फर्केर हेर्दा २०७२ मा म्याग्दी – विपद्, अभाव र राजनीति उपलब्धिको वर्ष

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३० चैत ।
आजदेखि बिदाई हुन लागेको वर्ष २०७२ नेपाल र नेपालीले राजनीतिक उपलब्धिको खुसीसंगै बिपद् र अभावको दुःख सामना गरेर पार गरे । २०७२ सालमा भुकम्प र नाकाबन्दीका कारण उत्पन्न समस्याबाट प्रभावित नेपालीले सत्तरी वर्षको प्रयासबाट जारीभएको संबिधानलाई उपलब्धि मानेका छन् । गएको वर्ष म्याग्दी जिल्लामा विभिन्न राजनीतिक, विपद्, दुर्घटन, विकास निर्माण, सामाजिक, आर्थिक, शैक्षिक, पर्यटन लगायत क्षेत्रसंग सम्बन्धित विभिन्न गतिबिधी भए । म्याग्दीमा भएका मुख्य घटनाक्रमको एक संक्षिप्त विवरण ।

Santosh Gautam Photo

विपद् र दुर्घटना–
गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर बैशाखको १२ र २९ गतेको भुकम्पले म्याग्दीमा कुनै मानविय क्षत्ती नभएपनि करिब एक सय व्यक्तिका घर, विद्यालय भवनहरु पूर्णरुपमा क्षत्ती भए पाँच सयको हाराहारीमा घर तथा भवनमा क्षत्ती पुग्यो । भुकम्पमा परेर काठमाडौमा तिन जना म्याग्देलीले ज्यान गुमाए । भुकम्प र पराकम्पका कारण चर्कीएको राम्चे ९ काफलडाँडाको पहाड खसेर २७ घरधुरीको बसोबास रहेको म्याग्दीको बैसरी बजार पुरीयो । जेठ १० गते राती गएको उक्त पहिरोका कारण १६ घण्टासम्म थुनिएको कालीगण्डकी पुरानै बहावमा फर्कीएपनि पहिरोले बस्ती पुरेपछि घरबास बिहीन बनेका बैसरीबासीको अझै पुर्नवासको ब्यवस्था भएको छैन् ।
साउन १३ गते राती मुदी ५ गाखर्कमा गएको पहिरोमा पुरीएर ६ र मुनाको कुनौटोमा एक जनाको ज्यान गयो । मुनाको दर र ओखरबोटकाका बासिन्दाले पहिरोको त्रासमा गएको बर्खा याम कटाए । असारको अन्त्यतिर क्याम्पसचोकमा आएको बाढी र म्याग्दी तथा कालीगण्डकीको कटानको त्रास बर्खाभरी रह्यो । बर्षको अन्त्यतीर नारच्याङ् स्थित घलेम्दीखोलाको मुहानमा खसेको पहिरोको बारेमा अझै यथार्थ सार्वजनीक भएको छैन् । विपद् ब्यवस्थापन र राहतका लागि म्याग्देलीले मन खुलाएर सहयोग गरे । विपद्संगै वर्ष २०७२ फागुन १२ गते म्याग्दीको दाना गाविस २ मा पर्ने सोलीघोप्टीमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको टुईनअटर बिमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भयो । तिहार लगत्तै बेनी नगरपालीका १३ थामडाँडा नजिकै बरंजाबाट बेनी आउँदै गरेको माईक्रोबस दुर्घटना हुँदा चार जनाको ज्यान गयो ।
संबिधानको खुसी र नाकाबन्दीको सास्तीbeni
संबिधानसभाका नब्वे प्रतिशत सभाषद्हरुको सहमतिमा असोज ३ गते संघियता सहितको संबिधान जारी भएको खुसीबाट म्याग्दीका बासिन्दाहरु पनि टाढा रहन सकेनन् । संबिधान जारी भएको खुसीयालीमा सदरमुकाम देखि गाउँ गाउँमा दिपावली गरेर स्वागत गरियो । बेनीमा सबै राजनितिक दलहरुले संयुक्त रुपमा ¥याली र आमसभा गरेर संबिधानको स्वागत गरे । म्याग्दी जिल्लालाई प्रदेश नम्बर ४ मा समावेश भएको संबिधानलाई स्वागत गर्न नपाउँदै भारतले लगाएको अघोषित नाकाबन्दी र मधेशमा भएको आन्दोलनले यहाँको जनजिवनलाई पनि नराम्ररी प्रभावित बनायो । ईन्धन अभावका कारण ठप्प बनेका विकास निर्माणका कामले नाकाबन्दी खुलेसंगै केही गति लिएपनि खाना पकाउने ग्याँस अभावको समस्या अझै सुल्झीसकेको छैन् । नाकाबन्दी र इन्धन अभावको असर चौतर्फी रुपमा देखीयो ।
राजनीतिक
राजनीतिक रुपमा २०७२ साल म्याग्दीका लागि उपलब्धीमुलकनै बन्यो । संबिधान जारीभएपछि राजनितिक दल र नेतृत्वप्रती संबिधान बनाउन नसकेका कारण उत्पनन नकारात्मक धारणा कम भएर उनिहरुप्रती विश्वास बढेको छ । वर्तमान सरकारमा म्याग्दीका सांसद नरदेवी पुन पशुपंक्षि राज्यमन्त्री बन्नुभयो । नेपाली काँग्रेसको १३ औ जिल्ला अधिवेशनबाट खम्बीर गर्बुजा सभापतिमा निर्वाचीत हुनुभयो । यद्यपी करिब दुई महिना हुँदा पनि निर्वाचित कार्यसमितिको जिम्मेवारी बाँझफाँड र मनोनीत पदले पूर्णता पाउन ढिलाइ भएकोप्रती काँग्रेसका कार्यकर्ता र शुभचिन्तकहरुले गुनासो गर्न थालेका छन् । महाधिवेशनलाई लक्षित गरेर नेपाली काँग्रेसका केन्द्रिय स्तरका नेताहरुको म्याग्दीमा गएको वर्ष उपस्थिती बाक्लीयो । नेकपा एमालेले पनि कार्यकर्ता भेला, प्रशिक्षण र संगठन सुदृढीकरणलाई तिब्र बनाएको छ ।
एमालेको केन्द्रिय राजनीतिको गुटको प्रभाव यस वर्ष म्याग्दीमा अली बढी देखियो । दोस्रो संबिधानसभा निर्वाचनपछि सुस्ताएको एकिकृत नेकपा माओवादीका नेताहरु संबिधान जारी भएपछि सक्रिय बनेका छन् । नयाँ संबिधानले परिकल्पना गरेअनुसारको सांगठनीक संरचना तयार गर्न अन्य दललाई उछिनेको एमाओवादीले यस वर्ष विद्यार्थी, महिला, किसान संगठनको सम्मेलन सम्पन्न गरेर युवा संगठन वाईसीएलको सम्मेलन गर्ने तयारीमा जुटेको छ । आपसी बिवादमा अल्झीएका राप्रपाका नेताद्धय भिमप्रसाद गौचन र जगत गौचन संयुक्त रुपमा संगठन सुदृढीकरण अभियानमा सक्रिय बनेका छन् । राप्रपा नेपालले विगतको तुलनामा यस वर्ष सहायक मन्त्री र राज्य मन्त्रीलाई जिल्लामा ल्याएर सांगठनीक क्रियाकलापलाई बढायो । एकिकृत माओवादी परित्याग गरेका पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापना गरेको नयाँ शक्तिको म्याग्दीमा अधिकांश पुर्व माओवादीहरुको सहभागितामा संगठन निर्माण भयो ।

प्रशासन–
प्रशासनीक हिसावले वर्ष २०७२ म्याग्दीका लागि अस्थिर बन्यो । तिन जना प्रमुख जिल्ला अधिकारीले २०७२ मा म्याग्दीमा प्रशासन चलाए । यसैगरी जिल्ला शिक्षा अधिकारी पनि तिन जनानै फेरीए । म्याग्दीको प्रशासनीक क्षेत्र यो वर्ष जनशक्ति अभावमा गुज्रीयो । कृषि, वन, पशु सेवा, मालपोत, शिक्षा लगायतका कार्यालयमा दरबन्दि अनुसारका जनशक्तिको अभाव छ । बेनी नगरपालीकामा नयाँ जनशक्तिको पदपुर्ती भए । नगरपालीकाको नेतृत्व एक वर्षमा तिन जना कार्यकारी अधिकृतले गरे । असोजमा बेनीमा सिँचाई विकास सब डिभिजन कार्यालय स्थापना भयो । स्वास्थ्य मन्त्रालयले बेनीको जिल्ला अस्पताललाई ५० शैयामा स्तरवृद्धी गर्ने निर्णय त ग¥यो तर अस्पतालको स्तरवृद्धी भएपछि जनस्वास्थ्य कार्यालय अस्पतालबाट अलग हुन खोज्दा बिवाद उत्पन्न भयो ।
बिवादले स्वास्थ्य कार्यालयका कतिपय कार्यक्रम प्रभावित बन्यो र अन्तत अस्पतालको पुर्वाधार तयार नहुँदासम्म पुरानै प्रशासनीक संरचनामा अघि बढ्न मन्त्रालयले निर्देशन दिएपछि स्थागित भएको कार्यक्रम अघि बढेका छन् । पाँच वटा ठाउँमा स्वास्थ्य ईकाई स्थापना भयो । अस्थिरता र जनशक्ति अभावको बावजुद भुकम्प र पहिरोको अवस्थामा बिपद् ब्यवस्थापन, नाकाबन्दीको समयमा कालोबजारी नियन्त्रण र ग्याँस तथा ईन्धन वितरणमा प्रशासनले खेलेको भुमिका सन्तुलित देखियो । बैसरीमा ठूलो पहिरो जानु अघि तत्कालीन प्रजिअ टेकबहादुर केसी, प्रनाउ हिरा गिरी, भुसंरक्षण अधिकृत दिवाकर पौडेल लगायत स्थानीयबासीन्दा र पत्रकारहरुको टोलीले स्थलगत अवलोकन गरेर बस्ती स्थानान्तरण गरीएकाले बैसरीमा मानविय क्षत्ती हुनबाट बच्यो । सो कार्यप्रती प्रशासन र सुरक्षाकर्मीको प्रशसा भयो । प्रहरीले वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि चलाएको अभियान प्रभावकारी देखिएको छ भने नेपाली सेनाको ईन्द्रबक्स गणले भुकम्पपछिको उद्धार, जोखिम न्युनीकरणका कार्य र सामाजिक काममा सहभागिता बढाएको छ ।
विकास निर्माण–

विकास निर्माणको हिसावले म्याग्दी जिल्लाका लागि त्यती उपलब्धिमुलक बन्न सकेन् । जिल्लामा सबैभन्दा धेरै बजेट भएको ड्रिलीप परियोजनाको पहिलो खण्डको बेनी देउराली खण्डमा सन्तोषजनक प्रगति भएको छैन् । अर्थुङ्गे तोरीपानी खण्डमा भने लामो प्रतिक्षापछि काम सुरु भएको छ । चिन र भारतलाई जोड्ने सबैभन्दा छोटो मानिएको म्याग्दीलाई पनि समेट्ने कालीगण्डकी करिडोरलाई पूर्णता दिई मुस्ताङ स्थित कोरला नाका सञ्चालन गर्न सरोकारवालाको ध्यान केन्द्रित भएको छ । भिरकाटेमा कालीगण्डकी माथि मोटरेबल पुल निर्माण भएपछि दोवा गाविस सडक सञ्जालसंग जोडियो । दरवाङ स्थित म्याग्दी नदी माथि मोटरेबल पुल निर्माण भएपछि सो क्षेत्रका दर्जन गाविस सिधा सडक सञ्जालसंग जोडिएका छन् । वर्षको अन्तमा निस्कोट र मुनामा सडक पुगेको छ । यसै वर्ष पाखापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तार भयो ।
हिस्तान र झिँलाई पूर्ण सरसफाई युक्त गाविस घोषणा गरियो भने एक घर एक धाराको अवधारणामा खानेपानी आयोजना निर्माण गर्ने नितिगत निर्णय भएको छ । बेनी नगरपालीकाले जिल्लामै पहिलो पटक दमकल खरिद ग¥यो । यसैगरी बरंजा, मराङ र पात्लेखेत गाविसलाई पूर्ण साक्षर तथा १५ वटा गाविसलाई सतप्रतिशत घरधुरी सहकारीमा आवद्ध भएको गाविस घोषणा भयो ।
रुममा जलविद्युत आयोजना निर्माण सम्पन्न भयो भने मुदी खिवाङमा अन्तिम चरणमा पुगेको छ । यो वर्ष म्याग्दीमा १९ वटा झोलुङ्गे निर्माण कार्य सुरु भैसकेको छ । खानेपानी आयोजनाहरु निर्माण कार्यले तिब्रता पाएको छ । सहरी विकास बिभागले ताकममा अघि बढाएको घनाबस्ती योजनाले गति लिएको छ ।
महिला विकास कार्यालय आफ्नै भवनमा स¥यो भने विभिन्न स्थानमा निर्माण भएका स्वास्थ्य संस्थाका भवनहरुले पूर्णता नपाउँदा प्रयोगमा आउन सकेको छैन् । म्याग्दीको विकास, शिक्षा, स्वास्थ्य र परोपकारी क्षेत्रमा योगदान गर्दै आएका प्रवासी म्याग्देलीहरुको विश्व सम्मेलन कात्तिकमा बेनीमा सम्पन्न भयो । सम्मेलनले चयन गरेको मोनाको नेतृत्वसंग जिविसले म्याग्दीका सबै गाविसमा ईन्टरनेट विस्तार गर्ने योजनाका लागि सम्झौता गरेकोमात्र छैन मोनासंग भगीनी सम्बन्ध स्थापना गरेर विकासमा साझेदारी गर्ने निती लिएको छ ।
राहुघाट जलविद्युत आयोजनाको सिभिल ठेकेदार आईभिआरसीएलसंग सम्झौता तोडीएपछि पुन अध्ययन गरेर विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ । ३२ बाट ४० मेघावाट र कम्पनीमा लैजाने प्रस्ताव विद्युत प्राधिकरणको सञ्चालक समितिमा पुगेपनि निर्णयमा ढिलाई हुँदा अन्यौलता थपिएको छ । निजी क्षेत्रले निर्माण गरिरहेको घलेम्दीखोला जलविद्युत आयोजनाको क्षमत्ता बढेर पाँच मेघावाटको बनाउने तयारी भएको छ । दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको विषयमा उत्पन्न बिवादले जलविद्युतप्रती निराश जगाउने संकेत देखिएको छ । नारच्याङमा रहेको जिल्लाको एकमात्र तातोपानी साना जलविद्युत आयोजना वर्षको अन्तमा आएर नहरमा लेदो पसेपछि बन्द हुन पुगेको छ ।

आर्थिक क्षेत्र
आर्थिक रुपमा २०७२ मा केही उपलब्धि भएपनि धेरै निराशाजनक रह्यो । भुकम्प र नाकाबन्दीका कारण म्याग्दीको ब्यापार ब्यवसाय नराम्ररी प्रभावित बन्यो । म्याग्दी उद्योग वाणिज्य संघले कालीगण्डकी नदी किनारमा तटबन्ध गर्न खेलेको नेतृत्वदायी भुमिका, ग्याँस वितरणमा अपनाएको गोलाप्रथाले छिटुपट गुनासोका बावजुद धेरै प्रशंसानै पायो । पर्यटक आगमन ठप्प हुँदा दुई सिजन यहाँका होटल ब्यवसाय सुनसान बने । बर्षको अन्तमा भुकम्प र नाकाबन्दीका कारण थलीएको होटल र पर्यटन ब्यवसाय तङ्गीन थालेको छ । म्याग्दीमा वर्षेनी साढे दुई अर्बको अनुपातमा भित्रने रेमिट्यान्सले यहाँको उपभोगलाई निरन्तरता दिइरहेको छ ।
खडेरी र पर्याप्त बर्षा नहुँदा धान, मकै खेती प्रभावित बनेपनि उत्पादन सकारात्मक भएको कृषि विकास कार्यालयको तथ्याङ्क छ । नाकाबन्दी र ईन्धन अभावको बेलामा आयात हुन नसकेको अवस्थामा पनि बेनी लगायत बजार क्षेत्रमा तरकारीको अभाव नदेखिएका कारण तरकारीमा म्याग्दी आत्मनिर्भर उन्मुख रहेको भन्न सकिने अवस्था देखियो भने आलु, सुन्तला लगायत निकासीबाट यस वर्ष २५ करोडका हाराहारीमा जिल्लामा नगद भित्रीएको तथ्याङ्क छ । सरकारले म्याग्दीको टोड्के क्षेत्रलाई पर्यटकीय गन्तब्य घोषणा ग¥यो । टोड्केमा महोत्सव सम्पन्न भयो ।
राहुघाट क्षेत्रका बस्तीहरुलाई समेटेर धौलागिरी सेन्चुरी पदमार्गको पहिचान गरि सञ्चालनका लागि प्रक्रिया अघि बढ्यो । घोडेपानीका बासीन्दाले सरफाईयुक्त वडा घोषणा गरेर नयाँ सन्देश प्रवाह गर्नुका साथै लाखौ लगानीमा पदमार्ग निर्माण गरे । म्याग्दीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैंक कास्कीको गरिमा विकास बैंकसंग गाभीयो भने राष्ट्रिय वाणिज्य बैंकले दरवाङबाट शाखारहित बैंङ्कीङ सेवा सुरु गरेको छ । जिल्ला सहकारी संघ सक्रिय बन्न थालेको छ ।
सामाजिक क्षेत्र
२०७२ सालमा म्याग्दीमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित केही कार्यक्रमको समयअवधि सकियो भने नयाँ कार्यक्रम तथा परियोजना भित्रीयो । सहमती र सोडेकद्धारा सञ्चालित कार्यक्रम र सुआहारा परियोजनाको समयअवधि सकियो भने लिवर्डको बहुसरोकारवाला वन कार्यक्रमको कार्याअवधि अन्तिम चरणमा छ गुड नेवर्स ईन्टरनेशनलको कार्यक्रम नयाँ प्रक्रियाबाट अघि बढ्दैछ ।

परिवार नियोजन सम्बन्धि काम गर्ने एचसिथ्री र स्वास्थ्य कार्यालय मार्फत सञ्चालन हुने पूर्ण खोप मार्फत सरसफाई प्रर्वद्धन कार्यक्रम जिल्लामा भित्रीएका छन् । योजना निर्माण र कार्यान्वयनमा बालबालीकाको सहभागिता गराउन थालीएको र बालबिवाह न्युनीकरणका लागि बहसको सिर्जना भएको छ । बाबियाचौरको मंगला शिक्षा क्याम्पसको भौतिक पुर्वाधारका लागि जग्गा खरिद गर्न ८५ लाख रुपैयाँ चन्दा संकलन भएको छ भने प्रवासीहरुले दानाको ज्ञान प्रकाश उच्च माविमा एक करोड १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
शैक्षिक क्षेत्रमा आवश्यकताको महशुस गरिएको शिक्षक व्यवस्थापन, दरबन्दि मिलान र जिल्ला समितिलाई पूर्णता दिने प्रयास सफल हुन सकेको छैन् । परोपकारी संस्था ओमकुमारी शान्ति कोष मार्फत विपन्नको उपचार, भुकम्प तथा पहिरो पिडितको राहतका लागि समन्वयकारी भुमिका निर्वाह भयो । विद्यार्थी संगठनहरुले विपद् ब्यवस्थापन र कालोबजारी नियन्त्रणका लागि प्रयास गरेपनि अपरिपक्क देखिए ।

अनेकन चुनौती, समस्या र उपलब्धीका बिच बिक्रम सम्बत २०७२ साल हामीबाट टाढा हुँदैछ । विगतको समिक्षा गर्दै भविष्यप्रती सबै जिम्मेवार र उत्तरदायी बनौ । नववर्ष २०७३ सालको को पावन अवसरमा सुस्वास्थ्य, सुख, शान्ति, सम्वृद्धी र सफलताको मंगलमय शुभकामना ।


1 thoughts on “फर्केर हेर्दा २०७२ मा म्याग्दी – विपद्, अभाव र राजनीति उपलब्धिको वर्ष

Comments are closed.