चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
म्याग्दी,चैत १६ गते ।
अघिल्लो दिन चीर ठडयाएर होली प्रारम्भ गर्ने नेपालको पुरानो मौलिक परम्परा हो । अझै पनि काठमाडौंको वसन्तपुर दरबार परिशरमा त्यो परम्परालाई निरन्तरता दिइदैछ । यद्यपि भारतमा सबै जाति, धर्म र संस्कृतिका मानिसहरुले होली मनाउँछन् तापनि अघिल्लो दिन होलीकाको पुतला दहन गर्ने चलन छ । होली जस्तै जस्तै लाग्ने पर्व उत्सवहरु युूरोपतिर अझै अस्तित्वमा छन् ।
कतै गोरु जुधाइन्छ, कतै टमाटर हान्ने चलन छ, कतै हिलो छयापाछ्याप गर्ने परम्परा छ । नेपाल र भारतमा फिजिएका खस र आर्यहरु दुबैथरीको आगमन युरोपतिरबाट भएको हो । भारतीय आर्यहरुको वंश भोल्गानदीको किनारमा विकसित भएको हो भनिन्छ । सम्भवतः कजाकिस्तानको प्रसिद्ध लडाकु जाति कजाक खसहरुको पुर्खा होला । मानिसको आप्रवासनसँग होली पर्व पनि त्यतैबाट आएको हुनुपर्छ । हिन्दू पुराणहरु त भारतवर्षमा आर्यहरुको आगमनको शताब्दीयौं पछि लेखिएका हुन् । होलीपर्वको इतिहास हिन्दूधर्म भन्दा अवश्य जेठो हुनुपर्छ । हिन्दू मिथकमा होलीका नामकी एउटा पात्रको कथाप्रसँग आउँछ । कुनै उटपट्याङले होलीपर्वलाई होलिकासँग जोडिदिएको होला । होलीको सम्बन्ध हिन्दू मिथकसँग होइन, प्रकृतिसँग छजस्तो लाग्छ ।
शिशिर ऋतुको प्रस्थानपछि प्रकृतिमा आउने परिवर्तनको प्रतिविम्बन होलीपर्वमा देखिन्छ । हल्का वर्षा (प्रिमन्सुन) सुरु भएपछि रुखविरुवामा पालुवा लाग्न थाल्छन् । मैदानी घाँसका पिपिराहरु पलाउन थाल्छन् । रङ्गिविरङ्गी फुलहरु फुल्न थाल्छन् । आप्रबासी चराहरुको उत्तरायण यात्रा सुरु हुन्छ । प्रकृतिमा आएको नयाँ परिवर्तनले वातावरण नै रङ्गिन हुनथाल्छ । हो त्यही मनोरम प्राकृतिक परिवर्तनको स्वागत र उमङ्गको अभिव्यक्ति होली पर्व अर्थात रङ्गहरुको चाडमा अभिव्यक्त हुन्छ ।
स्थानीय र आयातित सबै खालका पर्व उत्सवहरुलाई हिन्दूकरण गर्ने मनशायबाट तिनलाई कुनै न कुनै प्रसँग मिल्दो मिथकसँग जोड्ने र धार्मिक रुप दिने चलन चलाइएको हो । जे जसरी प्रारम्भ भएका भए पनि पर्व उत्सवहरुको रङ्गिलो वातावरणमा मानिस रङ्गिन्छ । त्यसको वास्तविकताको खोजीनितो गर्ने चासो राख्दैन । सबै पर्व उत्सवहरुको आ–आफ्नै विशिष्ट मौलिकता छ । भिन्न परम्परा छ । फरक पृष्टभूमि छ । फुर्सद र हैसियत हुनेहरु सबैलाई पर्व उत्सवहरुमा सामेल हुने र मनाउने रमाउने स्वतन्त्रता छ । बिर्सन नमिल्ने र हेक्का राख्नै पर्ने कुरा के हो भने पर्वमा रमाउने तौर तरिका र व्यवस्थाका सन्दर्भमा विशेष मर्यादा र सिमा हुन्छन् ।
होली भनेको रङ्गको पर्व हो भन्दैमा असम्बन्धित र अपरिचितलाई रङ्ग दल्नु अभद्रता हो । जसरी मनलाग्नेलाई रङ्गखेल्ने अधिकार छ अर्कोलाई खेल्दिन भन्ने स्वतन्त्रता पनि उत्तिकै हुन्छ । कसैको इच्छाविपरित हस्तक्षेप गर्नु पर्वको मर्यादा र सिमा उल्लङ्घन गर्नुृ हो । होली पारीवारिक पर्व हो । रङ्ग खेलको प्रारम्भ घरबाट गरिन्छ । घर, परिवार, समूह र समुदायभित्र मात्र खेलिने यस पर्वको मर्यादित परम्परा हो । सायद, पछिल्लो समयमा वेनीबजारमा “मंका खलले” होलीको त्यही मर्यादित परम्पराको अनुकरण र अनुशरण गर्न खोजेको होला । त्यस्तो चेष्टालाई सराहनीय मान्नु पर्छ । मर्यादा भनेको बन्धन हो ।
डोरी बलियो भएन भने दाम्लोमा डिंगो पनि अडिदैन । मादक पदार्थको सेवनका कारणले रंगिलाहरुलाई अनियन्त्रित र अमर्यादित बनाउँछ । सामाजिक मर्यादाको बन्धनमा बाँधिएर रहेका मान्छेका अवचेतन भावना, कुण्ठा र प्रवृत्तिहरुलाई नसाले फुक्काफाल बनाइदिन्छ र सार्वजनिक गरिदिन्छ । मान्छेभित्र देवत्व र राक्षसी प्रवृत्ति दुबै हुन्छ भनिन्छ । मर्यादाको लक्षणरेखा उल्लङघन भए पछि राक्षसी प्रवृत्तिको प्रदर्शन हुनु अस्वाभाविक मानिदैन ।
हुनत बितिसकेको घटना उधिन्नु “चिहान उत्खनन” गर्नु जस्तै व्यर्थ चेष्टा हो भनिन्छ । तर कहिले कहीँ सानो र अनपेक्षित घटनाले पनि लामो समयसम्म मानवसमाजलाई उद्वेलित बनाउँदो रहेछ । यस वर्षको होली मनाउने सन्दर्भमा वेनीबजारमा घटेको सानो घटना यतिबेला फेसबुकमा भाइरल बनेको छ । पक्षविपक्षमा तर्कवितर्क भैरहेका छन् । त्यहीे आलो काँचो बहसमा उत्रन मनले नमाने पनि हरेकपटक फेसबुक एकाउण्ट खोल्दा स्वभावत आँखा परिहाल्छन् । भूल्न बिर्सन खोजेर पनि नसकिने भएको छ । हेर्दिनभन्दा पनि दृष्टिहरु स्वभावः तानिन्छन् । वालमा कुँदिएका अमर्यादित अक्षरहरुले मनमा कतै चसक्क घोचेजस्तो अनुभूति हुन्छ ।
वेनीसँग सम्बन्धित पुराना घटनावलीहरु तरेली परेर दृश्यमान हुन थाल्छन् । निभिसकेको आगोलाई हावा दिने दुराशय किमार्थ होइन । बरु समाजलाई नसिहत नभए पनि सतर्कता अपनाउने चेतना र सल्लाह सुझाव होला कि भनेर केही अक्षरहरु यो स्तम्भमा खर्चन मन लागेको हो ।
बेनीको उजाड बगर आवाद गरेको नेवार समुदायले नै हो । कुनै जमानामा वेनी सम्पूर्णतः नेवारहरुको थियो । त्यो सास्वत इतिहास हो तर अब अवस्था दुरुस्त त्यस्तै छैन । अन्यान्य जातजाति र थरगोत्रीहरुको बढदो आवादीले संस्थापक नेवार समुदायलाई अल्पमतमा पारिदिएको छ ।
एउटा साँचो कुरा के हो भने अझसम्म पनि नेवार समुदायमा “वेनी हाम्रो हो । हामी रैथाने हौं, र अरु सबै आप्रवासी (छपाली) हुन्” भन्ने भावना संस्कारगत रुपमा जीवित छ । त्यसैले बोली र व्यवहारमा अरुलाई हेप्ने, हियाउने प्रवृत्ति मेटिएको छैन । अन्य जातिबन्धुहरुलाई असभ्य र जङ्गली सम्झने संस्कार सुषुप्त रुपमै भए पनि अस्तित्वमा छ । सबैमा नहोला, कसै कसैमा छ । अल्पमतमै भए पनि छ । यो पनि शास्वत सत्य हो । हो त्यस्तो भावना मानिसहरुमा रहन्छ । त्यो स्वाभाविक मानवीय प्रवृत्ति हो ।
संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिको उमेदवारी हासिल गर्ने अभियानमा रहेका डोनाल्ड ट्रम्पले मुश्लिमलाई अमेरिका प्रवेशमै प्रतिबन्ध लगाउनु पर्ने धारणा सार्वजनिक गरेका छन् । स्वतन्त्रताको पर्याय मानिने मुलुकको सम्भावित राष्ट्रपतिमा त त्यस्तो साम्प्रदायिक भावना हुँदो रहेछ भने सर्वसाधारण त्यसबाट मुक्त हुन गाह्रो पर्नु स्वाभाविकै हो । त्यस्तो क्ष्ुाद्र भावना र संस्कारलाई नियन्त्रण गर्ने बुद्धि, चेतना, सभ्यता, शिष्टता जस्ता सुसंस्कारले हो । ती तत्वहरुको उपयुक्त मात्रा नपुग्दा मानव प्रवृत्तिमा स्वभावतः कोर्कालीपन विकसित भैदिन्छ । मनभित्र दबिएर रहेको संस्कारगत भावना र प्रवृत्ति मौका पाउनासाथ सार्वजनिक रुपमा प्रकट भैदिन्छ । व्यक्तिगत मात्रै होइन त्यस्तो प्रवृत्ति समूहगतरुपमै पनि वेलामौकामा सार्वजनकि हुन लाज मान्दैन ।
म आफैले पनि सिङ्गो उमेर खपाएको ठाउँ हो वेनी । मेरा आफ्नै ज्ञानेन्द्रीयहरुले त्यस्ता घटनाहरु अनगिन्ति देखे, सुनेका र अनुभूत गरेका छन् । मेरो मनले त्यस्ता अनेकैो कटु अनुभूतिहरुसँग साक्षात्कार गरेको छ । मेलापर्वमा वा दारुको नशामा रहेको बेलामा मात्र होइन सामान्य अवसरका दैनिक विधिव्यवहारमा समेत त्यस्तो प्रवृत्ति प्रकट हुनेगर्छ ।
छोराको लागि भनेर अघिल्लो दिन किनेर लगेको एकजोडी चप्पल छोराले मनपराएन भनेर भोलपल्टै फिर्ता गरिमाग्न आएको पुरुण्डीको दमाई दाइले हुलाकचोकमा रगतपच्छे हुनेगरी साहुबाट पिटइ खाएको देखेको छु । आफूसँग उधारो लिइएको भ्mयाल, ढोका, खापाहरुको पैसा भाकामा तिरिएन भन्ने निहुमा बनिबनाउ घरमा गल,, घन बेल्चा हानेर फुकाल्न गरिएको तामसी प्रयत्न पनि मेरा आफ्नै आँखाले देखेका छन् । सानो रकममा धरौटी राखिएका गरगहनाहरु भाका नाघेको निहुँमा साहुले गालपोल गरिदियो भनेर आँसु चुहाउने आमादिदी बैनीहरु पनि देखेको छु । महङ्गो व्याजमा लिएको ऋणसापटमा गैरीखेत गुमाएर लालाबालालाई भोकै राख्नुुपर्ने अवस्थामा पुगेका गाउलेहरुको कथा पनि सुनेको छु । एकपटकको मंकाखलको होलीको अत्याचार म आफैले पनि भोगेको व्यहोरेको छु ।
रङ्ग दलिमाग्न नमानेवापत मेरो एकजाना आफन्तलाई रगतपच्छे हुने गरि मंकाखलको टोलीले पिटेछ । त्यो अमानवीय अत्याचारको विरुद्धम पुलिसमा रिपोर्ट गर्नमा सघायो भनेर वेनीको सिङ्गो नेवार समुदाय ममाथि खनियो । हातपात र कुटपिटको जमर्को गरियो । त्यो पनि पुलिस ठानाभित्रै ! त्यो केबल भाङ्को नशाको लहड मात्र थिएन । किनकि त्यो टोलीमा आजको बेनी बजारको नेवार समुदायका प्रतिष्ठित, भद्रभलाद्मी, बुद्धिजीवि, मानवधिकारवादी, नेता र समाजसेवी सबै सामेल थिए । आजका मितिसम्म कुनै एकजनाले पनि मसँग नशाको तुजुगमा गल्ती गरियो भनेर दुख मनाउ गरेन । माफी मागेन । त्यसको अर्थ त्यसो गर्न पाउनु आफ्नो समुदायको नैसर्गिक अधिकार हो भन्ने मान्यता सिङ्गो समाजमा रहेछ भन्ने लाग्दैन कसरी भन्न मिल्छ र ? घटना सानै भए पनि वेनीको नेवार समुदायको दृष्टिमा महत्वहीन भए र उनीहरुलाई स्वाभाविक र सामान्य लागे पनि मलाई भने हरेक होलीका दिनले त्यो घटनाको नमिठोपनको स्मरण गराइरहन्छन् ।
अवश्य मंकाखलको टोलीमा अपरिचित समुदायको मानिसले पानी छयाप्नु गल्ती थियो । तर गल्तीको सजायँ दिने अधिकार समुदायको होइन । कानुन आफ्नो हातमा लिने प्रवृत्ति सामन्ती सोच र संस्कृतिको कुरुप नमूना हो । होलीको त निहुँ मात्रै हो, समाजमा समुदायको धाक र रवाफ कायम गर्ने मनशाय र प्रवृत्तिको भद्दा उदाहरण हो । हाम्रो समाजमा “बलेको आगो ताप्ने” पुरातन चलन अभ्यासमा छ । बजारका हुनेखानेहरुका विरुद्धमा पुलिस प्रशासनतिर कतै सुनुवाई भएन भने पनि आश्चर्य मान्नु पर्दैन । ममाथि हातपात गर्न उद्यत समूहका नाइकेले “तिम्रो आफन्त पिटियो भन्दैमा पुलिसमा रिपोर्ट लेखाउनुभन्दा पहिले हामीसँग(नेवारसमुदायसमक्ष) कुरो राख्नु पथ्र्यों” भनेको कुरा आजसम्म पनि मेरो स्मरणमा ताजै छ ।लेखमा उल्लेखित विचारहरु लेखकका निजी विचारहरु हुन । नवविकल्प साप्ताहिकको अंक २७ मा प्रकाशित
1 thoughts on “होलीको निहुँमा सामुदायिक “हैकम” प्रदर्शन !”