म्याग्दीको मालिकाले ल्यायो ४८ करोड ९ लाख बढीको बजेट
ठाकुरप्रसाद आचार्य
म्याग्दी,असार ८ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सोमबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको १९ औं गाउँसभामा उपाध्यक्ष लक्ष्मी देवी घर्ती मगरले ४८ करोड ९ लाख ५८ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।
उपाध्यक्ष घर्ती मगरले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा संघीय समानिकरण अनुदान ८ करोड ८९ लाख रुपियाँ, राजश्व फाँडफाँड तर्फ ९ करोड ३ लाख ६३ हजार रुपियाँ, सर्शत अनुदान चालु तर्फ २० करोड ७४ लाख ५० हजार रुपियाँ, सर्शत पुँजीगत अनुदान ५० लाख रुपियाँ, समपुरक पुँजीगत दुई करोड ६ लाख रुपियाँ र विशेष अनुदान ९२ लाख रुपियाँ रहेको छ ।
यसैगरी प्रदेश समानिकरण एक करोड ६ लाख ७७ हजार रुपियाँ राजश्व बाँडफाँड ८७ लाख ६८ हजार रुपियाँ, विशेष अनुदान ४० लाख रुपियाँ र समपुरक अनुदान ६० लाख रुपियाँ बजेटमा आयका रुपमा समावेश गरिएको छ । यस्तै संचित कोषबाट दुई करोड रुपियाँ र आन्तरिक आय एक करोड रुपियाँ बजेटमा बजेटमा अनुमानित आयका रुपमा समावेश गरिएको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष मगरले प्रस्तुत गर्नभएको बजेट तथा कार्यक्रम सभाले पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो ।
बजेटमा शिक्षा,स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो । पूर्वाधार विकास तर्फ सर्शत र पालिकाबाट गरी ६ करोड ३० लाख ८ हजार रुपियाँ बजेट विनियोजन गरेको उपाध्यक्ष मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले आर्थिक विकास तर्फ एककरोड पचास लाख रुपियाँ र विपद् व्यवस्थापनका लागि एक करोड ८५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, सडक,अधुरा रहेका योजनालाई पूर्णता दिन, खानेपानी, सिँचाइ,भवन, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष गर्बुजाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्