ताजा समाचार:
Search

नेपाल र अमेरिका ः सैद्धान्तिक र व्यवहारिक राजनीति बीचको अन्तर

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज,

chandraparkash baniya

“अमेरिकी मतदाताहरुले उमेदवारको कुरा कानले होइन, पेटले सुन्छन्” !
१० मार्च २०१६ को “इन्टरन्यासनल न्युयोर्क टाइम्स” मा प्रकाशित अमेरिकाका एकजना सुप्रसिद्ध राजनीतिक विश्लेषक थोमस एल. फ्रेडम्यानको आलेखबाट लिइएको उद्धरण हो यो । यतिखेर संसारको सबभन्दा आकर्षक “स्वप्न गन्तव्य” को रुपमा लिइने संयुक्त राज्य अमेरिकामा आयोजित हुने आगामी राष्ट्रपतीय निर्वाचनका लागि पार्टीका तर्फबाट “नामाङ्कन” प्राप्त गर्ने अभियानमा उमेदवारीका आकांक्षीहरुबीच घमासान युद्ध चलिरहेको छ ।

अभियानको प्रारम्भिक चरणमै डेमोक्रेट हिलारी क्लिन्टन र रिपब्लिकन डोनाल्ड ट्रम्प आ–आफ्ना पार्टीको अग्र पंक्तिमा स्थापित भैसकेका छन् । मनोनयन प्राप्त गर्ने होडबाजी उत्कर्षमा छ । प्रजातन्त्रको उदाहरण मानिने अमेरिकाको राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक चरणमा अर्को एउटा विचित्रको तमाशा पनि देखिएको छ ।

एकपछि अर्को राज्यमा निरन्तर समर्थन जुटाउन सफल हुँदै गएका जनताबीच लोकप्रिय डोनाल्ड ट्रम्प आफ्नो पार्टीभित्र भने अलोकप्रिय मानिन्छन् । खाट्टी रिपब्लिकनहरुले उनलाई पटक्कै रुचाउँदैनन् । पार्टीका पुराना÷ नयाँ सबै घाघडान नेता कार्यकर्ताहरुले उनले मनोनयन नपाए हुन्थ्यो भन्ने आशय र कामना सार्वजनिक रुपमै अभिव्यक्त गरिरहेका छन् । राष्ट्रपतिका पूर्व उमेदवारद्वय मेकन र रोमनीले त उनलाई राष्ट्रपति हुनलायक नै ठान्दैनन् ।

रोमनीले एक सन्दर्भमा ट्रम्पलाई “ठग” भनेर सार्वजनिक रुपमा आलोचना गरेका थिए । जसले जेजे भने पनि “भुक्दै गर्छ, हात्तिको गति रोकिदैन” भनेजस्तै ट्रम्पको विजय अभियानलाई त्यस्ता आलोचना र टिप्पणीहरुले कुनै असर गरेको देखिदैन । आफूप्रति लक्षित त्यस्ता कटाक्षहरुलाई “हरुवाहरुको इष्र्या” को निरीह अभिव्यक्ति भनेर उपेक्षा गर्ने ट्रम्पको अभियान निरन्तर लक्षभेदनतर्फ उन्मुख देखिन्छ । हो, उनै ट्रम्पको बढ्दो लोकप्रियताको सन्दर्भमा फ्रेडम्यानले उल्लेखित टिप्पणी गरेको हुन् ।
फ्रेडम्यानको उल्लिखित टिप्पणीले एउटा कुरा के खुालासा गरेको छ भने आम अमेरिकहरुको चिन्ता र सरोकारको विषय पनि हाम्रोजस्तै रोजीरोटी नै हुँदो रहेछ । फरक कति मात्रै हो भने हामी नेपालीहरु रोजगारीको अवसर मुलुक बाहिर खोज्छौं । त्यसो गर्नु हाम्रो वाध्यता पनि हो । तर अमेरिकीहरु भने आफ्नै मुलुकभित्र परिवारको पेट भरिने अवसर सिर्जना होस् भन्ने चाहन्छन् । हामी नेपाली र अमेरिकीहरुको राजनीतिक बुझाई बीचको अन्तर त्यहीनेर फरक पर्दो रहेछ । हामीकहाँ राजनीतिलाई पेशा मान्ने चलन छ ।

राजनीतिक नेता कार्यकर्ताहरुले अतिरिक्त पेशा व्यवशाय विना नै कुस्त सम्पत्ति आर्जन गर्नु नाजायज मानिदैन । नेपाली काँग्रेसको आन्तरिक निर्वाचनमा मतदाताहरुको रोजाईको शीर्ष स्थानमा अदालतबाट डामिएका भ्रष्टहरु पर्नुले त्यसलाई अपराध मान्ने परम्परा झन परको विषय भैहाल्यो भन्ने कुरालाई पुष्टि गर्छ । भ्रष्ट आचरण विशिष्ट पुरुषार्थ मानिन्छ ।

पुरुषार्थी र पौरखीहरुले समाजमा सम्मान पाउनु स्वाभाविक मानिने नै भो । म्याग्दी जिल्लाका एकजना पूर्व सभापतिले सत्तारुढ भएको दोश्रै वर्ष पर्वत मल्लाजको बगरफाँटतिर कतै आफ्नी दिदीको नाममा घरघडेरी जोडेको उदाहरण अघिसारेर मेरा एकजना हितचिन्तक आफन्तले “ तेरो पार्टीको फलानो त पुरुषार्थी रहेछ ! एकै वर्षमा सदरमुकाममा घरघडेरी जोडिसक्यो !! तैंले भने सांसद भएर पनि शहरबजारतिर एउटा झुपडीसम्म बनाउन सकिनस् !!!” भनेर इख्याउन खोज्नु भएको प्रसङ्ग मेरो स्मरणमा ताजै छ ।

हामीकहाँ मानिसको सोझोपन र इमान्दारितालाई नामर्दपन ठह¥याइन्छ । मेरा आफन्तको कुरा मात्रै होइन, सग्लो समाजमा विकसित भएको आम मान्यता हो त्यो । राजनीतिको उच्च ओहोदामा पुग्नु भनेको कमाई गर्ने अब्बल अवसर प्राप्त गर्नु हो भनेर समाजले स्वीकारेको छ, मान्यता दिएको छ ।
अमेरिकामा भने राजनीतिक नैतिकतालाई फरक ढङ्गमा बुझिँदो रहेछ । हामीकहाँ जस्तो पेशेवर राजनीति गर्ने चलन अमेरिकामा रहेनछ । साह््रै थोरै मान्छे मात्रै कलिलो उमेरदेखि राजनीतिमा लागेका हुँदा रहेछन् । अधिकांश राजनीतिज्ञहरुले व्यवशायिक जीवनमा सफलता प्राप्त गरेपछि अवकासका सुनौला दिनहरु राजनीतिमा लगाउँन रुचाउँदा रहेछन । आफ्नो व्यवशायिक प्रौढता समाजसेवामा समर्पित गर्ने चाहना राख्दा रहेछन् ।

मतदाताले पनि कुनचाही उमेदवारले व्यवशायिक जीवनमा कुन स्तरको सफलता प्राप्त गरेको छ भन्ने आधारमा मत दिँदा रहेछन् । मनोनयन अभियानको शीर्ष स्थानमा रहेका रिपब्लिकन उमेदवार ट्रम्प र डमोक्रेटिक उमेदवार हिलारीको पेशा संयोगबस एउटै रहेछ । दुबैजना स्थापित रियलस्टेट व्यवशायी रहेछन् । बाबुबाट वंशानुगत उत्तराधिकारमा प्राप्त रियलस्टेट व्यवशायलाई उचाईमा पु¥याएर अरवपतिको सूचिमा सूचिकृत बन्न सफल भएका ट्रम्पले होटेल व्यवशायमा पनि सफलता प्राप्त गरेका रहेछन् ।

व्यवशायमा अपार सफलता प्राप्त गरेका ट्रम्प राज्य सञ्चालनमा पनि उत्तिकै कुशल प्रमाणित हुनेछन् भन्ने आशा र अनुमानले रिपब्लिकन मतदाताहरु उनीप्रति आशामुखी र आकर्षित भएका हुन् भन्ने सन्दर्भमा विश्लेषक फ्रेडम्यानले त्यसो भनेका रहेछन् ।
हामी नेपालीहरु भने उमेदवारको व्यवहार, व्यवशाय र इतिहास होइन, नीति, सिद्धान्त, दर्शन र आदर्शका मिठा व्याख्यान सुनेर धारणा बनाउँछौं । अमेरिकीहरु पेटले सुन्छन र दिमागले निर्णय लिन्छन् । हामी कानले सुन्छौं र मनले (भावनामा) निर्णय लिन्छौै । म्याग्दीमा सम्पन्न नेपाली काँग्रेसको पछिल्लो आन्तरिक निर्वाचन त्यसको गतिलो उदाहरण हो भन्नु अन्यथा ठहरिदैन ।

जीन्दगी व्यवशायमा खपाएका र अवकासको जीन्दगी समाजसेवामा लगाउन चाहने पाका परिपक्क उमेदवार भन्दा व्यवशायको “व” सँग परिचय नै नभएका, निजी जीन्दगीको सुनिश्चिता विहीन, उपार्जनको राम्रो सम्भावना देखनासाथ जुनसकेै बेला राजनीतिबाट पलायन हुनसक्ने आला काँचा, जीन्दगी र व्यवहारको अनुभव सून्य भएका उमेदवारहरु मतदाताको रोजाईमा परेको देखियो ।

त्यही कारणले त सफल व्यवशायिक जीवनको इतिहास बनाएका मानिसहरु पराजित हुन्छन् र स्कुल कलेज पनि नटुङ्गिएका तन्नेरीहरु विजयी बन्दा रहेछन् ।
म्याग्दीको कुरा मात्रै किन उदाहरण त केन्द्रीय निर्वाचनको पनि लिन सकिन्छ । गुटसंगठनका दृष्टिले महामन्त्रीको उमेदवारीमा अर्जुननरसिंह केसीको पक्ष बलियो देखिएपछि शसांकको पराजयको सम्भावनाले काँग्रेसभित्र चिन्ताको सुनामी नै देखिएको थियो । काँग्रेसवृत्तमा बरु गगनले जितिदिए हुन्थ्यो भन्ने चाहना पनि अभिव्यक्त हुन्थ्यो । दयालाग्ने कुरा त के थियो भने शसांकको सम्भावित पराजयको चिन्ता गर्नेहरुमध्ये व्यवशायिक रुपमा अन्त्यन्त सफल एउटा होनहार डाक्टरले निर्वाचन जित्नुपर्छ भन्ने मान्यता कसैले बनाएन ।

उनी विपीपुत्र भएको हुनाले उनको पराजयले कोइराला परिवारको साख धमिल्याउने पो हो कि भन्ने चिन्ता प्रबल थियो । उनले सार्वजनिक गरेको प्रतिगामी चिनतनका कारणले निर्वाचनमा पराजय हुन्छ कि भन्ने कसैले सोचेको देखिएन । सफल व्यवशायीले पार्टीसंगठनमा पनि आफ्नो कुशलता प्रदर्शन गर्ने आशा पनि कसैले राखेन । त्यो कोणबाट कसैले सोच्दै सोचेन ।
अन्तमा फेरि एकपटक म्याग्दीको राजनीतिक इतिहासतिर फर्कौं ।

राजनीतिक सम्भावनाको उत्तम उदाहरण मानिएका “निल तिलिजा” हरु राजनीतिबाटै पलायन भएको मात्रै होइन, भूमिगत भन्न मिल्ने प्रवासी जीवन बिताउन विवश बन्नुको कारणतिर हाम्रा दृष्टि पर्दैनन । त्यसलाई उपेक्षा गर्नुपर्ने विषय मानिन्छ । समस्याको अर्को पाटो के पनि रहेको देखिन्छ भने नेपालको सन्दर्भमा राजनीतिक कार्यकर्ताहरुको योग्यता र क्षमता उसको विज्ञता, अनुभव र वौद्धिकतामा होइन, उसको खटनको आधारमा मापन गरिने गलत परम्परा रहेको छ । यसपटकको मन्त्रीमण्डल अर्धशिक्षितहरुको भजन मण्डलीको अब्बल उदारण बन्यो भनेर आलोचना हुनुको कारणको जड पनि त्यही हो । झोला बोकेको अवधिको आधारमा नेता कार्यकर्ताको मूल्याङ्कन हुने परिपाटीले योग्य, सक्षम, र व्यवहारकूशल नेतृत्व स्थापित हुनै सक्तैन । डोनाल्ड ट्रम्प ६७ वर्षका भैसकेका रहेछन् । उनमा पार्टी संगठन वा सरकारी कार्यालयको प्रशासनिक सांगठनिक अनुभव कत्ति पनि रहेनछ ।

राष्ट्रपतिको उमेदवारीको पार्टीनोमिसनेसनका लागि राजनीतिक महासागरमा होमिदासम्म पनि आफ्नो व्यावशायिक साम्राज्यको प्रबन्धक आफै रहेछन् । अर्थात ट्रम्प रिपब्लिकन पार्टीका साधारण समर्थक र मतदाता मात्रै रहेछन् । नेपालमा जस्तो दुईखाले पार्टी सदस्यताको व्यवस्था अमेरिकामा रहेनछ ।

नेपालमा हुन्थ्यो भने ट्रम्पले राष्ट्रपतिको उमेदवार कुनै पार्टीको तर्फबाट बन्ने सपना देख्न पनि पाउँदैनथे । नेपालको सबभन्दा पुरानो र उदार लोकतान्त्रिक पार्टी भनिने नेपाली काँग्रेसमा पनि केन्द्रीय सदस्यको निर्वाचनमा उमेदवार बन्नका लागि उसको क्रियाशील सदस्यताको उमेर दश वर्ष नाघेको हुनपर्ने प्रावधान छ । त्यसैले पनि “ओठ निचोर्दा दूध आउने” उमेरदेखि राजनीतिको झोला बोक्नु अनिवार्य छ ।

त्यसो नगर्नेहरुले “चैतै”को बिल्ला भिर्नुपर्ने हुन्छ । राजनीतिक पद मर्यादालाई लामो सेवा पछिको निवृत्तिभरणजस्तो मान्ने चलन छ । त्यसैले होला राजनीतिमा रुचि भएका एकजना पूर्व सचिव हालसालै काँग्रेस त्यागेर नयाँशक्तिमा आबद्ध भएछन् ! नवविकल्प साप्ताहिकको २५ औ संस्करणमा प्रकाशित