नारच्याङको लेक गाउँका घरघरमा खानेपानीका धारा
ठाकुरप्रसाद आचार्य \विकल्प न्यूज
म्याग्दी,जेठ ३१ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै घरघरमा निर्माण भएका धाराबाट पानी खस्न थालेको छ ।
सफा र स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि लेकगाउँबासी खुसी भएका छन् । आयोजना निर्माण सुरु भएको दुईमहिनाको अवधिमै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि स्थानीयवासीहरु उत्साहित भएका छन् ।
#ADD

गोर्खा वेल्फेयर ट्रष्टको ५० लाख ५४ हजार तीनसय ४ र स्थानीयवासीहरुको दश लाख ९२ हजार ८०० बराबरको श्रमदान गरी ६१ लाख ४७ हजार एकसय चार रुपियाँमा खानेपानी योजना निर्माण सम्पन्न भएको ट्रष्टका आयोजना प्रमुख सन्ताप सिंह राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार ८६ घरधुरीमा निजी धारा,विद्यालय र सामुदायिक भवनमा ३ वटा धारा गरी ८९ वटा धारा निर्माण गरिएको छ । यसैगरी ट्रष्टले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा सुविधासम्पन्न शौचालय निर्माण समेत गरिरिदिएको छ । उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएको उक्त खानेपानी आयोजना ६० दिनमा सम्पन्न भई लेकगाउँवासीले पानी उपभोग गर्न थालेका छन् ।
गाउँको शिरानमा रहेको पानीखाने मुलबाट पानी ल्याएर १० हजार र ६ हजार लिटरका दुईवटा पानी संकलन ट्याङ्की निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजना सुपरभाइजर जमुना जिरेलले बताउनुभयो । उहाँका अनुसार आयोजनाको मुहानमा पानी संकलन ट्याङ्की,वितरण च्याम्बर निर्माा र २ वटा आरविटी निर्माण गरिएको छ ।
खानेपानी योजना सुरु भएको दुई महिनाको अवधिमा सबै काम सम्पन्न गरेर गाउँमा पानी वितरण सुरु गरिएको लेकगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रन्तिजाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘लेकगाउँमा यसअघि पनि पानीका धारा त थिए तर हामीले सफा र स्वच्छ खानेपानी उपभोग गर्न पाएका थिएनौं । गोर्खा वेल्फेयर ट्रष्टले निर्माण गरिदिएको यस योजना गुणस्तरीय,दिगो,भरपर्दो हुनुका साथै सफा र स्वच्छ खानेपानी उपभोग गर्न पाएका छौं ।’’ पानी सुरक्षा लागि गर्नुपर्ने सबै मापदण्डहरु यो आयोजनामा पूरा भएको उहाँले बताउनुभयो ।

योजनालाई दिगो रुपमा संचालन होस् भनेर मुहान र ट्याङ्कीको संरक्षणमा ध्यान दिइएको आयोजनाका इन्जिनियर उत्तमलाल श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीले योजनाको गुणस्तरमा कुनै कमि हुन दिएका छैनौं । आयोजना निर्माणको अवधिभर प्राविधिक गाउँमै बसेर हरेक कामको अनुगमन गरेका छौं । मुहान देखि पाइपलाइन,वितरण ट्याङ्की र धारा निर्माणमा उच्च गुणस्तर सहित प्रविधिको प्रयोग गरेका छौं ।’’
#ADD

योजनाको समान्य मर्मत सम्भारका लागि गाउँमै प्राविधिक तयार पार्न योजना निर्माणको अवधिमा स्थानीयहरुलाई समेत सँगै परिचालन गरिएको र मर्मत सम्भार गर्नका लागि तालिमको व्यवस्था समेत ट्रष्टले मिलाएको छ । छोटो समयमा आयोजना सम्पन्न गरेको अवसरमा लेकगाउँवासीहरुले शुक्रबार ट्रष्टका कर्मचारी,प्राविधिक र प्रतिनिधिहरुलाई भव्यरुपमा विदाई समेत गरेका छन् ।
गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ता समितिले छोटो समयअवधिमा खानेपानी योजना सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘लेकगाउँवासीहरु सफा र स्वच्छ खानेपानी सुविधाबाट बञ्चित भएका थिए । पालिका र वडाको माग अनुसार गोर्खा वेल्फेयर ट्रष्टले खानेपानी योजना निर्माण गरिदिएर सफा र स्वच्छ पानी उपभोग गर्न पाएकोमा लेकगाउँवासी खुसी भएका छन् ।’’
प्रतिक्रिया राख्नुहोस्