नेपाल-चीनबीच २० बुँदे सम्झौता, चाँडै नै ७ नाका पुन सञ्चालनमा आउने

विकल्प\कार्तिक १९ काठमाडौं ।

भारतको नाकाबन्दी खेपेको नेपालीलाई तत्काल राहतको लागि चीनले तातोपानी र रसुवागढी नाका थप सक्रियताको साथ पूर्णक्षमतामा सञ्चालमा ल्याउने बताएको छ । काठमाडौंमा बिहीबार सम्पन्न नेपाल-चीन तीन दिने भन्सार विभागको उच्चस्तरीय बैठकमा रसुवागढी र तातोपानी नाकालाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउने सहमति भएको हो ।
दुवै नाकालाई थप सशक्त र सवल बनाएर अघि बढाउन चीन तयार रहेको भन्दै नेपाल पक्षबाट पनि तत्काल काम आरम्भ हुनुपर्नेमा उनीहरुले जोड दिएको एक अधिकारीले बताए । नाकाको स्तरोन्नतीको काम तत्काल सुरु हुने पनि बताइएको छ ।

चीनले नेपाल जोड्ने अन्य नाकालाई पनि तत्काल विस्तार गर्दै लैजाने बताएको छ । मंगलबारदेखि काठमामाडौं भएको दुई देशका भन्सार अधिकारीहरुको उच्चस्तरीय बैठकले नेपाल–चीनतर्फका अन्य सातवटा नाका पनि व्यावसायिकरुपमा सञ्चालन गर्ने सहमति जुटाएको छ । भूकम्पपछि तातोपानी र रसुवागढी सहित ती नाकाहरु पनि सञ्चालनमा आउन सकेका थिएनन् । अहिले रसुवागढी बाहेक अन्य नाका अझै सञ्चालनमा छैनन् ।
चीनले इन्धन आपूर्ति गर्ने भएपछि नेपालको तर्फबाट ती नाकाहरुमा भन्सार तथा अध्यागमनको कार्यालय राखेर काम अघि बढाएको हो । अन्यथा चीन तर्फको भन्दा पनि नेपाल तर्फको कमजोरी बढी रहेकोमा समीक्षा भएको थियो,’ एक अधिकारीले बताए ।
तीन दिनसम्म चलेको बैठकले दुई नाकालाई पूर्णक्षमतामा चलाई अन्य सात नाकालाई यथाशीघ्र सहज नाकाको रुपमा व्यवसायिक बनाउने सहमति जुटेको हो । चीनको सहयोगमा ती नाकको भन्सार सुधार लगायतको कामहरु हुने पनि बताइएको छ । चीनबाट नेपाल ल्याइने कुनै पनि सामानमा नेपाली वा अंग्रेजीको लेभल हुन पर्ने समेत सहमति भएको छ । चिनियाँ लेवलको जानकारी नहुने हुनाले समस्या परेको समेत उल्लेख छ ।

भूकम्प र वर्षातले लथालिंग भएको तातोपानी र रसुवागढीलाई पूर्ण क्षमतामा चलाउन चीनले आवश्यक कार्ययोजना अघि बढाउँदै नेपाल सरकारको राजनीतिक तहमा छलफल अघि बढाउने भएको उल्लेख भएको छ । दुईवटा नाकालाई पूर्णक्षमतामा चलाउने र अन्य नाकालाई व्यवस्थित गर्दै लैजाने तयारीमा दुवै देश सहमत भएको हो ।
यसबाट दुईपक्षीय व्यापार बढ्ने विश्वास समेत रहेको छ । त्यसैगरी अन्य सातवटा नाका पनि खोल्न दुवै देशले संयुक्तरुपमा काम थाल्ने सहमति भएको हस्ताक्षरित २० बुँदामा उल्लेख छ । टिमुरेमा सुख्खा बन्दरगाह चीनले बनाइदिने छ भने अन्य नाकामा क्वारेन्टाइन चेक पोस्ट र भन्सारका पूर्वाधार बनाउन संयुक्त रुपमा काम थालिने समेत बुँदामा उल्लेख छ ।
रसुवागढी केरुङ नाकाबाट प्रवेश गर्ने सवारी चालकलाई सहजीकरण गर्ने लगायतको काम भएको छ । त्यसमा चीनको तर्फबाट सहयोग हुने र त्यो नाकाको भन्सारलाई थप व्यवस्थित बनाउने सहमति भएको छ । ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, गोरखाको लार्केपास, मुस्ताङको कोरल्ला तथा मुगु र हुम्लाको यारी नाका खुलाई ब्यापार बढाउने सहमति गर्दै त्यसलाई अहिले व्यवसायिक नाका बनाउने र पछि सडक सञ्जाल राम्रो भएपछि अन्तराष्ट्रिय नाकाको रुपमा लैजाने समेत उल्लेख छ ।

यी नाकाहरुमा नेपालले छोटी भन्सार स्थापना गरेको भएपनि प्रभावकारी उपस्थिति नभएकोले अहिलेको भारतीय नाकाबन्दीले त्यो नाकालाई व्यवसायिकरुपमा खोल्न नेपाललाई दबाब परेको हो । ती नाकाहरुमा दुवै देशले आवश्यक पूर्वाधार निर्माण थाल्ने भएको विषय पनि बुँदामा उल्लेख छ ।
पेट्रोलियम सहितका आवश्यक वस्तुमा नेपाल भारतसँग मात्रै निर्भर हुँदा पटक-पटक नाकाबन्दी झेल्नुपर्ने निचोडसहित नेपाली पक्षले चीनसँगका नाका खोल्न चासो देखाएको हो । नेपालको व्यापार घाटा भारतसँग मात्र दुई तिहाई रहेको छ ।
नेपाल र चीनबीच यसअघि नै कम्तीमा पनि ३३ प्रतिशत इन्धन आपूर्ति गर्ने सहमति भइसकेको अवस्थामा सरकारले अन्य नाकालाई महत्व दिएर विकल्प खोजेको हो । दुई देशको भन्सार अधिकारीहरुको यो बैठकमा नेपालतर्फको नेतृत्व भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र चीनतर्फको नेतृत्व ल्हासा भन्सार कार्यालयका उपनिर्देशक लङ चेङ वीले गरेका थिए । दुवै तर्फ छ/छ सदस्य रहेका थिए ।  ekantipur