सङ्कट पार गर्दै विश्वासको आधार बन्दै दिदीबहिनी सहकारी
म्याग्दी,भदौं ३ गते । पछिल्लो तीन वर्षयता बेनीबजारमा सञ्चालनमा रहेका करिब एक दर्जन सहकारी संस्थाहरु आर्थिक सङ्कटका कारण बन्द हुनपुगेका छन् । सञ्चालनमा रहेका कतिपय सहकारीसमेत अझै आर्थिक संकटबाट मुक्त हुन सकेका छैनन् । बचतकर्ताको ठूलो रकम फिर्ता गर्न नसक्दा केही सहकारीप्रति सदस्य तथा बचतकर्ताको विश्वाससमेत कमजोर बन्दै गएको छ ।
तर, महिलाको लगानी र व्यवस्थापनमा बेनीबजारमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था भने यो सङ्कटका बीच पनि आफ्नो वित्तीय अवस्था सुदृढ बनाउँदै सदस्यको विश्वास कायम राख्न सफल भएको छ । सहकारीले सङ्कटपूर्ण परिस्थितिलाई पार गर्दै संस्थाले नियमित कारोबार, बचतकर्ताको रकम भुक्तानी र प्रभावकारी व्यवस्थापनमार्फत आफूलाई विश्वासिलो सहकारीका रुपमा स्थापित गरेको छ ।
वार्षिक साधारणसभा गर्ने दिदीबहिनी सहकारी म्याग्दीमा पहिलो समेत भएको छ । गत शनिबार सम्पन्न साधारणसधामा सहकारीले आफ्नो वित्तिय कारोबारको अवस्था प्रस्तुत गरेको थियो । सहकारीले प्रस्तुत गरेको कारोबार अनुसार गत आर्थिक वर्षको असार मसान्त सम्म आठ करोड २६ लाख ९२ हजार तीनसय ७१ रुपिायँ ऋण लगानी गरेको छ ।
यसैगरी सहकारीले सात करोड २२ लाख ७५ हजार दुईसय ५० रुपियाँ बचत एवम् निक्षेप संकलन गरेको वित्तिय अवस्था सार्वजनिक गरेको थियो । यस्तै सहकारीले ७५ लाख ५० हजार २५ रुपियाँ जगेडा कोष र २८ लाख ८३ हजार तीनसय ९८ रुपियाँ विभिन्न कोषमा रहेको सहकारीका कोषाध्यक्ष कमला खत्री जिसीले जानकारी दिनुभयो ।
वि.सं. २०६८ सालमा स्थापना भएको दिदीबहिनी सहकारीमा अहिले ८ सय ६३ जना शेयर सदस्यहरु आबद्ध छन् भने गत आर्थिक वर्षको मसान्तसम्म तीन करोड ६१ लाख ८५ हजार रुपियाँ शेयर पुँजी रहेको छ । सहकारीका शेयर सदस्यहरु सबै महिला मात्र छन् भने दैनिक कार्यालय सञ्चालन गर्ने जनशक्ति पनि महिलाहरु नै छन् ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले कतिपय सहकारीले जनताको विश्वास गुमाउँदै गइरहेका समयमा महिलाहरुको लगानी र व्यवस्थापनमा सञ्चालित सहकारीले सङ्कट लाई पार गर्दै बचतकर्ताको विश्वास कायम राखेको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘महिलाहरुको लगानी र व्यवस्थापनमा सहकारी सञ्चालन गरेर समाजमा उदाहरणीय प्रयास गर्नुभएको छ । देशव्यापी रुपमा सहकारीमा समस्या आउँदा पनि दिदीबहिनी सहकारीले आफूलाई अब्बल सावित गर्दै सङ्कटबाट जोगिएको छ । यो महिलाहरुको कुशल व्यवस्थापनका कारण हो ।’’
सहकारीले सञ्चालन गरिरहेको सामाजिक कार्यअन्तर्गत मुठ्ठीदान अभियान कार्यक्रममार्फत विभिन्न तीन जनालाई नगद पाँचहजार पाँचसय ५५ रुपियाा दरले सहयोग हस्तान्तरण गरिएको सहकारीले जनाएको छ । सहकारीको मुठ्ठीदान संकलन अभियान अन्तर्गत जलजला गाउँपालिका ३ पर्वतकी सुनिता परियार र जेनिशा रेग्मी तथा बेनी नगरपालिका ८ बेनीबजार म्याग्दीका भद्रबहादुर खत्रीलाई नगद र खाद्यान्न सहयोग गरेको छ ।
सहकारीले महिलाहरुले सञ्चालन गरेका स–साना घरेलु उद्योग,कृषि,पशुपालन लगायतका उत्पादनका क्षेत्रमा लगानी गरेका कारण महिलाहरुको विश्वास आर्जन गरेको सहकारीका अध्यक्ष सुगम श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्