबाट गिटी, ढुङ्गा, वालुवा तार्ने व्यवस्थाका लागि म्याग्दी नदीमा तुइन टाँगिएको थियो ।

म्याग्दीले देखेको तुइन त्यही हो । तुइने प्रविधि म्याग्दीले कहिल्यै कुनै जमानामा पनि उपयोग गरेको होइन । बरु चोयाका झोलुङ्गोहरु बनाइन्थे । तुइन नै नभएको जिल्लालाई यसपटक जिल्ला विकासले “तुइनमुक्त बनाउने तारतम्य मिलाएछ ! दुई बर्षमै मुलुकलाई तुइनमुक्त बनाउने प्रधानमन्त्रीको घोषणालाई म्याग्दी जिल्लाले यसरी पो सार्थक बनाउन लागेको हो कि ? कान्तिपुरको समाचारबाट त्यस्तो नौटङ्कीका लागि पृष्ठभूभि तयार हुदै गरेको हो कि भन्ने छनक मिल्छ भन्नु आग्रह ठहर्लाजस्तो लाग्दैन । नवविकल्प साप्ताहिक अंक ३४ मा प्रकाशित