ताजा समाचार:
Search

यसपटक “गोपाल कमरेड”लाई एकथान जब्बर बधाई दिन मनलाग्यो !

chandra parkash baniyaचन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
म्याग्दी,बैशाख ७ गते ।
हार्दिक बधाई छ गोपालजी ! विधिवत छोराहरुको व्रतबन्ध संस्कार सम्पन्न गर्नु भएकोमा बधाई ! साधारण सदस्यता समेत नरहनेगरी कम्युनिष्ट पार्टीसँग सम्बन्ध टुटेको डेढ दशक बितिसकेछ । कम्युनिष्टहरुले व्यवहारमा आपसी सम्बोधनको रुपमा “कमरेड” शब्दको उपयोग गर्ने गर्छन् । बाबु–छोरा र पति–पत्नीबीच पनि कमरेड र तपाईको आदरार्थी सम्बोधन आम प्रचलनमा छ । “न रहे बाँस, न बजे बाँसुरी” भनेजस्तो स्वेच्छाले कम्युनिष्ट भनाउन पाउने गौरव परित्याग गरेपछि अरुलाई कमरेड भनेर सम्बोधन गर्नु भद्दा प्रहसन मात्र ठहरिने छ ।

सायद गोपालजीलाई कमरेड भनेर सम्बोधन गर्ने हक मैले गुमाइसकेको छु । त्यसबाहेक अर्को कुनै सामाजिक साइनो सम्बन्धको जानकारी मलाई छैन । हाम्रो समाजमा बुवा, आमा, छोरा, छोरी, सासु, ससुरा, साला, साली, जेठान, जेठाजु, नन्द, भाउजु, आमाजु र बुहारी आदि सामाजिक साइनो सम्बन्धहरु व्यवहारमा सरलतापूर्वक प्रयोग गरिन्छन् । नाता लगाएर बोलाउनु शिष्टता मानिन्छ । त्यस्तो सम्बोधन प्रेमपूर्ण, हार्दिक र मर्यादित समेत मानिन्छ । तर संसारको सबभन्दा निकट र सर्वप्रिय सम्बन्ध श्रीमान र श्रीमतीको साइनो भने एक अर्कालाई बोलाउनका लागि उपयुक्त मानिदैन । कमरेड पनि त्यस्तै र उत्तिकै आत्मीयताबोधक विशेषण (संज्ञा) हो र पनि सबैले सबैलाई सम्बोधन गर्न मिल्दैन ।

कसैले त्यसो गर्छ भने त्यो अज्ञानता ठहर्छ । कुनै बुहारीले ससुरालाई “लोग्ने” भनेर सम्बोधन गरेजस्तै गैर–कमरेडहरुले कमरेडको सम्बोधन गर्नु अभद्र र अमर्यादित चेष्टा मानिन्छ । दलगत राजनीतिका हिसाबले पारपाचुकी भैसकेको भए पनि हामी दुईबीचको अर्को उपयुक्त साइनो खुटयाउन नसकेको हुनाले “कमरेड” भनिदिएँ ! गोपालजीले अवश्य यो धृष्टताका लागि माफ गरिदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।
प्रिय गोपालजी !
विषय प्रवेश गर्नुपूर्व एउटा पुरानो तर प्रेरक सत्य घटना सुनाउने अनुमति माग्दछु । कुरो २०१५ सालको आम निर्वाचनको बेलाको हो । चुनाव प्रचारको सिलसिलामा नेपाली काँग्रेसका नेता विपी कोइराला पाल्पा पुगेका रहेछन् । तिनताका ब्राह्मण, क्षत्री, विश्वकर्मा र छन्त्याल समुदायमा भान्सा पस्दा (खाना खाने बेलामा) नयाँ धोती फेर्नुपर्ने चलन थियो । भान्सामा जानुपूर्व लुगा फेर्दा विपीको घाँटीमा जनै रहेनछ ।

कुनै सुभेच्छुकले तत्काल उनलाई जनै लगाइदिएछ र सार्वजनिक रुपमा विनाजनै भात खाइदिँदा कट्टर ब्राह्मण समाजले पचाउन सक्तैन । त्यसले निर्वाचनमा पनि प्रतिकूल असर पु¥याउन सक्ने सम्भावना पनि अनुरोध गरिएछ । तत्काल कुनै प्रतिक्रिया नजनाएका विपीले भान्सामा पस्नुपूर्व भने जनै चुँडालेर फयाँकिदिएछन् । आफ्नो आस्था, विचार र सिद्धान्तका अगाडि विपीका लागि चुनावीे भोटको कुनै मूल्य थिएन ।

परिवर्तनको संवाहक बन्न चाहनेहरुले विपीकोजस्तो साहस प्रदर्शन गर्न सक्नुपर्छ । उदाहरण प्रस्तुत गर्न हिच्किचाउनु हुदैन । “वडाले जो ग¥यो काम, हुन्छ त्यो सर्वसम्मत” भनेजस्तो विपीको व्यवहारप्रति कसैले औंलो ठड्याउने हिम्मत गरेनछन् । त्यो वास्तविक घटना थियो । समाजिक रीतिस्थिति प्रतिको अन्धआस्था विरुद्ध त्यो जमानामा उनले देखाएको साहस प्रशंसनीय थियो । उनकै इच्छानुसार छोराहरुले उनको निधनपछि तेह्रदिने काजकिरीया पनि गरेनन् । मरेतिथिमा श्राद्धतर्पण गर्छन कि गर्दैनन् भन्ने कुरा भने सार्वजनिक भएजस्तो लाग्दैन ।
सामाजिक संस्कारहरु लुतो जस्तो जिराहा प्रकृतिका हुन्छन् । सजिलैसँग तिनीहरुबाट ज्यान छुटाउन गाह्रो हुन्छ । स्वभावतः गोपालजीले पनि छोराहरुको व्रतबन्धको कर्तव्य पूरा त्यस्तै चेपुवामा परेर गर्नु भएको होला । संस्कारप्रतिको आस्थाका कारणले भन्दा “लोकले के भन्ला” भन्ने त्रासले परम्परा पछयाउन उत्प्रेरित ग¥यो होला । त्यो विषयमा टिका टिप्पणी गर्नु आवश्यक छ जस्तो लाग्दैन ।

आ–आफ्नो गम, पाकेका केरा ! अर्थात पाकेको केरा फेला परेपछि बोक्रा फालेर खाए पनि बोक्रैसँग खाए पनि आफ्नो मनखुसीको विषय मानिन्छ ! सामाजिक संस्कारहरुको अवलम्बन अनुशरण नागरिक स्वतन्त्रताको कुरा पनि हो । जुनसुकै राजनीतिक दर्शनमा आस्था राखे पनि जन्मका हिसाबले गोपालजी एउटा हिन्दू हुनुहुन्छ । हिन्दू धर्मसंस्कारमा व्रतबन्धको ठूलो महत्व छ भनिएको छ । “जन्मना जायते शुद्र, संस्काराद् द्विज उच्चेते” । ’जन्मदा सबै शुद्र नै हुन्छन् । व्रतबन्धादि संस्कारपछि ब्राह्मण भनिने हुन’ भन्ने आशय यो नीतिवचनको हो । जनै भनेको शुद्रकोटिको मानिसलाई उपल्लो जातमा उकाल्ने बुटी (कर्म) हो । हुनत व्यवहारमा बाहुनको छोरालाई बाहुन भनाइमाग्न जनै लगाइरहनु पर्दैन । बाहुनको छोराले जनै नलगाए पनि शुद्र भनिदैन र जनै लगाए पनि शुद्रको सन्तान बाहुन हुन सक्तैन ।

अर्थात जनै नलगाए पनि गोपालजीका छोराहरुको जात घट्ने अवश्य थिएन । कर्मले होइन, जन्मले जात छुट्टिन्छ । चर्चित साहित्यकार खगेन्द्र संग्रौलाले ब्राह्मणपुत्र भएर पनि ब्रतवन्ध गरेनन्, जनै लगाएनन् र पनि उनी ब्राह्मण समुदायमै गनिन्छन् । संग्रौलालाई बाहुन होइन भन्ने हिम्मत कस्को छ र ? वेनीकै सफल उद्यमी व्यवशायी जीवनकुमार विश्वकर्माका बुबा (मैले नाम बिर्सेछु) ले जनै लगाउनु हुन्थ्यो र पनि कसैले ब्राह्मण भनेन ।

अर्थात हाम्रो समाजमा जात भातको अस्तित्व नामेट नभैसकेको भए पनि त्यो संस्कारसँग जनैको कुनै साइनो सम्बन्ध बाँकी रहेन भन्नु अतिशयोक्ति ठहरिदैन ।
सामाजिक र राजनैतिक क्रान्तिको नायकपरिवारका अब्बल सन्तति पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको अन्येष्टि कर्मको सन्दर्भमा आर्यघाटमा प्रदर्शन गरिएको एउटा तमासामा सबैका आँखा परेको हुनुपर्छ । दागवत्ति दिनेमध्येका एकजनाले कोटबाहिर मालाझै गरेर जनै भिरेको देखिन्थ्यो ।

अवश्य उनी कोइराला खानदानकै उत्तराधिकारी हुनुपर्छ । वास्तवमा उनको त्यो नौटङ्की जनैको पनि अपमान थियो । संस्कारको पनि अपमान थियो र विपी कोइरालाको विचारको उपहास पनि थियो । त्यो विदुषकचेष्टा आफ्नै वेइज्जती पनि थियो । मैले इङ्गित गर्न खोजेको कुरा कति मात्रै हो भने अबको जमानामा जनैको उपयोगिता पूरै समाप्त भैसकेको छ । कुनै जमानामा जनै उच्च वैदिक आर्य समुदायको गणचिन्ह मानिदो हो ।

टाढैबाट तागाधारी आर्य रहेछ भनेर चिनियोस्, खोजीपाँसुली गरिरहन नपरोस् भनेर जनै लगाउने परम्परा बसालिएको हो । धर्म, संस्कार, गायत्री वा अन्य कुनै सामाजिक परम्परासँग जनैको गोरुबेचेको साइनो सम्बन्ध छैन । वैदिक धर्मसंस्कृति भारतमा विकसित भएको हो । भारत अपेक्षाकृत गर्मी ठाउँ हो । मानव विकासको प्रारम्भिक चरणमा उध्र्वबस्त्र (कम्मरभन्दा माथि छोप्ने कपडा) लगाइदैैनथ्यो । त्यसैले सबैका आँखा सजिलैसँग जनैमा पर्नसक्ने अवस्था थियो ।

जातभात सोधीरहनुपर्ने आवश्यकता पर्दैनथ्यो । हो, त्यही सहुलियतका लागि मात्रै जनै लगाउन थालिएको हो । कालान्तरमा त्यो मन्त्रपूतसुत जातको प्रतीक बन्यो । करीब सातसय वर्ष अगाडि जनै भिर्न थालेपछि खस समुदाय पनि ब्राह्मण, क्षत्री, ठकुरी र दशनामी नामका कथित उपल्लो जातमा दरिएको हो ।
”मानिसहरुको अन्तराष्ट्रिय जाति हुनेछ” भन्ने गीत सयौंचोटि गोपालजीले पनि भाकाहालेर अवश्य गाउनु भयो होला । कम्युनिष्टहरुले जात भात मान्दैनन् । घोषितरुपमै कम्युनिष्ट सिद्धान्त परित्याग गरेका डा. बाबुराम भट्टराईले समेत कथित तल्ला भनिएका जातजातिका मान्छेका भान्छामा पसेर जातिउन्मूलनको सांकेतिक अभियान जारी राखेकै छन् । अझैसम्म कम्युनिष्ट विचार परित्याग गरिनसकेका गोपालजीले जातलाई जनैसँग घाँटीमा भिरिरहनु आवश्यक अवश्य ठान्नु हुन्न होला । होइन, जातको त अघोरै माया छ भने पनि जात जोगाउन वा चिनाउन अब जनै लगाइरहनुपर्ने आवश्यकता छैन । जात छुट्याउने हैसियत जनैले गुमाइसकेको छ ।

दोश्रो उपयोगिता भनेको विभिन्न खाले श्राद्धकर्ममा जनैको प्रयोग हिन्दू धर्मालम्बीहरुले गर्ने गर्छन् । श्राद्ध आफैमा एउटा भ्रान्त धारणा हो । ब्राह्मण सुमदायको जीविकाको निमित्त सिर्जना गरिएको मनोवैज्ञानिक शोषणको माध्यम संस्कार हो । तेह्रदिने किरियाको सन्दर्भमा पनि जनै अनिवार्य मानिन्छ । तेह्रदिने संस्कारको पनि कुनै धार्मिक, वैज्ञानिक र सामाजिक उपयोगिता छैन । त्यो पनि नितान्त ब्राह्मण जीविकाको निमित्त रचिएको तारतम्य मात्र हो । हो, कुनै जमानका राजा महाराजाहरुले बाहुनलाई “पढ्नु, पढाउनु, यज्ञ गर्नु, गराउनु, दान लिनु, दिनु” बाहेक अरु व्यवशाय गर्नमा प्रतिबन्ध लगाइदिएका थिए ।

त्यतिबेला अनेक नयाँ नयाँ कर्मकाण्डहरुको आविष्कार गरेर बढ्दो ब्राह्मण आवादिको जिविका चलाउने र जीवन धान्ने प्रपञ्च मिलाइएको हो । व्रतबन्ध पनि तिनैमध्येको एउटा कर्मकाण्डी परम्परा हो । संस्कार हो । अब त्यसको कुनै प्रयोजना र उपयोगिता बाँकी छैन ।
अन्तमा गोपालजी ! अर्को एउटा प्रसङ्गको पनि स्मरण गराउन चाहन्छु । १२ बुँदे दिल्ली सम्झौता भैसकेको थिएन । हुलाक चोकमा एकदिन तपाइसँग जम्का भेट भयो । तिनताका एकजना एकताकेन्द्र– एमाले– माले– हँुदँै राजवादी कित्तामा पुगेका मानिसको सम्पादकत्वमा प्रकाशित हुने साप्ताहिकमा लेख्ने गर्थेँ ।

त्यही राजावादीको पत्रिकामा छापिने हुनाले मेरा लेखहरु नपढ्ने घोषणा सुनाउनुृ भएको थियो । कसले लेख्छ र कसले छाप्छ भन्नुभन्दा “लेखिएको के छ ?” भन्ने विषयले महत्व पाउनुपर्ने हो । त्यो बेला राजावादीको लेवल लागेका उनै सम्पादक ययितबेला नेकपा माओवादी(क्रान्तिकारी) को केन्द्रमै छन् । उतैबाट एमाले–माले–राजावादी हँुदै पुन एक फन्को मारेर पुरानै ठाउँमा पुगेका छन् ।

विगत १२ वर्षमा सम्पादकले अनेकौं चोला फेरे पनि साप्ताहिक र मेरो स्तम्भ भने यथावत, अविछिन्न र निरन्तर छ । अब त मेरो लेख बहिष्कार गर्नु हुँदैन होला कि ? कतै तपाई अर्को कुनै माओवादी कित्तामा हुनुहुन्छ र फरक कित्तासँग कुनै साइनो सम्बन्ध र व्यवहारसमेत नगर्ने रुढीवादी चिन्तनबाट मुक्त हुन बाँकी छ ? सिद्धान्तमा कट्टरता र व्यवहारमा लचकता अपनाउनुपर्छ भन्ने राजनीतिक मन्त्र बिर्सनु भएको छैन होला । बिर्सनु भएको हो भने पनि मैले स्मरण गराउने धृष्टता गरेँ है । अन्यथा नठान्नु होला । फेरि अर्को एकपटक बधाई !लेखकका निजी विचार सँग संस्थाको कुनै सम्बन्ध छैन