शिक्षकको भलिबल प्रतियोगितामा डनिङ आवासीय र शिख मावि विजयी

ठाकुरप्रसाद आचार्य
म्याग्दी,माघ १३ गते ।

जिल्ला भलिबल संघको आयोजनामा बेनीमा संचालन भएको प्रथम म्याग्दी कपको पुरुष र महिला शिक्षकको भलिबल प्रतियोगितामा डनिङ आवासीय मावि बावियाचौर र शिख मावि शिख विजयी भएको छ ।

बेनीको खुल्लामञ्चमा भएको फाइनल खेलमा पुरुष शिक्षकतर्फ मंगला गाउँपालिका–२ बावियाचौरको डनिङले बेनी नगरपालिका–९ तोरिपानीस्थित गलेश्वर माविलाई सोझो दुई सेटमा पराजित गरेको थियो भने महिला तर्फ अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविले माउण्ट एभरेष्ट आवासीय माविलाई पनि सोझो दुई सेटमा पराजित गर्दैं उपाधि जितेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

विजेताले क्रमशः नगद २० हजार र द्वितीय हुनेलाई नगद १० हजार रुपियाँ ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गरेका थिए । बिजेतालाई गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले पुरस्कार वितरण गदैं शिक्षक बिचको भलिबल प्रतियोगिताले विद्यार्थीको समेत खेल प्रतिभाको विकास गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा पुरुष शिक्षकतर्फ २० र महिला शिक्षकतर्फ १० वटा विद्यालय सहभागि भएका थिए । यसैबीच छात्र र छात्रा भलिबलको फाइनल खेल शनिबार दिउसो हुने आयोजकले जनाएको छ । छात्रतर्फ प्रकाश मावि र किसानी मावि बिम, छात्रातर्फ प्रकाश मावि र शिख माबि फाइनलमा प्रवेश गरेका छन् ।