म्याग्दी नदी कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण सुरु
ठाकुरप्रसाद आचार्य
म्याग्दी जेठ ७ गते । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रण गर्न पक्की संरचना निर्माण सुरु गरिएको छ । नदी कटानको उच्च जोखिममा रहेको बजारलाई संरक्षण गर्न पक्की पर्खाल निर्माण गर्न लागिएको हो ।
जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कास्कीमार्फत करिब एक करोड रुपियाँ लागतमा म्याग्दी नदी किनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण थालिएको हो ।
बेनी बजार संरक्षण आयोजना मार्फत मङ्गलाघाट बजार संरक्षणका लागि पक्की पर्खाल लगाउन थालिएको आयोजना कार्यालय पोखराका इञ्जिनियर नरजङ गुुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिने छ ।
उक्त आयोजना निर्माणका लागि आयोजना कार्यालय पोखराले भैरवी इन्जिनियरिङ प्रा.लीसँग २०८२ फागुुन १० गते ९९ लाख १९ हजार २९५ रुपियाँ मा ठेक्का सम्झौता गरेको छ ।
आगामी असार १९ गतेसम्म ठेक्का सम्झौता भएकाले निर्माण व्यवसायीले उपकरण र मजदुर परिचालन गरेर पर्खाल लगाउने काम थालेको इञ्जिनियर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘नदी कटानको उच्च जोखिममा परेको बजार भएकाले समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरेका छौं । नदीमा पानीको सतह बढ्ने भन्दा अगाडि नै पर्खाल निर्माण गरिसक्ने योजना छ ।’’ नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावीयन पर्खाल निर्माण गरिने उहाँले बताउनुभयो ।

मङ्गलाघाटमा आयोजनामार्फत विभिन्न चरणमा ५०० मिटरभन्दा बढी लामो पर्खाल यसअघि नै निर्माण भइसकेको छ । बेनी बजारको पश्चिमी भागमा रहेको मङ्गलाघाटमा दुईसय भन्दाबढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् ।
आयोजना कार्यालय पोखरा मार्फत विगत पाँचवर्ष देखि बेनी बजार संरक्षण आयोजना सञ्चालन हुँदै आएको छ । कालिगण्डकी नदी किनार तर्फ अघिल्लो वर्ष पक्की पर्खाल निर्माण गर्ने योजना सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्