मंगलबार देखि बेनीमा सर्वाधिक राशिको बिकु फ्यामिली कप हुँदै

विकल्प न्यूज/बेनी
माघ १५ गते ।


बेनीमा माघ १६ बाट हुने सर्वाधिक पुरस्कार राशिको बिकु फ्यामिलि कप–२०८० फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । माघ १६ देखि २० सम्म बेनी बजारको खुल्लामञ्चमा हुने प्रतियोगिता सेभेन ‘ए’ साइड हुने छ ।

म्याग्दीको बेनी संगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोक पर्वत बेनीमा रहेको बिकु फ्यामिलीले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष सफल बुढाथोकीले जानकारी दिनुभयो ।

बेनी बजारको खुल्ला मञ्चमा हुने फुटबल प्रतियोगिता आयोजना स्थलमा आयोजना गरीएको पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफि सार्वजनिक गर्नुका साथै तयारीका बारेमा समेत जानकारी गराइएको थियो ।

प्रतियोगिताको पहिलो हुनेले एक लाख ४० हजार पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुनेले ७७ हजार सात सय ७७ र तेश्रो स्थान हासिल गर्ने टोलीले २२ हजार दुई सय २२ रुपियाँ नगद पुरस्कारका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा फेयर प्ले अवार्ड सहित नगद आठ हजार आठ सय ८८ रुपियाँ, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेन्सलाई नगद चार हजार चार सय ४४ सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने बिुक फ्यामिलिका खेल संयोजक पुरन छन्त्यालले जानकारी दिनुभयो ।

माघ १६ देखि २० गते सम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा विदेशी खेलाडीलाई समेत सहभागिता गराउन पाइने बिकु फ्यामिलिका सल्लाहकार आशिष भुजेलले जानकारी दिनुभयो । म्याग्दीका पुराना फुटबल खेलाडी दोरण शेरचनलाई सम्मान गर्नुका साथै जिल्लाबाट खेल्दै राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागि भएका खेलाडीहरुको पहिचान सहित उचित सम्मान गरिने छ । दोरण शेरचनले जाउलाखेल युथ क्लबबाट व्यवसायीक रुपमा ‘ए’ डिभिजन लिग फुटबल खेल्नु हुन्थ्यो ।

विदेशी खेलाडी समेत हरेक टिमले सहभागी गराउन पाउने र एउटा टिमले बढीमा तीन जना सम्म विदेशी खेलाडीलाइ मैदानमा उतार्न सक्ने उहाँको भनाई छ । पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँ, न्यू दोभान युवा क्लबका अध्यक्ष उपेन्द्र गिरीलगायतले बोल्नु भएको थियो ।