धवलागिरीको आन्तरिक आयमा निरन्तर वृद्धि
ठाकुरप्रसाद आचार्य
म्याग्दी\असार १४ गते ।
भौगोलिक रुपमा विकट मानिने म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ४५ लाख रुपियाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । तर जेठ मसान्त सम्म पालिकाले ६८ लाख ७१ हजार चारसय ९० रुपियाँ आन्तरिक आम्दानी ग¥यो । यो अनुमानित आयको २३ लाख ७१ हजार चारसय ९० रुपियाँ बढी हो ।
धवलागिरी गाउँपालिकाले पछिल्ला चारवर्ष यता निरन्तर रुपमा यसरी नै लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी संकलनमा सफलता हात पार्दै आएको छ । आर्थिक वर्ष २०७९\०८० मा गाउँपालिकाले २३ लाख रुपियाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य राखेकोमा २८ लाख रुपियाँ संकलन ग¥यो ।
यसैगरी आर्थिक वर्ष २०८०\०८१ मा २८ लाख लक्ष्य लिएकोमा ४४ लाख ३० हजार ६ सय ८१ रुपियाँ संकलन गर्दै १६ लाख बढी आन्तरिक आय संकलन गर्न पालिका सफल भयो । आर्थिक वर्ष २०८१\०८२ मा ४० लाख आन्तरिक आम्दानी संकलन गर्ने लक्ष्य लिएको पालिकाले २० लाख बढी आय संकलन गर्दै ६० लाख १४ हजार ४ सय ९८ रुपियाँ आम्दानी गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जाकारी दिनुभयो ।
माथिको चारवर्षको तथ्याङ्क हेर्दा गाउँपालिकाले आन्तरिक आम्दानीलाई निरन्तर रुपमा वृद्धि गर्दै गएको देखिन्छ । आगामी आर्थिक वर्ष २०८३\०८४ मा पालिकाले ५० लाख रुपियाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राख्दै बजेट ल्याएको छ । प्रमुख प्रशासकीय अधिकृत शर्मा भन्नुहुन्छ, ‘‘राजश्व व्यवस्थापनमा सुधार,बक्यौता उठाउनेमा कडाई,जनप्रतिनिधिहरुको सक्रियता र करको दायार फराकिलो हाम्रो सफलताका आधारहरु हुन ।’’
रोयल्टीबाट बञ्चित पालिका
पालिकको आन्तरिक आम्दानीको बलियो स्रोत हिमालको रोयल्टी भने पाउन सकेको छैन । गाउँपालिका आफ्नो भूगोलमा रहेका धवलागिरी,पुथा,गुर्जा र चुरेन हिमाल र ढोरपाटन शिकार आरक्षको रोयल्टी पाउनबाट अझै बञ्चित हुनुपरेको छ ।
गाउँपालिकाको भविष्यमा बलियो आन्तरिक आम्दानीको स्रोत भनेको जलविद्युत आयोजनाहरु हुन ।
हामीले निरन्तर रुपमा आन्तरिक आम्दानीलाई वृद्धि गर्दै लगेका छौं पालिका अध्यक्ष प्रेमप्रसाद पुनले भन्नुभयो, ‘‘ढोरपाटन शिकार आरक्षका दुईवटा ब्लक हाम्रै गाउँपालिकाको भूगोलमा पर्दछन् । भने विश्वको सातौं अग्लो धवलागिरी हिमाल लगायत गुर्जा,चुरेन र पुथा हिमाल पनि हाम्रै भूगोलमा पर्दछ । तर अहिले सम्म पालिकाले रोयल्टी प्राप्त गर्न सकिरहेको छैन । कानूनी रुपमा पाउनुपर्ने रोयल्टीका लागि सम्बन्धित निकायमा निरन्तर रुपमा पहल गरेका छौं ।’’
गाउँपालिकाले ढोरपाटन शिकार आरक्ष र हिमालको रोयल्टीका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग समक्ष सम्म पहल गरेको पालिका अध्यक्ष पुनले बताउनुभयो । प्राकृतिक स्रोतसाधनको उपयोगका लागि अझै पनि कानूनी बाधाहरु भएको उहाँ बताउनुहुन्छ । गाउँपालिका भित्र रहेका ढुङ्गा र तामा खानी सञ्चालन गर्ने कानूनी बाधाहरु रहेका छन् अध्यक्ष पुनले भन्नुभयो,‘‘खानीहरु सञ्चालन गर्न सकेमा गाउँपालिकालाई वार्षिक रुपमा करोडौं आन्तरिक आम्दानी हुने थियो ।’’
कर व्यवस्थापन प्रभावकारी
२०७९ को स्थानीय तह निर्वाचन पछि निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको दोस्रो कार्यकालको चार वर्षको अवधिमा धवलागिरीले निरन्तर रुपमा आन्तरिक आयलाई वृद्धि गर्दै लैजानुका कारणमा प्रभावकारी कर व्यवस्थापनलाई लिन सकिन्छ ।
गाउँपालिकाले कर तथा शुल्क संकलनलाई व्यवस्थित बनाउनु, करदातालाई दायराभित्र ल्याउनु, सेवा शुल्क तथा प्राकृतिक स्रोतको उपयोगबाट हुने आम्दानीलाई प्रभावकारी व्यवस्थापन गर्नु, बजार तथा व्यवसायिक गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु र राजस्व संकलनमा पारदर्शिता तथा निगरानी बढाउनु आन्तरिक आय वृद्धिका प्रमुख आधारहरु भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।
चुवाट रोक्ने,बख्यौता उठाउन पहल,व्यवसायहरु करको दायरामा ल्याउने र वडा तहमा व्यवसाय दर्ता शिविर सञ्चालन गर्ने लगायतका कामहरु पालिकाले गरेको उहाँको भनाई छ । तर आम्दानीको ठूलो स्रोत भएपनि नदीजन्य पर्दाथ ढुङ्गा,गिटी र बालुवा विक्रीबाट पालिकाले आम्दानी लिन नसकेको उहाँ बताउनुहुन्छ ।
सीमित स्रोतसाधन र विकट भौगोलिक अवस्थाका बाबजुद आफ्नै स्रोतबाट आम्दानी बढाउँदै जानु धवलागिरी गाउँपालिकाका लागि सकारात्मक संकेतका रुपपमा लिन सकिन्छ । पर्यटन र जलविद्युत विकासको प्रशस्त संभावना भएको धवलागिरीले भविष्यमा आन्तरिक आयलाई वृद्धि गर्दै गाउँपालिकालाई आत्मनिर्भर बनाउँदै स्थानीय विकास र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने देखिन्छ ।
भविष्यमा बलियो आन्तरिक आम्दानीको स्रोत बन्दै जलविद्युत आयोजनाहरु
गाउँपालिकाको भूगोल भित्र रहेको म्याग्दी नदी र यसका सहायक नदीहरु जलविद्युत विकासका लागि उपयोगी छन् । गाउँपालिका भित्र अहिले १७ वटा जलविद्युत आयोजनाहरुले अनुमति लिइसकेका छन् । तिम मध्य ४ वटा निर्माणधिन र १२ वटाले सर्वेक्षण सकेर उत्पादन अनुमति पाएका छन् । अहिले निर्माणधिन रहेका जलविद्युत आयोजनाहरु केही वर्षभित्रमा सम्पन्न हुने तयारीमा छन् । ति आयोजनाहरुको निर्माण सम्पन्न भई विद्युत उत्पादन थालेपछि पालिकाले विद्युत रोयल्टी पाउने छ ।
शिकार आरक्ष र हिमालको रोयल्टीका लागि पहल गर्दै पालिका
यस्तै संसारको सातौं अग्लो ८ हजार १६७ मिटर अग्लो धवलागिरी हिमाल पनि यसै पालिकामा भित्र पर्दछ । धवलागिरी गाउँपालिकाका साथै गुर्जा,चुरेन र पुथा हिमाल पर्दछन् । ढोरपाटन शिकार आरक्षको केही भूभाग पनि यसै गाउँपालिका भित्र पर्दछ । धवलागिरी हिमाल आरोहणको ६६ वर्षको पूरा भएको अवसरमा पहिलोपटक यसवर्ष पालिका भित्र आरोण दिवस मनाउनुले पनि । भोलीका दिनहरुमा पालिकालाई धवलागिरीको रोयल्टीका लागि दावी गर्ने बलियो आधार बनेको पालिका अध्यक्ष पुनले बताउनुभयो ।
स्थानीय तह कति बलियो छ भन्ने एउटा महत्वपूर्ण सूचक आन्तरिक आय पनि हो । यही तथ्यलाई ध्यानमा राखेर धवलागिरीले आन्तरिक आम्दानीलाई बढाउन करको दायरा फरकिलो बनाउने र संकलनलाई प्रभावकारी बनाउने नीति अघि सारेको छ । नीतिअनुसार आन्तरिक आय वृद्धिमा पालिकाले सफलता हात पार्दै जान थालेको तथ्याङ्कले देखाएको छ ।
आगामी दिनमा पालिका पदाधिकारीहरुले आन्तरिक आम्दानी बढाउन थप सक्रियता, राजश्व परामर्श समितिको नियमित सक्रियता, अनुगमनको काममा व्यवस्थित, व्यवसायीहरुको लगत संकलन गरी करको दायरा फराकिलो बनाउदै आन्तरिक आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।
आन्तरिक आय शिक्षामा लगानी
गाउँपालिकाले संकलन गरेको आन्तरिक आम्दानीलाई शिक्षा क्षेत्रमा लगानी गरेको छ । पालिका भित्र रहेका १२ वटा सामुदायिक विद्यालयहरुमा पालिकाको अनुदानमा एक÷एक जना शिक्षकको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । उहँले भन्नुभयो,‘‘सरकारी दरबन्दी नभएका सामुदायिक विद्यालहरुमा गाउँपालिकाको अनुदानमा प्रत्येक विद्यालयमा विज्ञान,गणित र अंग्रेजी विषयका एक÷एक जना शिक्षकको व्यवस्था गरेका छौं । हामीले आन्तरिक आम्दानीलाई शिक्षा क्षेत्रको विकासमा खर्चिएका छौं ।’’
कर लिने क्षेत्रहरुः
स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँपालिकाले सम्पती कर,भूमिकर÷मालपोत,वहाल कर,वहाल विटौली कर,सवारी साधन कर,अन्य मनोरञ्जन कर,व्यवसायले भुक्तानी गर्ने कर,व्यवसाय वाहेक अन्यले भुक्तानी गर्ने कर र कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने कर सकंलन गर्दै आएको छ ।
यसैगरी सरकारी सम्पतीको विक्रीबाट प्राप्त हुने रकम,पर्यटन शुल्क,कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम,विद्युत सेवा शुल्क,शिक्षा क्षेत्रको आम्दानी,परीक्षा शुल्क,प्रशासनीक सेवा शुल्क,सिफारिस दस्तुर,व्यत्तिगत घटना दर्ता दस्तुर,नाता प्रमाणित दस्तुर,व्यवसाय रजिष्ट्रेशन दस्तुर,विद्युत सम्बन्धी दस्तुर,यातायात क्षेत्रबाट आम्दानी, न्यायिक दण्ड जरिवाना र जफत,अन्य राजश्व र व्यवसाय कर लगायत २७ प्रकारका शिर्षकहरुबाट गाउँपालिकाले आन्तरिक आम्दानी गरेको छ । गाउँपालिकाको मिडिया फलोसिप कार्यक्रम अन्तर्गत तयार पारिएको समाचार सामग्री


प्रतिक्रिया राख्नुहोस्