पुराण र पौराणिककालसँग “गलेश्वर”को साइनो

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूजchandraparkash baniya

‘सूर्यदेवले पृथ्वीको परिक्रमा गर्छन्’ भन्ने मान्यतामा विश्वास गर्ने जमाना पनि थियो । ‘पृथ्वी नाङ्लोजस्तो च्याप्टो छ’ भनेर समेत मानिसले धारणा बनाएको थियो । कालान्तरमा मानव ज्ञान र चेतनाले त्यस्ता मान्यताहरुलाई गलत ठहराई दियो । प्रमाणिक वैज्ञानिक तथ्यसँग काल्पनिक मान्यताहरु पराजित भए ।

सूर्यले पृथ्वीलाई होइन, पृथ्वीले र्सूयको परिक्रममा गर्ने तथ्य प्रमाणित भयो । सौर्यमण्डलका अन्य ग्रह पिण्डहरुजस्तै पृथ्वी पनि गोलो छ, च्याप्टो होइन भनेर मान्न कर लाग्यो । धर्मशास्त्रद्वारा स्थापित मान्यताहरु खण्डित भए । वैज्ञानिक तथ्यसँग धर्मग्रन्थका मान्यताहरु पराजित भएर गलत प्रमाणित भए पनि “सत्यको जित हुन्छ” भन्ने मान्यता भने झन बलियो भयो । त्यसैले भन्नै पर्छ कि सत्य सबभन्दा बलवान हुन्छ । सत्यका अगाडि धार्मिक मान्यता र परम्पराहरु पनि पराजित हुन्छन् । सतखोजको त्यो सिलसिला निरन्तर जारी छ ।IMG_0057
यसपटक “गलेश्वर” को पौराणिकताको सम्बन्धमा अलिकता चर्चा गर्न मन लाग्यो । कोही कसैको धार्मिक आस्था र विश्वासमा आघात पु¥याउने उद्देश्ले होइन, सत्य उत्खननको सतप्रयाशस्वरुप कलम चलाउने धृष्टता गरिएको हो । सत्य सधै सत्य नै रहन्छ । अज्ञानता र आग्रहबस केही समय सत्यलाई ओझेलमा पारेर भ्रम सिर्जना गर्न सफल भए पनि ढिलोचाँडो सत्य अनावृत्त भएरै छोड्छ । झुठको आधारमा चुलिएको महिमा मण्डन चीरस्थायी हुँदैन । गलेश्वर शिवभक्तहरुको आस्थाको केन्द्रको रुपमा विकसित हुदै गैरहेको छ । त्यो राम्रो कुरा हो । यसले स्थानीय अर्थतन्त्रको स्वास्थ्यमा अनुकूल प्रभाव पार्ने छ भन्ने कुरामा कुनै सन्देह छैन । तर यतिबेला गलेश्वर स्थापनाको सन्दर्भमा जेजस्तो प्रचार गरिदै छ त्यसमा भने सत्यता छैन ।
शालग्राम शिलालाई हिन्दू धर्मग्रन्थहरुमा नारायणको प्रतिविम्वको रुपमा मानिएको छ । गलेश्वरको विशाल शिलाखण्डमा यत्रतत्र शालग्रामहरु जडिएको देखिन्छ । त्यही आधारमा गलेश्वर नारायणधाम हुनुपर्छ भन्ने तर्क स्वघोषित मुक्तिधाम पिठाधीस श्री कमलनयनाचर्यजीले गर्दै आएका छन् र उनकै पहलमा नारायण मन्दिर पनि बनाइएको छ । पौराणिक कथनका आधारमा उनको भनाईसंग असहमत हुन नसिकए पनि गलेश्वरलाई शिवधाम मान्न मिल्दैन भनेर ठोकुवा गर्न भने सकिदैन । मुश्लिम धर्मालम्बीहरुको पवित्र तीर्थस्थल मक्का मदिनामा “शिवलिङ्ग” स्थापित छ । राम जन्मभूमि अयोध्यामा ऐतिहासिक “बाबारी मस्जिद” थियोे । धर्मान्ध धर्मभिरु हिन्दूहरुले मस्जिद भत्कादिए पनि त्यो ठाउँमा नयाँ राममन्दिर बनाउने कि बाबरी मस्जिदको पुनर्निमाण गर्ने भन्ने विवाद जारी छ ।

धर्म मानिसको आस्था हो । आस्थासँग स्थानविशेषको कुनै साइनो सम्बन्ध रहँदैन । काठमाडौंको नेवार समुदायमा चर्पीमा पनि एउटा देवता स्थापना गर्ने चलन छ । नेपालका कैयौं मठ मन्दिरहरु हिन्दु र बुद्धधर्मका साझा गन्तव्यस्थल मानिनुको कारण त्यही हो । त्यसैले अब यतिबेला गलेश्वर शिवधाम हो कि नारायणधाम ? भनेर विवाद गर्नुको कुनै अर्थ छैन । मान्छेको आस्थालाई लाठी लगाएर खेद्न मिल्दैन ।
एउटा तितो सत्य के रहेको छ भने गलेश्वरको साइनो सम्बन्ध कुनै पनि हिन्दू धर्मग्रन्थहरुसँग कहीँ कतै जोडिएको भेटिदैन । यतिबेला प्रचारमा आएजस्तो “सतीदेवीको गला पतन” भएर बनेको शिवपीठ यो होइन । शिवपुराण, स्वस्थानी व्रतकथा वा शिव सम्बन्धी कुनै पनि पुराना ग्रन्थहरुमा सतीदेवीको गलापतन भएको ठाउँमा शिवपीठ बनेको प्रसँग भेटिदैन । काली गण्डकी र गोमती नदी (म्याग्दी) को संगमलाई पुलह–पुलस्त्याश्रमको रुपमा हिन्दूधर्मग्रन्थहरुले मान्यता दिएका छन् । बाह््र सयभन्दा बढी हिन्दू तीर्थस्थलहरुमध्ये नेपालमा पाँचवटा मात्र पर्दछन् र ती पाँचमध्येको एउटा पुलह–पुलस्त्याश्रम पनि हो । काली म्याग्दीको संगमलाई पवित्र तीर्थस्थल मानिएको छ । अर्थात यो क्षेत्र हिन्दू पुराणहरुले चिनेको ठाउँ हो । यदि सतीदेवीको गलापतन यो क्षेत्रमा भएको हुँदो हो भने ती ग्रन्थहरुमा कहीँ कतै स्पष्ट उल्लेख गरिने थियो ।
वि.सं १८४५ मा पर्वतराज्य गोर्खाको अधीनमा परेको हो ।

त्यसभन्दा अघि यस क्षेत्रमा “सोह्र हजार पर्वत” नामको चौबीसी राज्य अस्तित्वमा थियो । वम मल्लवंशद्वारा स्थापित पर्वतराज्यको राजधानी वेनी थियो । तीनसय पचासवर्षसम्म अविछिन्न रुपमा अस्तित्वमा रहेको पर्वतराज्यमा भाषा साहित्यको उन्नयनको प्रशंसायोग्य प्रयत्न भएको ऐतिहासिक प्रमाण भेटिन्छ । राजा मलेवम्बका दरावारीया पण्डितहरुले संस्कृत र पर्वते (नेपाली) भाषामा आधा दर्जनभन्दा बढी ग्रन्थहरु रचेका र अनुवाद गरेका थिए । त्यस कालखण्डमा लेखिएका मल्लवंशको वंशावली, मलेवम महात्म्य, मल्लादर्श आदि ग्रन्थहरुमा कतै पनि गलेश्वरको उल्लेख भएको छैन । चौबीसी राज्य पर्वतको जेठो शिवमन्दिर वेनी दोविल्लास्थित शिवालय नै हो । उक्त शिवालय वि.सं १७७७ तिर निर्माण भएको हो भनेर मानिन्छ । दोविल्लाको शिवालय मन्दिर स्थापना हुनुपूर्व पर्वत राज्यसिमा अन्तर्गत अन्यत्र कतै अर्को शिवमन्दिर अस्तित्वमा भएको प्रमाण फेला पर्दैन । पर्वत राज्यकाल वा त्यसभन्दा अघि गलेश्वरधाम स्थापित भएको हुन्थ्यो भने कमसेकम राज्यका तर्फबाट गुठी राखिएको हुनुपर्ने हो । त्यस्तो केही देखिदैन । वास्तवमा गलेश्वरको पहिचान भएको समयकाल नेपाल एकीकरणपछि मात्रै हो । अर्थात गलेश्वरको जन्म वा स्थापनाको आयु दुई÷अढाई सय वर्षभन्दा पुरानो मान्ने आधार फेला पर्दैन ।
हालको वेनी नगरपालिका वडा नं. ११ पुलाडाँडाको बस्तीको पुछारमा “गले बिसौना” नामको सानो चौतारी छ । विसौना, चौतारी, पँधेरो, पोखरी, बाटो, सत्तल, पाटी, पौवा आदि निर्माण गनेृ पुरानो चलन हो ।

त्यो बिसौनो पनि कुनै धार्मक स्वभावको व्यक्तिले बनाएको हुनुपर्छ । खोजीको विषय के हो भने त्यो बिसौनाको नाम किन कसरी “गले विसौना” हुन गयो ? अवश्य त्यो नाम निर्मातासँग जोडिएर आएको हुनुपर्छ । गलेश्वर र गलेविसौनाको व्युत्पत्तिमा कुनै साइनो सम्बन्ध पो थियो कि ? “गले” अल्छी भन्ने भावाव्यक्तिको लागि बोलीचालीमा प्रयुक्त हुने खसभाषाको विशेषणबोधक शब्द हो । जुवामा नार्न खोज्दा थचक्क बसिदिने बहरलाई गले नामले पुकारिन्छ । सांसारिक विधि व्यवहारमा रुचि नभएको अर्थात घरजम, खेतीपाती र वन्दव्यवशायबाट विरक्त भएर एकान्तबास रुचाउने कुनै मानिसलाई समाजले “गले” भनेर बोलाउने गरे होला । एकान्तमा बस्ने, गाँजा भाङ आदि सेवन गर्नेलाई “गलेबाबा” भन्न थालिएको होला । कालान्तरमा तिनै गलेबाबा “देवता” मानिए होलान् । “गले इश्वर” भनिए होलान् । गलेश्वर बाबा रहनेबस्ने ठाउँले कालान्तरमा गलेश्वरधामको नाम पाएको होला । गलेश्वरधाम र गलेविसौनाको स्थापना एउटै मानिसबाट भएको हुन सक्तैन भन्न मिल्दैन । पुराण र पौराणिक कथनहरुसँग गलेश्वरको कुनै साइनो सम्बन्ध रहेको प्रमाण फेला नपर्ने हुनाले बरु गलेबाबाको अस्तित्वको खोजी गर्नु आवश्यक छ भन्नु आग्रह ठहर्छजस्तो लाग्दैन ।

गलेश्वर काली गण्डकी र राखुगाडको सङ्गममा अवस्थित छ । राखुगाडको अपभ्रंस “रहुगाड” हुदैं “राउगाड” हुन गएको छ । रहुगाडको ध्वनीसमता श्रीमदभागवतको एउटा पात्र रहुगणसँग मिल्न जाने हुनाले जडभरतको तपस्याभूमिको रुपमा पनि यसको व्याख्या गर्न थालिएको छ । पछिल्ला गलेश्वरबाबाले नदी किनारको पहराको सानो कोप्चोलाई “जडभरतगुफा”को नाम दिएका हुन् । श्रीमदभागवतको पाँचौं स्कन्धको दशौं अध्यायमा रहुगण राजाको प्रसंग आउँछ । उनलाई “सिन्धु सौवीर”का राजा थिए भनेर स्पष्ट उल्लेख गरिएको छ । सिन्धु उपत्यका यतिबेलाको पाकिस्तानमा पर्दछ ।

जडभरत र रहुगण राजाको भेट भएको स्थान “इच्छुमति (सरस्वती)” नदीको किनार हो भनेर पनि लेखिएको छ । प्राचीन सरस्वती नदी भनेको हालको इरानमा बग्ने “हेलमण्ड” नदीकै पुरानो नाम हो भनेर मानिन्छ । पाकिस्तानी भूभागका एउटा सानो राज्यका रजौटा रहुगण पालकीमा बोकिएर गलेश्वर वरपर भौतिरिए होलान् भनेर पत्याउन सकिदैन ।
पछिल्लोपटक गलेश्वरधाममा राजा भरतको पाषण मूर्ति स्थापना गरियो रे भन्ने सुनिएको छ । हो, राजा भरतले पुलस्त्य–पुलहाश्रम नजिक कतै सन्यासी जीवन बिताएका हुन् भनेर पनि श्रीमदभागवतमा लेखिएको छ । साँचो कुरा के हो भने पुलस्त्यसँग नाम जोडिएका तीनवटा आश्रमहरुको जानकारी हिन्दू धर्मग्रन्थहरुमा भेटिन्छ ।

एउटा पुलस्त्यआश्रम कालीगण्डकीको उत्पत्तिस्थल हिमालयतिर कतै थियो भनिन्छ । अर्को एउटता कृष्णा गण्डकी र गोमती नदीको किनारमा “पुलस्त्य–पुलहाश्रम” को नामले चिनिन्छ र तेश्रो पुलस्त्य–आश्रम काशीमा रहेको कुरा “भृगुसंहिता”मा उल्लेख भएको छ । राजा भरतले बुढयौली बिताएको आश्रम तेश्रो अर्थात काशीको हुनपर्छ । किनकि राजा भरतसँग कृष्णसार (द्यीब्ऋप्द्यग्ऋप्) को प्रसंग पनि आउँछ । कृष्णसार अर्थात कालो मृग गर्मी इलाकामा बस्ने मृगको एउटा प्रजाति हो । नेपालको “वर्दीया राष्ट्रिय निकुञ्ज”मा अझसम्म यसको अस्तित्व छ ।
तीर्थस्थल र धार्मिक धामहरुको महिमा मण्डनका लागि पौराणिक कथनहरुसँगको साइनो सम्बन्ध खोजीरहनु पर्दैन । पशुपतिनाथको कति ठूलो महिमा र मान्यता हिन्दूधर्मावलम्बीहरुबीच रहेको छ भन्ने कुरा सबैको जानकारीमा छ । पशुपतिनाथको पौराणिक कथाप्रसँगहरुसँग साइनो जोडिदैन । विक्रमको पाँचौं शताब्दीतिर लिच्छवीराजा भाष्कर वर्माले पशुपतिनाथको स्थापना गरेका हुन भनेर इतिहासले मानेको छ । अर्थात पशुपतिनाथको आयु पन्ध्रसय वर्ष वरपरको छ । पशुपतिनाथको प्रख्यातिको लागि कुनै पौराणिक आख्यानको सहारा लिनु परेको छैन । पुराणहरुसँग सम्बन्ध देखाएर जति बल गरे पनि पशुपतिनाथको उचाईमा गलेश्वर पुग्न सक्तैन । त्यसैले झुठको सहरामा होइन, वास्तविक तथ्यको आधारमा गलेश्वरको चर्चा वा प्रचारप्रसार गर्नु बुद्धिमानी हुन्छ भन्ने मेरो मनोग्राह मात्रै हो । विवेक आ–आफ्नै । नवविकल्प साप्ताहिकको अंक २६ मा प्रकाशित