चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज
बैशाख १३ गते ।
“बुढेसकालमा आफ्नै आँगन–पटाङ्गिनी पनि काशी–गयाजीजस्तो लाग्दो रहेछ” भनेर मेरी हजुरआमाले भन्नुहुन्थ्यो । जमाना बदलियो । काशी–गयाजीको यात्राका लागि अब महिनादिन खर्चन नपर्ने भयो । नेपालको सिमाना छिचोल्न पैदलमार्च गर्नुनपर्ने भैसक्यो । अघिल्लो पुस्ताले काशी–गयाजी दर्शन–भ्रमणका लागि खर्चने समयावधिमा अब सात समुद्रपारिका मुलुकमा आउजाउ गर्न सकिने भयो ।
सुपरसोनक जेट इन्जिनले अन्तरदेशीय यात्रा सहज, सरल र दु्रत बनाइ दियो । तैपनि हामी नेपालीहरुको नियति भने देशभित्रैका गन्तव्यस्थलहरुको यात्रानुभवहरु सुखद रहने दिन आइसकेका छैन । सडकको स्तर, गाडीहरुको अवस्था र चालकहरुको व्यवहारका कारणले प्रायशः यात्राहरु कष्टकर नै हुने गर्छन । कुनै ठाउँ विशेषको दोहो¥याएर यात्रा गर्नुपर्ने खण्डखातिर उपस्थित भयो भने पूर्वानुभवले सबैको सातो लिन्छ ।
अस्थायीरुपमै भए पनि जन्मथलो छोडेको तीन दशक बितिसकेछ । साहै्र सजिलो र सुविधायुक्त जीवन बिताउने अवसर नमिले पनि कमसेकम आवयश्यकपर्दा अस्पताल एम्बुलेन्सको सेवा सुविधा सजिलो गरी उपलब्ध हुनसक्ने ठाउँमै आयुको पछिल्लो आधा हिस्सा बिताइएछ । सहरबाजरकै बास भए पनि यताउता आउजाउ गर्नका लागि सार्वजनिक सवारी साधनहरुको उपयोग गर्नुनपर्ने हैसियत आर्जन गरिएन ।
त्यस्तो आकांक्षा नै राखिएन भन्नु अलि बढ्तै होला ! गर्न सकिएको छैन । त्यसैले यात्राभ्रमणहरु कष्टकर हुने नै भए । हुन त पछिल्लो डेढ दशकयता शारीरिक रुपमा उति धेरै सक्रिय रहने गरिएको छैन । स्वास्थ्य र व्यवहारका कारणले त्यस्तो अवस्था नै छैन भन्नु उपयुक्त होला । तैपनि सौभाग्य भनोै कि सुखद संयोग ! आवागमनका लािग सार्वजनिक सवारी साधनको उति धेरै उपयोग गर्नु परेको छैन । “अजिङ्गरको आहारा दैवले पु¥याउँछ” भनेजस्तो आवश्यकपर्दा आरामदायी निजी सवारीसाधन उपलब्ध हुने संयोग जुरेकै छ ।
साह्रै कम मात्र सार्वजनिक सवारीसाधन उपयोग गर्ने गरिएको भए पनि आफूसँग नीजी सवारी साधन रहेको भने होइन । कुनै जमानामा भैसीसम्म पाल्ने गरिन्थ्यो । अब त त्यो पनि असम्भव भैसक्यो । आफ्नै खेत–खरबारीको घाँस परालले पालिने भैसी जावो त गरुङ्गो लाग्न थालिसक्यो भने अरबको खाडीबाट झिकाइएको महङ्गो खनिजतेल खुवाएर राख्नुपर्ने मोटर पाल्ने हैसियत कहाँबाट हुनु ? अवश्य, गाडी त चढिन्छ तर अर्कैको ! यहीनेर उल्लेख गर्न संकोच मान्नु नपर्ने कुरा के रहेको छ भने अर्काको गाडी चढे पनि मेरो मुखले कहिल्यै याचनाका दुई शब्द निकाल्न परेको छैन । अर्थात कसैसँग लिफ्ट माग्ने गरिएको छैन । कम मात्र घरबाट बाहिरफेर निस्कने हुनाले आक्कलझुक्कल लामो छोटो यात्रा गनुृपर्ने भो भने लिफ्टको प्रस्ताव आफन्त परिचितहरुबाट आउने गरेको छ ।
कहिलेकही त लिफ्टदिने प्रतिश्पर्धा पनि हुने गर्छ । त्यस्तो परिस्थितिमा कसको गाडी चढ्ने र कस्को नचढ्ने भनेर छनोट गर्न गाह््रो पर्छ । कसैको चित्त दुख्ला कि, कसैको मन कुँडिएला कि र संयोगबस लिफ्ट माग्नुपर्ने अवस्था आयो भने मुख फोर्न आफैलाई गाह्रो पर्ला कि भनेर भुटभुटिनुपर्ने पनि हुन्छ ।
दोहो¥याएर “मैलै लिफ्ट माग्ने गरेको छैन” भन्नमा गौरवानुभूति नभए पनि आत्मग्लानी गर्नुपर्ने अवस्था पनि छैन । किनकि आजसम्म मुखफोरेर लिफ्ट माग्नुपर्ने अवस्था उपस्थित भएकै छैन । त्यसैले हो अथवा अन्य कुनै कारणले हो कुन्नी याचना गर्न मन लाग्दै लाग्दैन ।
परचक्रीको कुरै छोडौ, आफ्नै छोराबुहारीहरुसँग पनि लिफ्ट मागिदैन । कतै नगै नहुने परिस्थिति आयो र आकस्किम यात्राको पूर्वजानकारी उनीहरुलाई छैन भन्ने लाग्यो भने बरु लुसुक्क सार्वजनिक सवारीको प्रयोग गर्ने गर्छु । त्यसले एउटा फाइदा के गरेको छ भने बुढाको कतै आउजाउ गर्नुपर्ने कारण छ कि भनेर उनीहरुले नै खोजीनीत गर्छन् । जानकारी राख्ने पर्यत्न गर्छन ।
सतर्कता अपनाउँछन् । धेरै टाढा कतै गइने होइन, अस्पताल, बजार र आक्कलझुक्कल कुनै सार्वजनिक कार्यक्रमहरुमा वा सभा, गोष्ठी, जन्ती, मलामी र पर्वउत्सवहरु नै यात्राका तिथिपर्वहरु हुन् । त्यस्ता तिथिमितिहरुको पूर्वजानकारी घरपरिवारलाई नहुने प्रश्नै रहेन ।
लिफ्ट नमाग्ने अभ्यास पुरानै भए पनि कहिल्यै माग्दिन भनेर कसमै खाएको त होइन क्या रे ! आकस्मिक घटना दुर्घटनाले माग्नैपर्ने वाध्यात्मक परिस्थिति उत्पन्न हुन सक्तैन भनेर कसले भन्न सक्छ र ? मानिसलाई सधै र सबै कुरा पुगेर आउँदैन । घटना हालसालैको हो । निम्तोमा उपस्थिति जनाउनु अनिवार्य भयो ।
हाजरी बजाउनुपर्ने ठाउँ त्यति धेरै टाढा थिएन । कार्यक्रम आयोजनास्थल छरछिमेकमै थियो । त्यसैल गाडी पठाइदिने छोरीको आग्रहलाई इन्कार गरियो तर संयोगबस तत्काल अलि टाढा पनि पुग्नसक्दा बेसै हुने परिस्थिति दृष्टिगोचर भयो । अरुहरु पनि त्यता जाने तयारी गर्दै रहेछन् । उनीहरुमध्येकै एकजनासँग “म पनि जान्छु” भने । तैपनि “ठाउँ छ भने” भन्न भने बिर्सन मिल्दैनथ्यो । बिर्सिन । सायद मेरो जीवनमा पहिलोचोटि त्यस्तो याचनावाणी निस्केको होला । अनायासै निस्कियो । फुत्किसकेको वाणी फिर्ता लिन नमिल्ने ।
मेरो याचनाले गाडीवालालाई अलिकता अप्ठेरो परेको हो कि भन्ने अनुभूति गर्नुप¥यो । उनको अप्ठेरो फुकाइदिने सदाशयले “भैगो, ठाउँ छैन भने म जान्न” भनिदिए । उनको अनुहार प्रफुल्ल भएको अनुभूति भयो । मलाई त्यस्तो लागेको हो कि साँच्चै त्यस्तै परिस्थिति थियो भनेर यतिबेला किटान गर्न गाह्रो छ ।
“बस्न पाइयो भनेर थ्याच्च नबस्नु, बोल्न पाइयो भनेर प्याच्च नबोल्नु” भनिन्छ । मलाई त्यस दिनको आफ्नोे छुचो व्यवहार आफैलाई विझाई रहेको थियो । विनासित्तैमा याचना गर्ने हतारो किन गरिए होला भन्ने पश्चाताप भावले मुटु पोलिरहेको थियो । अवचेतनमै हातले खल्ती छामेँ । दुर्भाग्यबस ट्याक्सी खर्च पुग्ने रकम रहेनछ । यताउता निस्कँदा वालेट र मोवाइल गोजीमा राख्न बिर्सने बानी पुरानै हो ।
तैपनि कमसेकम आउजाउ गर्नपुग्ने बसभाडा भने गोजीमा रहेछ । सन्तोष लाग्यो । मन ढुक्क भो । उनीहरुकै अगाडि सार्वजनिक सवारीको खोजी गर्दा अप्ठेरो मान्लान कि भनेर सतर्क पनि हुनै प¥यो । बन्धुहरुको प्रस्थानलाई कुरी बसेँ । गाडीवालाले त होइन गाडीमा लिफ््टको पूर्व सुनिश्चितता भएका एकजना मित्रले जाउँ भन्ने संकेत गरे । कुरो नबुझेरै पनि उनको साथ लागेँ । उनले इङ्गित गरेको गन्तव्य बसस्टाएण्डतिरै थियो ।
अल्लि अगाडि बढ्दा एउटा नीजी गाडी सडकमा तयार थियो । उनै मित्रले मलाई पनि गाडीमा चढ्न सङ्केत गरे । गाडी पुर्व प्रसङ्गकै पो रहेछ । गाडीमा पर्याप्त स्पेस थियो । सुविस्थासँग बसियो । गाडी गन्तव्यतिर लाग्यो । एकाध घण्टापछि पुन उही गाडीले फिर्ता ल्याइदिने निगाह पनि ग¥यो । तर यात्रावधिमा महङ्गो गाडीको अहारामदायी सिट भने मलाई विझाइरह्यो, तिखो काँडो बनेर घोचिरहयो । मनभित्र उमठिएको नमिठोपनले थिग्रने नामै लिएन ।
आफ्नै व्यवहारले आफैलाई लज्जित बनाएको थियो । हिनाताबोध भैरहेको थियो । अपमानबोधको अनुभूति गरिरहेको थिएँ । मनले त भो जान्न भन्न प्रेरित गरिहेको थियो । लोकव्यवहारको औपचारिकताले त्यसो गर्न दिइरहेको थिएन र आयन्दा बिर्सेर पनि त्यस्तो नादनी नगर्ने चेतावनी आफ्नै विवकेले दिइरहेजस्तो लागिरहेको थियो । मनभित्रको त्यही अन्तसंघर्षको अनुभूतिले वातावरण झन भन्दा झन नमिठो बन्ला कि भन्ने डर लाग्न थाल्यो । त्यसैले केही हल्काफुल्का गफ गर्ने, गर्ने नपर्ने कुरा पनि जानी जनी ओकल्ने चेष्टारत रहनु उपयुक्त लाग्यो । वास्तवमा त्यो पनि मेरो मनको तितोपन ओकल्ने आफ्नै तरिका थियो ।
धनको माया सबैलाई हुन्छ । मानिसको लागि सबैभन्दा प्रिय मानिने बस्तु सन्तान र धन नै हो भनिन्छ । “मान नमान मै तेरा मेहमान” को शैलीमा आफ्नो करोडौ मूल्यको गाडीमा ढसमस्सिन आउने अनिच्छित मानिसहरु गाडीधनीका लागि प्रिय रहने कुनै भएन । उनीहरुमा पर्नसक्ने मनोवैज्ञानिक प्रभावको ख्यालै नगरी लिफ्ट माग्नु हद दर्जाको अविवेक प्रदर्शन हो । वेसोमति व्यवहार हो । यद्यपि मैले उतिसाह्रो परचक्री ठान्नुपर्ने मान्छेसँग लिफ्ट मागेको थिइन ।
त्यो पनि जीवनमै पहिलो चोटि ! “प्रथम ग्रासे मच्छिका पातः” भनेजस्तो अप्रितिकर अनुभूति गर्नु प¥यो । जनताको घरघरमा मत माग्दै हिँडको मान्छे म, कुनै हालतमा आफ्नो पक्षमा मत आउँदैन भन्ने जान्दा जान्दै पनि औपचारिकताका लागि दुई हात जोडेर नमस्तेको मुद्रामा प्रस्तुत हुँदै दाँत ङिच्चाउने अभ्यास पनि गरेको मान्छे म, तर यसपटकजस्तो नमिठो अनुभूति जीन्दगीमा कहिल्यै गर्नुपरेको थिएन ।
सायद इन्कारको सम्भावनाको शून्यताको अनुमानले केवल औपचारिकताका लागि मात्रै मुखफोर्ने त हो भन्ने मेरो गलत बुझाईको परिणाम थियो त्यो ! त्यसैले पनि होला स्वभिमान अलि बढ्तै मर्माहत भएको अनुभूति गर्नुप¥यो । मैले त नगर्नुपर्ने गल्ती गरिहालेँ । त्यसलाई सच्याउने ठाउँ नै छैन । मसँग पश्चाताप गर्नुभन्दा अर्को उत्तम विकल्प बँकी रहेन । तपाईहरुले पनि पश्चातापको आगोमा पिल्सनु पर्ने परिस्थिति उत्पन्न हुदैन भनेर ढुक्क नहुँदासम्म कसैसँग लिफ्ट नमाग्नु होला है ।