Search

बेनीमा खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी
पुस २० गते ।


जिल्ला खेलकुद विकास समिति म्याग्दीले म्याग्दीका दुईजना खेलाडीलाई सम्मान गरेको छ । बेनीमा आयोजना गरिएको जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनका अवसरमा महिला भलिबलको राष्ट्रिय टिमका कप्तान अरुणा शाही र कराँतेका अन्तराष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको हो ।

शाही म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्ले र गर्बुजा वडा नम्बर ४ दग्नाम निवासी हुनुहुन्छ । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले खेलाडीलाई नगद सहित प्रशंसापत्रले सम्मान गर्नुभएको हो ।

म्याग्दीलाई खेलकुद क्षेत्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडीलाई थप हौसला प्रदान गर्न सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो ।