चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
बैशाख १ गते ।
पाँच दशक पछि फर्केर हेर्दा अचम्म लाग्छ । जमानाले काँचुली फे¥यो । समाजको आचरण फेरियो । परम्पराहरु बदलिए । मानव प्रवृत्ति फेरियो । समाज खुला हुँदै गयो । मानव व्यवहार अन्तर्मुखी हुदै आयो । ठेट भाषामा भन्नुपर्दा समाज छुच्चो झन् छुच्चो हुँदै आयो । मानिस स्वार्थी र लोभी बन्दै गयो । म केटाकेटी छँदाताक गाउँघरतिर “फलफुल बेच्न हुँदैन, पाप लाग्छ” भन्ने चलन थियो ।
आफ्ना करेसाबारीमा फुलेफलेका फलफुल, सागपात आपसमा बाँडेर खानुपर्छ भन्ने मान्यता समाजमा थियो । भोकाएको मान्छेले जोसुकैको मकैबारीमा पसेर धीत मरुञ्ज्याल दुधिलो मकै खानु अपराध मानिदैनथ्यो । विज्याईंसम्म भनिदैनथ्यो । वोटमै पाकेको केरा जोसुकैले विना अनुमति टिपेर खान सक्ने मात्रै होइन, त्यसो नगरे “प्रदोष लाग्छ” भनिन्थ्यो । हाम्रो आफ्नै फुलबारीमा ५÷७ वटा यामान्का आँपका रुखहरु थिए । एउटै रुखमा सयौं कुइन्टल आँप फल्थ्यो ।
नेरोफेरोका गाउँबस्तीहरु समेतबाट सिजनमा रुख चढ्ने सीप भएको मान्छे लिएर आँपका पारखीहरु आउँथे, मनखुसी टिप्थे, झार्थे, खान्थे र बोरा भरेर घर पनि लान्थे । लालबहादुर र गंगाबहादुर दुईजना दाजुहरुका नयाँ घरहरु बनाउने सिलसिलामा ती बाजेबराजुका पालादेखि हुर्काइएका रुखहरु काटिए । मासिए । बगैचा उजाडियो । नयाँ विरुवाहरु लगाउने हुर्काउने चेष्टा गरिएन । आँप मासेर बरु मकै खेती गर्न थालियो । हो, पछिल्लो कालखण्डमा बजारअर्थतन्त्रले गाउँघरहरु समेत प्रभावित हुँदै गएका छन् । अब त मानिसहरुले पाहुनालाई एक छाक विना पैसामा खानदिन पनि गाह्रो मान्न थालेका छन् । सबै घर गाउँहरु बजार बनिसके, गाउँलेहरु सबै बनियाँ ! सबै कुराहरु पैसासँग जोखिन थाले ।
बजारमा सबै कुराहरु “विकाउ” हुन्छ भनिन्छ । उपभोग्य चीजबस्तुहरु मात्र होइन, बुद्धि, ज्ञान र इमान समेत किनबेच हुन्छ । “वेनी” पनि एउटा पुरानो बजार हो । वास्तवमा वेनीको महत्व बजार हुनुमै छ । वेनीसँग बजार जोडिएन भने तरकारीमा नुन नपुगेजस्तो अलिनो हुन्छ । खल्लो लाग्छ । सानै भए पनि वेनी निकै पुरानो बजार हो । सोह्रौं सताब्दीको अन्ततिर वेनीको बगरले बजारको मान्यता पाउन थालेको इतिहास प्रमाण फेलापर्छ । तर उतिबेलाको वेनी पछिल्लो कालखण्डको जस्तो नेवारहरुको थिएन ।
नेवार समुदाय काठमाडौं बाहिरतिर संक्रमित हुन थालेको उपत्यकामा गोर्खालीहरुले कब्जा जमाएपछि मात्र हो । हो, त्यही सिलसिलामा नेवारहरु वेनी आइपुगेका हुन् । उन्नाइसौं सताब्दीको सुरुतिरै नेवारहरुले पर्वत राज्यसिमाभित्र प्रवेश गरेका हुन् । पर्वतको इतिहासमा महन्त नेवार र अवधुतसिंह (नेवार) को उल्लेख भएको भेटिन्छ । वेनीको बजारको इतिहास नेवारभन्दा जेठो छ । बस्तुविनिमय प्रणाली (बस्तुहरु साटासाट गर्ने चलन) हुँदाकै बेलादेखिन वेनीले बजारको मान्यता पाउन थालिसकेको थियो । प्रारम्भमा भोट र मधेस व्यापारको पुलको काम गर्ने वेनी मौसमी (हिउँदे) बजार थियो । पर्वतका अन्तिम मल्लराजा कीर्तिवम मल्लको पालामा पर्वत प्रवेश गरेको नेवार समुदायले कालक्रममा वेनीलाई स्थायी बजारमा रुपान्तरण गरेको हो ।
गफगाफ र ठट्टा गर्ने सिलसिलामा “हाम्रो बाजेले तपाईका बाजेलाई चिनीको स्वाद पहिलोचोटि चखाएका हुन् । नत्र भने तपाईहरुका बाजेपुस्ताले चिनीको सट्टा खुदो र महले काम चलाउँथे” भनेर महेशले भन्थ्यो । कुरो साँचो पनि हो । म्याग्दीलाई आधुनिक बजारको सुविधा उपलब्ध गराएको नेवारहरुले नै हो । वेनीको उराठलाग्दो वगरलाई गुलजार बजारमा रुपान्तरण गरेको मात्रै होइन, आधुनिक उपभोग्य संसारसँग म्याग्दीलाई परिचित गराउने श्रेय त्यही समुदायलाई जान्छ नै ।
हरेक चीजबस्तुहरुको उत्पादनमा मानिसको श्रम, सीप र साधनको लगानी भएको हुन्छ । बस्तुको लेनदेन गर्नुुपर्दा स्वभावत बस्तुहरुको लागत मूल्य खोजिनु स्वाभाविक हो । पश्चिमा व्यक्तिवादी संस्कृतिमा बाबुको सम्पत्ति छोराले समेत सित्तैमा पाउँदैन । त्यो संस्कृतिले संसारलाई विस्तारै विस्तारै निल्न आँटिसकेको छ । त्यसैले मानव श्रम, पसिना र साधनको लगानीबाट उत्पादित बस्तुको कुरा परै रहोस्, प्रकृतिको निःशूल्क उपहार मानिने पानी र हावा पनि वोतलबन्द गरेर बजारमा खरीदविक्री हुन थालिसक्यो । “विना पैसा पानी पनि पिउन पाइदैन” भनेर गाउँघरतिर गरिने बजारको आलोचना पुरानै हो । तैपनि त्यसमा वास्तविकताको अंश न्यून हुन्थ्यो । त्यस्तो टिप्पणीलाई अतिरञ्जना भन्दा पनि फरक पर्दैनथ्यो । वास्तवमा त्यो प्रतिकात्मक विश्लेषण मात्र थियो ।
किनकी बजारले आफूले पनि पैसा तिरेरै खरिद गरेको बस्तुमा लगानीको व्याज र श्रमको मूल्य (नाफा) जोडेर बेचविखन गथ्र्यो । जुन बस्तुलाई बजारले पैसा तिर्नु पर्दैनथ्यो त्यो बेचिदैनथ्यो । त्यस्तो बस्तु विक्न पनि विक्तैनथ्यो । गाउँघरतिरजस्तै वेनीबजारमा फलफूल नविक्ने जमाना पनि थियो । घरपसल वरपर फलेका फलफुलहरु दाताको अनुमतिमा निशुल्क उपभोग गर्न पाइन्थ्यो । कैयौ सन्दर्भमा विना अनुमति फलफूल टिपेर खाए पनि चोरीको वात लाग्दैनथ्यो ।
घटना वि.सं. २०२१ सालको श्रावण भदौतिरको होजस्तो लाग्छ । मेरा ठूलो दाजुको वेनीमा सरकारी जागिर थियो । म पनि सात कक्षाको परीक्षा दिने निजी (प्राइवेट) तयारीको सिलसिलामा वेनीमै बस्थेँ । दिवंगत कान्छा साहु मखनलालको घरपछाडिको धनसारमा हाम्रो डेरा थियो । विहान बेलुकाको खानाको प्रबन्ध कालीपुलस्थित डम्बर थापाको भट्टीमा थियो । तिनताका वेनीबजारमा मिठाई पसलहरु थिएनन् । बजारमा विस्कुट चकलेट पनि पर्याप्त पाइदैनथ्यो । त्यसैले भूजा, चिउरा, मकै, भटमास, वदाम जस्ता खाजाका सनातन परिकारहरु घरबाटै आउँथे । हप्ताभरको लागि सामल आफैले झोलामा बोकिन्थ्यो ।
आजकालजस्तो चिया खाने चलन पनि थिएन । सुख्खा खाजाले बिगारेको पाचन प्रणालीका लागि बर्खे फलफुलको याम वरदानजस्तो हुन्थ्यो । डेराको पछाडिपट्टि कोटभण्डारको बगैचा थियो । संयोगबस कसैले जानी जानी भत्काएको हो कि आफै पुरानो भएर भत्केको हो डेराछेउमै बगैचा प्रवेश गर्न मिल्ने गरी बाटो बनेको थियो । कोटभण्डारको स्वामित्व दुर्गाप्रसादको हो भनिन्थ्यो ।
त्यतिबेलासम्म कोटभण्डारबाट प्रकाश मिडिल स्कुल पनि आफ्नो नयाँ भवनमा सरिसकेको थियो । मौसमअनुसार बगैचामा अम्वा, आँप, अनार आदि अनेकौं किसिमका फलफुलहरु फल्थे । श्रावण, भदौ र असोज समेतका तीनवटा महिनाभर बगैचामा अम्वा लटरम्मै फले÷पाकेका भेटिन्थे । हरेक विहान त्यही चोरबाटोबाट लुसुक्क छि¥यो, १०÷८ दाना बेलाउती टिप्यो । दिनको खाजाको गर्जो टरिहाल्थ्यो ।
कहिल्यै दुर्गाप्रसादको परिवारसँग सोधिएन । अनुमति लिइएन । सिंगै बजारले त्यसै गथ्र्यों । बगैचाको स्वामित्व दुर्गाप्रसादको भए पनि फलफूल सिंगै बजारले उपभोग गथ्र्यों । आफूले पनि देखासिकी गरियो ।
एकदिनको कुरा हो । भर्खर घाम झुल्केको मात्र थियो । डेरा नजिकैको एउटा वोटमा चढेर अम्वाका दानाहरु छानी छानी खल्ती भर्दै थिएँ, अचानक बगैचाको मूलगेटतिरबाट मानिसहरुको आवाज आयो । दुईजना स–साना केटाहरु खेल्दै, कराउँदै मभएतिरै आउँदै थिए । मैले जे गरिरहेको थिएँ त्यतिबेला त्यो अपराध ठानिदैनथ्यो र पनि विनाअनुमति अर्काको बगैचामा पसेको हुनाले मन डरायो । चुपचाप, विना हलचल रुखको कापमा बसीरहेँ । म चढेको रुखको फेदैमा दुईजना केटाहरु आएर उभिए ।
फौदे दर्जीलाई साथ लिएर आउने ती अर्का दुर्गाप्रसादका जेठा छोरा महेन्द्र हुन कि राजेन्द्र (नाम अहिले ठ्याक्कै सम्झना भएन) रहेछन् । हाम्रा आँखाहरु एकापसमा ठोकिए । अवश्य मेरो आँखामा डरको मनेविज्ञान छचल्किएको हुँदो हो । तिनताकासम्म बोल्न लाजमाने पनि नेवारी अलि अलि बुझ्न थालिसकेको थिएँ । “तिम्रो फुलबारीको अम्बा सक्ने यही “खयँचा” पो रहेछ” भनेर फौदेले नेवारी भाषामा महेन्द्रलाई उक्साउने अन्दाजमा चापलुसी ग¥यो । “होइन, यो “मचा” ठूलो घरको हो, असल छ ।
बदमासी गर्दैन । खान मनलाग्यो होला, आयो । जाउँ ।” भनेर महेन्द्रले पनि नेवारीमै भन्यो । मसँग एकवचन पनि तीतोमिठो नगरिकन दुृबैजना फर्केर गए । मैले राहतको अनुभूति गरँे । अपराधको मनोविज्ञान हटेर गयो । मन हलुङ्गो भयो । त्यस दिनको घटनापछि त मेरो मनबाट डर झन हराएर जानु स्वाभाविक भयो । हरेक दिन रित्तो हात गयो । खान मनलागे जति खायो । खल्तीमा अटेजति लिएर डेरा फक्र्यो ! बगैचा छिर्ने नियमित दिनचर्या नै बन्यो ।
महेन्द्रसँग स्कुलमा देखभेट भएको भए पनि हार्दिक चिनाजानी र सम्बन्ध थिएन । हामीबीच मित्रता पनि थिएन । “हाय हलो” सम्म पनि गरिदैनथ्यो । मैले नचिने पनि उसले भने मलाई राम्रैसँग चिन्दो रहेछ । अचम्म पनि लाग्यो । सायद अघिल्लो वर्षको वार्षिक परीक्षामा वेनीकै पाका सहपाठीहरु टिकाबहादुर, गोपाल साहु, मथुरा, पूर्ण आदिलाई उछिनेर कक्षामा प्रथम हुनुको लाभ थियो त्यो । आफूभन्दा ठूला साना सबैका नजर पर्ने अवस्था सिर्जना गर्ने वास्तविक कारण त्यही हुँदो हो । हो, तिनताका वेनी पनि गाउँजस्तै थियो । अर्काको फुलबारीमा विना अनुमति निर्धक्क प्रवेश गरेर फलफुलहरु उपभोग गर्नु पनि अपराध मानिदैनथ्यो । चोरी ठानिदैनथ्यो । ती दिनहरु सम्झँदा समाजमा अचिन्त्य परिवर्तन भएको मात्र होइन कैयन अथर्मा विकृति पनि मौलाएको छ भन्न मन लाग्छ । सभ्यताका दृष्टिले आदिम मानिए पनि कैयौ परम्पराहरु उदाहरणीय थिए । तिनमा मानवताको मिठास थियो । हार्दिकताको सुवास थियो । नवविकल्प पत्रिकाको २९ औ संस्करणमा प्रकाशित