एक वर्षमा ७५ होटल थपिए, बेड संख्या ३६ हजार नाघ्यो
२ साउन, काठमाडौं । मुलुकभर सञ्चालनमा आएका पर्यटकस्तरीय होटलको संख्या एक हजार ७५ पुगेको छ । यी होटलमा एकै दिन ३६ हजार १ सय ७९ जनाले रात बिताउन सक्छन ।
पर्यटन मन्त्रालयको पुससम्मको तथ्यांकले यस्तो देखाएको हो । जसमध्ये ११८ वटा स्टार होटल छन् भने ९ सय ५७ वटा ननस्टार होटल छन् ।
विगत एक वर्षमा स्टार होटल एउटामात्र थपिएको छ भने नस्टार होटल ४८ वटा थपिएका छन् । यस अवधिमा बेड संख्या एक हजार ६ सय ५६ वटा थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार स्टार होटलमा ९ हजार ५ सय ५४ वटा बेडहरु रहेका छन् भने ननस्टार होटलमा २६ हजार ६ सय २५ होटल रहेका छन् । पर्यटकको संख्या उल्लेख्य मात्रामा बढ्न नसके पनि होटलको संख्या भने बढिरहेको छ ।
अहिले मुलुकमा १० वटा पाँचतारे २ वटा चार तारे होटल सञ्चालनमा छन् । हायत रिजेन्सी, सांग्रिला, सोल्टी क्राउन प्लाजा, याक एन्ड यती, अन्नपूर्ण, मल्ल, एभरेष्ट, र्याडिसन, फुलवारी र पोखरा ग्रान्ड पाँचतारे होटल हुन् ।
यसैगरी होटल हिमालय र शंकर होटल चार तारे होटल हुन् । भूकम्पपछि पाँचतारे एभरेष्ट र चारतारे शंकर होटलमा रातो स्टिकर टाँसिएको छ ।
एघार वर्षमा पर्यटन विभागमा दर्ता भएका होटलहरु
| वर्ष | होटल | बेड संख्या |
|---|---|---|
| २०६१ | ९९६ | ३९१०७ |
| २०६२ | १००६ | ३९३८४ |
| २०६३ | ६०७ | २४२६० |
| २०६४ | ६१७ | २४६६० |
| २०६५ | ६६९ | २६०६३ |
| २०६६ | ७४४ | २८४९३ |
| २०६७ | ७८९ | २९३४२ |
| २०६८ | ८२७ | ३०७८० |
| २०६९ | ८५३ | ३१६५७ |
| २०७० | १०२६ | ३४५२३ |
| २०७१ | १०७५ | ३६१७९ |
स्रोत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
– See more at: http://www.onlinekhabar.com/2015/07/300771/#sthash.CyTBIDRf.dpuf
प्रतिक्रिया राख्नुहोस्