तेस्रो एभरग्रिन कपमा क्याम्पसचोक बिजयी

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २१ साउन ।
बेनीमा शनिबार सम्पन्न तेस्रो एभरग्रिन कप सेभेन ए साईड फुटबल प्रतियोगितामा क्याम्पसचोक युथ युनाईटेड क्लब बिजयी भएको छ ।

फाईनल खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई एकका विरुद्ध दुई गोलले पराजीत गर्दै क्याम्पसचोकले उपाधी जितेको हो । क्याम्पसचोकको जितका लागि रवीन्द्र कुँवरले दुई गोल गरेका थिए भने माउन्टका बिजय श्रेष्ठले थप भएको तिन मिनेटको अवधिमा एक गोल गरेका थिए । IMG_0930 प्रतियोगितामा बिजेता र उपबिजेता समूहले ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश ८० हजार र ४५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, श्रीबक्स गुल्मका गुल्मपती अनीलकुमार बुढाथोकी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बिजेतालाई पुरस्कार वितरण गर्नुभएको थियो ।

अनुशासित टिमको उपाधी पाएको न्यु दोभानले १० हजार, उत्कृष्ट टिम परिचालनमा पिपलबोटले पाँच हजार र वेष्ट ड्रेस टिममा जेपीसी दरवाङले नगद ३ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।IMG_0927माउन्ट बिरेन गुरुङ उत्कृष्ट खेलाडी, एभरग्रिन एका सवीन खड्का उत्कृष्ट डिफेन्डर, माउन्टका बिजय श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, क्याम्पसचोकका विश्वास क्षेत्री उत्कृष्ट गोलकिपर र पाँचपाँच गोल गरेका फ्युचर एफसी बागलुङका सुरज हमाल र एभरग्रीनका साजन गर्बुजाले जनही तिन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

एभरग्रीन युवा क्लबको आयोजनामा साउन १७ गतेदेखि बेनी स्थित खुलामञ्चमा सुरु भएको प्रतियोगितामा काठमाडौ, पोखरा, बागलुङ र म्याग्दीका ४२ समूहको सहभागीता रहेको थियो । प्रतियोगिताको सबै समुहमा ७ जना खेलाडीहरु रहेका थिए ।

कल्वका अध्यक्ष ललित पुर्जाको अध्यक्षता र सचिव धनबहादुर गर्बुजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सामाजिक रुपान्तरण हाम्रो अभियान भन्ने नाराका साथ स्थापना भएको क्लबले तीन बर्षदेखि लगातार बेनीमा हरेक बर्ष सेभेन ए साईड कप फुटवल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।