ताजा समाचार:
Search

म्याग्दीका महाधिवेशन प्रतिनिधिहरुले कसलाई भोट दिन्छन् ?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज,
म्याग्दीका एकजना उदीयमान पत्रकारबन्धुले आफ्नो फेसबुकवालमा “म्याग्दीबाट निर्वाचित महाधिवेशनका प्रतिनिधिहरुले नेपाली काँग्रेसको आसन्न केन्द्रीय निर्वाचनमा ‘सिटौला–थापा’ को समूहलाई मत दिए हुन्थ्यो” भनेर सार्वजनिक अनुरोध गरेछन् । कुरो ठिकै पनि हो । गगन थापाले काँग्रेसको मात्रै होइन, भविष्यमा मुुलुककोे नेतृत्व लिने क्षमता राख्छन् भन्ने आशा जगाउन सफल भएका छन् भन्नु कुनै आग्रह ठहर्दैन ।

उनको उमेर समूहमा उनको बराबरीको राजनीतिक उचाई अन्य कुनै दलको कुनै पनि युवा नेता कार्यकर्ताले प्राप्त गर्न सकेको छैन भन्नु पनि थापाको अधिमूल्याङ्कन ठहर्दैन । गगन थापाले कुनै दिन मुलुकको नेतृत्व लिनेछन् र असल नेताको अब्बल उदारण स्थापित गर्नेछन् भनेर जुनसुकै राजनीतिक दल वा दर्शनमा विश्वास र आस्था राखे पनि हरेक नेपाली नागरिकले आशा अपेक्षा राखेको छ भन्नु पनि अतिशयोक्ति मानिदैन ।

nc

त्यसैले काँग्रेसप्रति आस्थावान जोसुकैले पनि यसैपटको निर्वाचनमा उनको टिमको विजय।श्रीको कामना गर्नु स्वभाविक मानिन्छ । कृष्ण सिटौलाले पनि आजसम्म पार्टीले सुम्पेको जिम्मेवारी कुशलतापूर्वत पूरा गरेर आफ्नो योग्यता प्रमाणित गरिसकेकाछन् । दुबै जनाले संविधानतः छिनोफानो भैसकेको गणतन्त्रको पक्षमा दह्रो खुट्टाले टेक्ने काँग्रेस नेताको रुपमा परिचय पनि बनाएका छन् ।

त्यसैले वैचारिक दृष्टिले पनि काँग्रेसलाई हाँक्न सक्ने क्षमता भएको टिम त्यही हो भन्न हिच्किचाउनु पर्दैन । तर यथार्थ वस्तुसत्यको कुरा गर्ने हो भने कृष्ण सिटौला र गगन थापाहरुले यसैपटक निर्वाचन जित्ने छन् भनेर कल्पना गर्नु नेपाली काँग्रेसलाई नबुझ्नु हो भन्नु अन्यथा ठहर्दैन । त्यो कामना यथार्थमा रुपान्तरण किमार्थ हुँदैन । हुन सक्दैन ।
अब एकछिन म्याग्दी काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले कुन पक्षलाई किन मतदान गर्ने छन् भन्ने विषयमा चर्चा गरौं ।
जसरी देशको सिङ्गो काग्रेस संस्थापन तर देउवा पक्षको रुपमा स्पष्ट दुई कित्तामा विभाजित भएको छ स्वभावतः म्याग्दी पनि त्यो रोगबाट अछुतो छैन । खासगरेर विपी कोइरालाको निधनपछि काँग्रेसमा कोइरालापरिवार र विपक्षी खेमाको रुपमा दुईवटा गुटहरु अस्तित्वमा देखिन थालेका हुन् ।

गणेशमान र कृष्णप्रसाद भट्टराई काँग्रेसमा सक्रिय रहुञ्ज्याल काँग्रेसको गुट विभाजनमा वैचारिक आधार थियो जस्तो देखिन्थ्यो र त्यतिबेला सेरबहादुर देउवा कोइराला परिवारको साथमा थिए । तर गणेशमानको निधनपछि देउवाको निकटता भट्टराईसँग बढ्यो । भट्टराई पार्टीबाट किनारा लागेपछि कोइरालाविरोधी खेमाको नेतृत्व देउवाले लिए र पहिलोपटक सुशिल कोइरालाई पराजित गरेर संसदीय दलको नेता बने । त्यही खेमा कहिले विपक्षी समूहको रुपमा पार्टी भित्र र कहिले प्रजातान्त्रिक काँग्रेसको नाममा पार्टीबाहिर रहेर आफ्नो गुटगत अस्तित्व अक्षुण राख्दै आएको हो ।

पार्टी एकीकरण पछि देउवागुटको नामले परिचित पक्ष काँग्रेसभित्रैको बलियो प्रतिपक्षीको रुपमा क्रियाशील रहँदै आएको छ । र सानो ठूलो आकारमा त्यो समूहको अस्तित्वले म्याग्दीमा पनि निरन्तरता पाउँदै आएको छ ।
पछिल्लो स्थानीय तहको निर्वाचनमा संस्थापन र देउवा समूहको स्पष्ट विभाजन म्याग्दीमा पनि देखिएको हो । दुई कित्तामा बाँडिएका काँग्रेस कार्यकर्ताहरुमा आ–आफ्नो कित्ता वा गुटगत संलग्नता र प्रतिबद्धता सार्वजनिक गर्ने होडावजी नै चलेको थियो । आफ्नो पक्षधरतामा कतैबाट कुनै किसिमको शंका नउठोस् भनेर वक्तव्यवाजी समते गरेको देखिएको हो । अर्थात क्षेत्रीय र जिलास्तरको निर्वाचनकै बेलामा स्पष्टरुपमा गुटगत हिसाबमा मत मागिएको र मतदान गरिएको हो ।

त्यसैले त्यतिबेलादेखि नै म्याग्दीका महाधिवेशन प्रतिनितिधिहरु आ–आफ्ना गुटहरुमा बाँडिएका, बाँधिएका र प्रतिबद्ध देखिएका हुन् । अर्थात देउवा वा संस्थापनपक्षलाई मत दिने प्रतिबद्धता सार्वजनिक गरेर निर्वाचनमा विजय प्राप्त गरेका हुन् । त्यसैले संस्थापन पक्षकै विद्रोहीहरु भए पनि गगनहरुलाई मतदिने हैसियत वा मनशायमा कोही पनि छैनन् । त्यस्तो हिम्मत उनीहरुले गर्न सक्तैनन् । हो, प्रत्येक महाधिवेशन प्रतिनिधिलाई आफै जुनसुकै पदमा निर्वाचन लड्ने वा मतदानगर्ने स्वतन्त्रता छ । कसैले त्यस्तो हिम्मत गरिहालेछ भने त्यसलाई अस्वाभाविक मान्न सकिदैन तापनि त्यसो गर्नु आफ्नो राजनीतिक भविष्य समाप्त गर्ने कारण बन्न सक्ने खतरा रहने हुनाले त्यस्तो शाहस कसैले देखाउला भनेर कल्पनासम्म गर्नु पनि व्यर्थ हुन्छ । “भेडा भेडाहरुसँग, बाख्रा बाख्रासँगै” भनेजस्तै सबै प्रतिनिधिहरु आ–आफ्ना गुटमा सामेल हुने छन् । आ–आफ्नो गुट नेतृत्वलाई मत दिनेछन् ।

गुटभन्दा यताउता हेर्ने चिहाउने हिम्मत कसैले गर्ने छैन । अर्थात म्याग्दी काँग्रेसजनहरुका निधारमा देउवा वा संस्थापनको रङ्ग स्पष्टसँग दलिइसकेको छ । गुटको बलियो साङ्गलोमा बाँधिएका छन् । दाम्लो चुडालेर बथानबाट बाहिरिने हिम्मत कसैसँग छैन ।
हो, यसपटकको निर्वाचनमा विचारका दृष्टिले गगन थापा–कृष्ण सिटौलाको टोली काँग्रेसभित्रको सबभन्दा प्रगतिशिल पक्ष हो । काँग्रेसभित्रको वामपक्ष भनेको त्यही समूह हो । वामराजनीतिको वर्चस्व रहेको नेपाली समाजमा काँग्रेसलाई वैचारिक हिसाबले दरो प्रतिद्वन्दितामा उतार्ने मनशाय राख्ने हो भने यसपटकको निर्वाचनमा त्यही विद्रोही समूहलाई विजयी बनाउनु पर्ने हो । तर त्यस्तो सम्भावना विल्कुल देखिदैन । कममसेकम म्याग्दीका प्रतिनिधिहरुले त्यो समूहलाई मत किमार्थ दिनेछैनन् भनेर निर्धक्क भन्न सकिन्छ ।

पहिलो कुरा त निर्वाचनपूर्व नै गुटराजनीतमा फसेका म्याग्दी प्रतिनिधिहरु त्यसबाट बाहिर निस्कने वा विद्रोह गर्ने हैसियतमा छैनन् । दोश्रो कुरा काँग्रेस र काँग्रेसीहरुलाई विचारले डो¥याउँदैन । विपी कोइरालाको अवसानसँग काँग्रेसमा विचारको पनि मृत्यु भैसकेको छ । तेश्रो कुरा म्याग्दीका प्रतिनिधहरुले जित्ने सम्भावना भएको गुटलाई मत दिनेछन् । अर्थात हार्ने निश्चित भएको टिमको पक्षमा उभिनु आफ्नो मत खेर फाल्नु हो भनी ठान्ने छन् । थापा–सिटौलाको टिम यसपटकको निर्वाचन जित्दैन भनेर ठोकुवा गर्न हिच्किचाउनु पर्छजस्तो लाग्दैन । बरु संस्थापन भनिएकाहरुले देउवा र देउवा पक्षका भनिएकाहरुले अर्को पक्षलाई मतदिन सक्ने छन् । “जस्ले जित्छ उही मेरो भाले” भनेजस्तो जित्ने सम्भावना भएको टिमलाई नै म्याग्दीको सम्पूर्ण मत पर्न पनि सक्नेछ ।

त्यस्तो सम्भावनालाई बरु इन्कार गर्न सकिदैन । त्यसैले पत्रकारबन्धुले इच्छाए जसरी म्याग्दीका मतहरु प्रवाहित हुन सक्तैनन् । त्यो नितान्त स्वैर कल्पना मात्रै हो । म्याग्दीको मत निर्णायक हुने छैन । जीतआरको अङ्क निश्चय नै त्यो भन्दा ठूलो रहने छ । तथापि आफ्नो मतले निर्वाचनको जय पराजय प्रभावित हुदैन भन्ने कुरा जानरे बुझेरै पनि गुट छोड्ने हिम्मत कसैले गर्ने छैन । म्याग्दी काँग्रेसको विभाजन विशुद्धरुपमा गुटको हो, विचारको होइन । चिनी नुनिलो र नुन गुलियो पनि कहिल्यै हुन्छ र ? नवविकल्प साप्ताहिकको अंक २४ फागुन २३ गते प्रकाशित