गलेश्वर शिवालयमा भक्तजनको भीड
ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन २५ गते ।
साउन महिनाको अन्तिम सोमबार आज बिहानदेखि गलेश्वरधाम स्थित शिवालय मन्दिरमा पूजाआरधाना गर्ने तिर्थालु भक्तजनहरुको घुइँचो लागेको छ । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालयमा पूजाआजा र दर्शनका लागिम्याग्दी,बागलुङ,पर्वत,पोखरा लगायतका जिल्लाहरुबाट भक्तजनहरू उल्लेख्य मात्रामा आएका छन् । विहानै देखि आएका तिर्थालु भक्तजनहरु लामवद्ध भएर शिवालयको दर्शन र पूजा गरेका छन् ।भक्तजनहरूका कारण गलेश्वर क्षेत्रमा चहलपहल बढेको छ । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले आजका दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान,भजनकीर्तिन लगायतका काम गरेर धार्मिक लाभ प्राप्त गर्दछन् ।
शिवालय मन्दिरमा गङ्गाजल र बेलपत्रले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकांक्षा पूरा हुने जनविश्वास रहेको कारण साउन महिनाभरी गलेश्वरमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ । दर्शनका लागि सहज बनाउन स्वयमसेवक परिचालन गरिएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘आज साउन महिनाको अन्तिम सोमबार पनि भएकाले विहानै देखि भक्तजनको निकै भिड लागेको छ । आज करिब ३० हजार भक्तजनले पूजाआजा गर्ने अपेक्षा गरेका छौं । भक्तजनको सुविधाका लागि स्वयमसेवकहरु परिचालन गरेर पूजालाई व्यवस्थित बनाइएको छ ।’’
मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको गलेश्वर शिवालयमा साउन महिनामा भारतीय भक्तजनहरू पनि उल्लेख्य मात्रामा दर्शनका लागि आएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।
मन्दिर दर्शनलाई व्यवस्थित बनाउन नेपाल प्रहरी,विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी, युवाक्लब, आमा समूहलगायत विभिन्न संघ संस्थाले स्वयंसेवकको रुपमा सहयोग गरेका छन् । बेनीको बौद्ध युवा क्लबले ज्येष्ठ नागरिक,अशक्त,महिला तथा बालबालिकाका लागि बेनी देखि गलेश्वर सम्म निशुल्क यातायात सञ्चालन गरेको छ ।
ऐतिहासिक र पौराणिक दृष्टिले महत्वपूर्ण मानिएको गलेश्वरधाम रघुगङ्गा र कालीगण्डकी नदीको सङ्गमस्थलमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित छ । गलेश्वरधामको दर्शन र पूजाआजा गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।
प्रतिक्रिया राख्नुहोस्