म्याग्दीमा युवतीलाई ब्ल्याकमेल गरी ठगी गर्ने युवक पक्राउ
जेठ ५ गते । म्याग्दीमा एक युवतीलाई ब्ल्याकमेल गरी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रेम सम्बन्धको नाटक गरी युवतीसँग अस्लिल भिडियो बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै रकम तथा गरगहना ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका हुन ।
ठगी कार्यमा संलग्न भएको आरोपमा बेनी नगरपालिका–६ डम्मरा निवासी २२ वर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ । युवकले पीडित युवतीसँग अस्लिल भिडियो बनाइ उक्त भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ९ लाख १० हजार ३ सय ७० रुपियाँ बराबरको रकम तथा गरगहना ठगी गरेको आरोप छ।
पीडितको उजुरीपछि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदाम कास्कीको समन्वयमा उनलाई पोखरा महानगरपालिका–६ लेकसाइडबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका थापालाई जिल्ला म्याग्दी अदालतबाट आपराधिक लाभ (ठगी) तथा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा शिर्षकमा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्