गौशालामा पूर्वाधार निर्माण तयार
ठाकुरप्रसाद आचार्य
म्याग्दी, बैशाख २३ गते । म्याग्दीको बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा धार्मिक पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । गौशालालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य सहित संघीय र स्थानीय सरकारको गरेर साढे चार करोड रुपियाँ लगानीमा धार्मिक संरचना तयार पारिएको छ ।
गाउँपालिका र संघीय सरकारको पचास÷पचास प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०८०\८१ मा विनियोजन भएको एक करोड २५ लाख ८५ हजार दुई सय ३२ रुपियाको बजेटबाट गाउँपालिकाले धर्मशाला, हवनकुण्ड,कुटी,ध्यानकुटी,सभाहल लगायतका संरसंचनाहरु निर्माण थालेको थियो ।
यसैगरी करिब तीन करोड लागत अनुमान गरी आर्थिक वर्ष २०८१÷०८२ मा संघीय सरकारको समपुरक अनुदान मार्फत गाउँपालिकाले ठेक्कामा लगाएर गौशालालाई व्यवस्थित गर्ने, आश्रम स्थल,सभाहल,थप ध्यान कुटी निर्माण र मन्दिर निर्माण गर्ने लगायतका पूर्वाधारहरु निर्माण थालिएको थियो । योजना कार्यान्वयन गर्न गाउँपालिकाले सुनामी एस एण्ड एस जेभी सँग २०८२ असार १५ भित्र निर्माण सम्पन्न गर्न २०८१ पुस ४ गते दुई करोढ २० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।
योजना मार्फत तीन सय देखि चारसय जना अटाउने क्षमता भएको सभाहल,मन्दिर,चारवटा ध्यानकेन्द्र,सत्तल,हवनकुण्ड,परिसरमा ढुङ्गा छपाउने,शौचालय निर्माण लगायतका पूर्वाधार निर्माण सम्पन्न भएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले बताउनुभयो । उहाँका अनुसार गत असार १५ भित्र निर्माण सक्नुपर्नेमा निर्माण व्यवसायीले समयमै योजना सम्पन्न नगरेकाले म्याद थपेर १९ लाख ७० हजार जरिवाना भुक्तानी गराएर गत माघमा योजना सम्पन्न गरेको पालिकाका इन्जिनियर बानियाँले बताउनुभयो ।
स्थानीय मौलिक गाईको संरक्षण गर्दै आएको गण्डकी गोपाल गौशला क्षेत्रलाई तीर्थस्थल, पर्यटकीय क्षेत्र बनाउने र हिन्दुधर्मावलम्बीको ध्यान तान्ने योजना अनुसार पूर्वाधार निर्माण तयार भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेकाले संघीय सरकारको बजेट फिर्ता भएकाले केही संरचना बनाउन बाँकी रहेको र गाउँपालिकाबाट थप बजेट विनियोजन गरेर संरचना निर्माणलाई पूर्णता दिने उहाँले बताउनुभयो ।
गौशाला, वराह शिवालय र प्रशिद्ध धार्मिक स्थल भुमेठाकुरलाई धार्मिक सर्किटका रुपमा जोडेर धार्मिक पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।
२०७१ सालमा पञ्चकोटको परिकल्पना गर्दा ८ वटा गाइबाट सुरु भएकोमा अहिले ५० भन्दा वढी गाइहरु छन् । गौशालाको विकासका लागि चारवर्ष अघि आयोजना गरिएको पहिलो गौ महोत्सवबाट संकलित रकम, प्रदेश सरकार र स्थानीय सरकारको बजेटबाट यसअघि पनि केही संरचना बनेका थिए । गौशालालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न करिब १२ करोड रुपियाँ बराबरको डिपिआर तयार पारिएको छ ।
मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा २०७१ सालमा यहाँका स्थानीयवासीको सक्रियतामा गौशालाको स्थापना गरिएको थियो । गाइको संरक्षण गर्ने र गाइको महत्व बुझाउन गौशाला स्थापना गरिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो । गण्डकी गोपाल गौशाला प्रसिद्ध कालञ्जर क्षेत्रमा रहेको हुनाले यो क्षेत्रलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्ने योजना गाउँपालिकाले बनाएको छ ।
गौशाला, वराह शिवालय, भुमेठाकुर हुँदै जलजला क्षेत्रलाई धार्मिक सर्किटको रुपमा विकास गर्ने योजना अनुसार गौशालाका साथै जलजला,देवालय शिवालय र भुमेठाकुर मन्दिरमा पूर्वाधार निर्माण भइरहेको छ ।
गौशालामा व्यवस्थित भौतिक पूर्वाधार निर्माण गरी देश विदेशमा प्रचारप्रसार गरेर मुक्तिनाथ दर्शनका लागि आएका भारतीय हिन्दु धर्मावलम्बीलाई यहाँ आकर्षित गर्नसकेमा महत्वपूर्ण तीर्थीथल बन्नसक्ने सम्भावना रहेको स्थानीयहरु बताउँछन् । गौशाला बेनीदेखि एकघण्टा सवारीसाधनको यात्रापछि पुग्न सकिन्छ । गौशाला क्षेत्रबाट पर्वतका साथै म्याग्दी र बागलुङका रमणीय स्थलहरुको अवलोकन समेत गर्न सकिन्छ ।
गौशालामा निर्माण भएका संरचना । तस्बिरः सुवास आचार्य
प्रतिक्रिया राख्नुहोस्