फलामसँग साइनो गाँसेको १४ वर्ष बितिसकेछ। ठूल्ठूला फलामे रिङ उचाल्दै थचार्दैमा ती दिनहरु बिताएकी तारादेवी पुनको मुहारमा मंगलबार असिम खुसी थपिएको छ। उनको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने धोको पूरा गरेकी छन्। दिसपुरस्थित भोगेश्वारी इन्डोर स्टेडियममा महिला ७५ केजीमाथिको तौल समूहमा तारादेवीले कांस्य पदक जितेकी थिइन् ।
उनी खेलाडी जीवनको उत्तराद्र्धतिर छिन् । घरका भित्तामा झुन्डिएका थुप्रै पदकको लहरमा साग खेलकुदको पदक झुन्डिएको थिएन । किनकि साग खेलकुदमा महिला भारोत्तोलन नै समावेश थिएन । त्यसैले मंगलबार जितेको सागको कांस्य उनका लागि स्वर्णभन्दा पनि मूल्यवान बनेको छ । तारादेवीले देशमा सबैभन्दा बलियो महिलाको उपाधि आफ्नो कब्जामा पारेकोे धेरै भइसक्यो । उनी हरेक वर्ष स्ट्रोङगेस्ट वुमेन्सको उपाधि जित्छिन् । ‘म चाहन्थे अन्तर्राष्ट्रिय पदक जितेर त्यसलाई प्रमाणित गर्न । आज त्यो पुरा गरें जस्तो लाग्छ,’ जितपछि उनले भनिन् ।
तेस्रो स्थानका लागि उनलाई कडा टक्कर दिइराखेकी बंगलादेशी निशा खातुनले स्न्याचमा ४ केजीले पछाडि पारेकी थिइन् । ताराले ७० केजी उचाल्दा खातुनले ७४ केजी उठाइन् । क्लिन एन्ड जर्कमा पनि खातुनले सुरुमा ८३ उचालिन् भने ताराले सुरुमै ९० केजी सफलसँग उठाइन् । दोस्रो लिफ्टमा खातुनले ९० र तेस्रो लिफ्टमा ९१ केजी उठाएर आफूलाई सुरक्षित राखेकी थिइन् । ताराले पनि दोस्रो लिफ्ट ९५ केजी लोड गरिन् । त्यसलाई सफलसँग उठाइन् । खातुनको जस्तै कुलमा १ सय ६५ केजी बनाइन् । जर्कको तेस्रो तथा अन्तिम लिफ्ट उचाल्न प्लेटफर्म उक्लँदा तारादेवीको मुहारमा खुसी छचल्किइरहेको थियो । लामो कपाल फहराउँदै १ सय ३ केजी उचाल्न तयार भइन् । तर, लिफ्ट तान्दा ढाड सर्केर त्यो सफल पार्न सकिनन् । मलिन अनुहारमा फर्किइन ।
त्यहाँ जानुअघि नै ताराको पदक पक्का भइसकेको थियो । समान तौल भए पनि शारीरिक तौल खातुनको भन्दा कम भएका कारण ताराले जितिसकेकी थिइन् । तर, व्यक्तिगत उत्कृष्ट र रजत पदकको चक्करमा अलि धेरै तौल लोड गरेकी थिइन् । क्लिन एन्ड जर्क राम्रो भएका कारण उनी त्यो उचाल्न तयार भइन्् । सकिनन् । ‘त्यो उचालेको भएँ रजतको दाबेदार हुन्थे । मेरो पनि व्यक्तिगत उत्कृष्ट प्रदर्शन बन्थ्यो, ‘ उनले पदक देखाउँदै भनिन्, ‘यो नै मेरो लागि स्वर्ण जस्तै हो । खेलाडी जीवनको उत्तराद्र्धतिर छु । त्यसैले मेरा लागि यो पदकको महत्व विशेष हुनेछ ।’
उनको तौलमा भारतकी सुशीला पनवारले १९८ केजी उचाल्दै स्वर्ण र श्रीलंकाली अनुस्का इसानीले कुल १७३ केजीबाट रजत पदक जितेका थिए ।
उनी भन्दै थिइन्, ‘यहाँ वर्षैभर प्रशिक्षण गर्नेसँग हामीले महिना दिन प्रशिक्षण गरेर यत्तिको प्रदर्शन गर्नु नै ठूलो हो । यो पावर गेमका लागि डाइट खाने, आराम गर्ने अनि प्रशिक्षण मात्र हो । तर हामी त्यतिमा मात्र सीमित हुन्नौं । धेरै समस्याहरुसँग जुध्नु पर्छ । सधैं प्रशिक्षण पाउने हो भने हामी पनि कम छैनौं ।
इन्चोन एसियाड र दुईपल्ट एसियन भारोत्तोलन च्याम्पियनसिप खेलेकी तारादेवीले तीन वर्षअघि नेपालमै भएको प्रथम दक्षिण एसियाली महिला भारोत्तोलनमा स्वर्ण जितेकी थिइन् । राष्ट्रिय स्तरमा उनले पहिलो स्थान गुमाउनुपरेको छैन । म्याग्दीको हिस्तान गाविसको सामान्य परिवारमा हुर्केकी तारादेवी अविवाहित हुन् । ३२ वर्ष टेकिसकेकी उनीसामु बिहेबारे प्रश्न तेर्सिंदा भन्छिन्, ‘किन नहुनु, सोचे जस्तो पाएँ त गर्ने नि ।’ अफेयर छ कि भन्दा उनी भुतुक्कै भइन्, ‘कहाँ हुनु, फुर्सद नै हुन्न ।’
८ वर्षयता पुलिसकी जागिरे तारादेवी आफूलाई प्रेरणास्रोत मानेर महिला भारोत्तोलनमा लागेका बहिनीहरुका लागि पनि आफनो सफलता महत्वपूर्ण भएको बताउँछिन् । ‘मेरो सफलताका लागि उनीहरु तड्पिएका छन् । किनकि उनीहरु त भर्खर प्रवेश गरेका छन् । उनीहरुलाई अझै आफ्नो प्रतिभा देखाउने मौका छ । मेरा लागि त्यो अवसर नहुन सक्छ । त्यसै बहिनीहरु मभन्दा बढी खुसी छन् ।’
दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट समावेश महिला भारोत्तोलनमा नेपालले ६ खेलाडी उतार्दा दुई कांस्य पदक जितेको छ । देशका लागि पहिलो पदकका रुपमा देवी चौधरीले कांस्य जितेकी थिइन् । nagariknews.com