सन्तोष गौतम/विकल्प न्यूज
बेनी १५ साउन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ रातोपानीका बासिन्दाले विद्युत प्रशारण लाईनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् ।नेपाल विद्युत प्राधिकरण अन्तरगत २२० केभी क्षमताको खुर्कोट दाना प्रशारण लाईन अन्तरगत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रमम स्थानीय बासीले बिरोध जनाउदै अवरोध गरेका हुन् ।
आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको भन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्काललाई काम गर्न रोकीएको स्थानीय लोक खत्रीले बताउनुभयो । निर्माण कम्पनी र आयोजनाले पूर्व जानकारी नदिई डोजर ल्याएर एक्कासी टावरको जग खनेको स्थानीयको गुनासो छ ।
उनीहरुले बस्तीलाई असर नपर्ने ठाउँमा टावर राख्न र प्रशारण लाईन लैजाने आयोजनालाई अनुरोध गरेका छन् । अहिले बनाउन लागिएको ठाउँमा टावर राख्दा वरपरका बिस घरधुरी विस्थापीत हुने खत्रीले बताउनुभयो ।
स्थानीयको अवरोधपछि आयोजनाको काम रोखिएको छ । तिस जना कामदार र एक वटा डोजर त्यहाँ परिचालन भएका थिए । अन्नपूर्ण गाउँपालीका ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले प्रभावीत क्षेत्रको बासिन्दा र आयोजनाबीच छलफल गरेर समस्या समाधानका लागि पहल भैरहेको बताउनुभयो ।
कालीगण्डकी कोरीडोर प्रशारण लाईन आयोजना अन्तरगत नेपाल विद्युत प्राधिकरणले पर्वतको खुर्कोट र म्याग्दीको दानामा सब स्टेशनका साथै ३८ किलोमिटर दुरीको प्रशारण लाईन निर्माणको काम गरिरहेको छ ।