मगर खाम भाषा संरक्षणका लागि प्रशिक्षक तालिम सुरु
म्याग्दी,बैशाख २७ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विद्यालयस्तरमा पठनपाठन सुरु गराउन प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ । स्थानीय पाठ्यक्रम अन्तर्गत १५ विद्यालयमा मगर खाम भाषा पढाउने तयारीस्वरुप सुरु गरिएको तालिममा शिक्षकहरुलाई भाषा सम्बन्धी प्रशिक्षण दिन लागिएको हो ।
मगर खाम भाषा पठनपाठन गराउनका लागि नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिले प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खाम भाषा किताब समेत प्रकाशन गरेको समाजले आइतवारदेखि बेनीमा सात दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको हो ।
एक सातासम्म सञ्चालन हुने तालिममा १५ विद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ भने मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगरले खाम भाषा सम्बन्धी प्रशिक्षण दिनुहुने पुन मगर समाज रघुगङ्गकाा अध्यक्ष टिका पुर्जा पुन मगरले जानकारी दिनुभयो ।
सयौँ बर्षदेखि हराएर जाने अवस्थामा पुगेको मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणको लागि विद्यालयका शिक्षकहरुलाई प्रशिक्षकको रुपमा तयार गर्न तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मगर खाम भाषाको किताब बिमोचन गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष भण्डारीले मातृभाषामा अध्ययन गर्न पाउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्दै मगर बाहुल्य बसोबास रहेका बस्तीमा स्थानीय पाठ्यक्रममा मगर खाम भाषा सम्बन्धी पढाई हुने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष गर्बुजाले गत बर्ष खाम भाषा तालिम प्रदान गरिएको र यस बर्षदेखि मगर खाम भाषालाई स्थानीय पाठ्यक्रम मार्फत पठनपाठन गराउने तयारी गरिएको बताउनुभयो । बर्षौदेखि हराएर जाने अवस्थामा पुगेको खाम भाषालाई संरक्षण गर्नका लागि विद्यालयमा पठनपाठन गराउनुका साथै प्रविधियुक्त प्रचार सामाग्री बनाएर समेत अगाडी बढ्ने योजना बनाईएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले संघीय र प्रदेश सरकारले मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने गरी ऐनहरु पारित गरिसकेकाले स्थानीय तहहरुले स्थानीय भाषामा पाठ्यक्रम तयार गरी लागु गर्नुपर्ने बताउनुभयो ।
उहाँले मगर समुदायको भाषा, लिपी र संस्कृतिहरु लोप भएर जाने अवस्थामा रहेको सन्दर्भमा रघुगंगा गाउँपालिकाले देखाएको सक्रियता सकरात्मक र प्रसंशनीय रहेको बताउनुभयो ।
कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योगकुमार फगामीले मगर भाषाको महत्व लाई उजागर गरी नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिम लाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्