अन्नपूर्ण प्रथम आरोहणको ७६ वर्ष पूरा
ठाकुरप्रसाद आचार्य
म्याग्दी,जेठ २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६ वर्ष पूरा भएको अवसरमा आज विविध कार्यक्रमको आयोजना गरिएको छ ।
आज जुन ३ अर्थात जेठ २० गते अन्नपूर्णमा पहिलोपटक मानव पाइला परेको ७६ वर्ष पूरुा भएको छ । मानव पाइला परेको जेठो हिमालका रुपमा परिचित अन्नपूर्ण आरोहण दिवसका अवसरमा नारच्याङमा विविध कार्यक्रमका साथ आरोहण दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा आधार शिविर देखि नारच्याङ सम्म दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिता र विविध सांस्कृति कार्यक्रम सञ्चालनको तयारी गरिएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा स्थानीय पर्यटनकर्मी तेज गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार दौड प्रतियोगितामा चार जना महिला र नौ जना पुरुष धावक सहित अन्य पदयात्रीहरु आधार शिविर तर्फ लागेका छन् । जेठ २० गते आधार शिविर देखि नारच्याङ सम्म ३६ किलोमिटर दूरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गर्ने कार्यक्रम तय भएको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

खुल्ला दौड प्रतियोगितामा बिजेतालाई एक लाख रुपियाँ, उपबिजेतालाई ६० हजार रुपियाँ, तेस्रोलाई ३५ हजार रुपियाँ र शान्त्वना स्थान हाँसिल गर्ने तीन\तीन जनालाई १०\१० हजार रुपियाँका दरले नगद पुरस्कारको ब्यवस्था उहाँले बताउनुभयो । नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स संघको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो ।
अन्नपूर्णमा सन् १९५० जुन ३ का दिन पहिलोपटक मानव पाइला परेको थियो । सफल आरोहण सँगै अन्नपूर्णले उबेला संसारभर चर्चा कमाएको थियो । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरे सँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो ।
म्याग्दीको दाना हुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरि साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरानमा पर्ने हुमखोला देखि भुस्केटमेला हुँदै आरोहीहरु अन्नपूर्ण प्र्रथम हिमाल पुगेका थिए । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।
गत वर्ष गाउँपालिकाले अन्नपूर्ण आरोहणको हिरक महोत्सवको आयोजना गरेर अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिकका साथै खुला सङ्ग्रहालय स्थापना गरिएको थियो ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।



प्रतिक्रिया राख्नुहोस्