अर्जुन शर्मा/विकल्प न्यूज
चैत १४ गते ।
नेपालको संविधान जारी भएसँगै नेपालको शासन व्यवस्थामा परिवर्तन भयो र यसै संविधानका प्रावधानहरुलाई संस्थागत गर्ने ध्यले देश यतिखेर स्थानिय निकायको चुनावमा अग्रसर रहेको छ । संविधानको धारा ५६(४) मा स्थानिय तह अन्र्तगत गाँउपालिका, नगरपालिका र जिल्ला सभा रहनेछन ।
गाँउपालिका र नगरपालिकामा रहने वडाको संख्या संघिय कानुज वमोजिम हुनेछ । भनी उल्लेख गरिएअनुसार साविकमा रहेका गा.वि.स , न.पा र जि.वि.स लाइ संविधानअनरुुप स्थानिय निकायमा परिवर्तन गर्ने उद्देश्यले संविधानको धारा २९५(३) वमोजिम पुर्व सचिव वालानन्द पौडेलको संयोजकत्वमा तत्कालिन सरकारले मिति २०७२।१२।०१ गते एक आयोग गठन गरेको थियो ।
संविधानको धारा २९५(३) मा भनिएको छ धारा ५६ को उपधारा ४ र ५ वमोजिम निर्माण हुने गाँउपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्नका लागि नेपाल सरकारले एक आयोग गठन गर्नेछ ।
त्यस्तो आयोगले गाँउपालिका,नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्ड वमोजिम गर्नुपर्नेछ भनिएको छ । उल्लेखित आयोगले एक वर्षको अथक प्रयास पछि गत पुष २२ गते ७१९ वटा स्थानिय तह हुनेगरी सरकारलाई प्रतिवेदन वुझायो र मन्त्रिपरिषदमा पुनरावलोकन पश्चात २५ वटा स्थानिय तह थाप गरि मिति २०७३।११।२७ गते नेपाल राजपत्रमा सुचना प्रकाशन गरी देशमा ६४४ वटा स्थानिय निकाय
रहने गरी स्थानिय तह कायम भएको अवस्था विद्यमानता छ ।
यसै क्रममा पर्वतमा २ वटा नगरपालिका र ५ वटा गाउपालिका रहने गरी सुचना प्रकाशन भयो । उत्तरीपर्वतका साविकका वासखर्क, माझँफाट, लेखफाँट, सालिजा, धाइरिङ, नागलिवाङ र वनौ गा.वि.स लाइ समेटेर जलजला गाँउपालिका नामाकरण गरिएको छ । साविक जिल्ला विकास समितिमा भएको सहमति अनुसार नामाकरण जलजला कायम भएको छ भने केन्द्र साविक माझफाँट गा.वि.स को कार्यालय तोकेर सूचना प्रकाशन भएको छ । करिव ८२ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको यस गाँउपालिकामा सूचना प्रकाशन भएदेखिनै केन्द्रका विषयलाइ लिएर विवाद शुरु भयो । साविक ७ वटा गा.वि.स रहेको यस गाँउपालिकाको केन्द्र माझँफाट राख्दा विशेषगरी वनौ, नागलिवाङ, धाइरिङ, सालिजा र लेखफाटका अधिकाश भागका जनतालाइ अपायक पर्ने यस क्षेत्रका वारेमा ज्ञान भएको जो सुकैले अनुमान लगाउन सक्दछ ।
पर्वतका जलजला वाहेकका गाँउपालिकाका केन््द्र पनि विवाद मुक्त हुन सकेनन । संघियताको मर्म अनुरुप राज्यवाट प्रवाह हुने सेवा नजिकवाट लिन पाउनु सवै जनताको अधिकार हो । माझफाँट र वासखर्कका वासिन्दाले उल्लेखित केन्द्र कायम हुँदा खुसियाली मनाउनु स्वभाविक पनि हो ।
माझफाँटका उपल्लो भेगका जनताले खुसि मनाइरहदा विशेषगरी साविक माझफाट वडा नं. १ लुङदी, खोलाखेत लगायतका जनताको पनि केन्द्र परिवर्तन हुनुपर्ने मनसाय देखिन्छ ।
गाउपालिकाका वासखर्क र माझफाट लाइ मात्रै पायक पर्ने गरी नागलीवाङ र वनौ सम्मका जनतालाइ हालको कुश्मा भन्दा टाढा पर्ने गरि केन्द्र कायम हुन अलि उचित नहोला । सडक सञ्जालको उपलव्धता, हालको वस्ति र सहरिकरणका हिसावले पनि साविकको जि.वि.स मा भएको सहमती वमोजिम लस्ति, मिलनचोक, मोहनचोक, लामाखेत, वारिबेनी एरियामा केन्द्रभएमा सवैलाइ पाएक पर्ने देखिन्छ ।
हालै मात्रै जिल्लामा क्रियाशिल दल समेतको उपस्थिीमा साविक माझफाट गा.वि.स को मोहनचोकमा केन्द्रमा राख्ने सहमति भयो र यो कुरा चित्त नवुझी माझफाट र वासखर्कका वासिन्दाले विरोध जनाएको छन । माझफाट १ मा केन्द्र राख्दा हालको विवाद समाधान भइ सवैको माग केही हदसम्म सम्वोधन भइ विवाद निरुपण हुन सक्ने सम्भावना देखिन्छ । अहिलेसम्म विशेषगरी लुङदी र खोलाखेतका जनता सेवा लिन माझफाट कार्यालय भवन गइरहेका थिए भने अव वनौ र नागलिवाङ सम्मका जनतालाइ समेटन माँझफाट वासि मोहनचोक सम्म झर्ने हो भने विवाद मिल्ने सम्भावना रहेको देखिन्छ ।आवश्यक परेको वेला भारत,जापान लगायतका थुप्रै देशले देशको राजधानी त परिवर्तन गरेको छन । राजपत्रमा सूचना प्रकाशन भै सकेकाले केन्द्र परिवर्तत गर्न मिल्दैन भन्नु आफैमा गलत कुरा हो ।
संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयद्धारा जारि स्थानिय तहको शासन सञ्चालन सम्वन्धमा जारी गरिएको आदेश,२०७३ को वुदा नं १ मा कुनै गाँउपालिका वा नगरपालिकाको नाम वा केन्द्र परिवर्तन गर्नु परेमा सम्वन्धित गाँउपालिका वा नगरपालिकामा निर्वाचित जनप्रतिनिधि वहाल भएपछि ६ महिनाभित्र गाउसभा वा नगरसभामा तत्काल कायम रहेको सदस्य संख्याको सामान्य वहुमतको र्निणयवाट त्यस्तो नाम वा केन्द्र परिवर्तन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने र नेपाल सरकारले त्यस्तो सिफारिस प्राप्त भयपछि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संसोधन गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ ।
केन्द्र माझफाँट कायम हुने सूचना प्रकाशन भैसकेपछी केही व्यक्तिहरुले विशेषगरी सामाजिक सञ्जालहरुमा केही अभद्र वहस समेत गरेको देखियो । सवै वडाका जनताको आत्मसम्मानमा ठेस नपुग्ने गरी तार्कीक वहस गर्नु समेत हामी सवैको दायित्व हो ।
विवाद गरेर भन्दापनि सहमति गरी जलजला गाउपालिकालाइ कसरी समृद्धि तर्फ लान सकिन्छ भन्ने सम्वन्धमा वहस हुन आवश्यक छ । भुमे मन्दिर र कोत घर हामी सवैको आस्थाको केन्द्रविन्दु हो । हम्पालको लेक, वनौ र सालिजाको वारी हाम्रो सम्भावना हो , कालिगण्डकी नदि हाम्रो गरिमा हो र जलजला हाम्रो नाम हो ।
अतः देशका अधिकांश स्थानमा नयाँ स्थानिय निकायवाट सेवा प्रवाह भै सकेको र विवादका विच जलजला गाउपालिकाको उदघाटन दुइ हप्ता सम्म पनि हुन सकेन । यसलाई सोमबार मात्र कार्यालय उद्घाटन गरिए पनि पाँच गाविसका वासिन्दाहरु सहभागि भएनन् ।
उनीहरुले मोहन चोकमा सम्पर्क कार्यालय स्थापना गरे । अवको परिस्थितिलाई सवैले आत्मसाथ गर्दै सवैले आफ्नो स्वार्थ भन्दा माथि उठी जलजला गाउपालिकाका सवै स्थानका वासिन्दालाई पायक पर्ने गरी जनप्रतिनिधि तथा विज्ञहरुको संलग्नतामा अध्ययन गरी उपयुक्त केन्द्र तोकेर सहमति गरी पछि कानुनवमोजिमको प्रक्रिया अनुरुप कार्यालय राख्ने गरी हाललाइ सेवा सञ्चालन गरिनु आवश्यक देखिन्छ । लेखक जलजला गाउपालिकाका स्थानीय वासिन्दा हुनुहुन्छ