बेगखोलामा आठ सय भेडा पालेका युवाका ६ कुरा
म्याग्दी/ विकल्प न्यूज

संगै खाइ खेलेर हुर्कीएका साथीभाई लाहुरे हुन, जागीरे बन्न र उच्च शिक्षा हाँसील गर्न शहर झर्दा बेगखोला गाविस १ का बिमल फगामीले जंगलमा भेडापालन गर्ने निर्णय गरे । बाबुबाजेले पुख्र्यौली पेशाको रुपमा गर्दै आएको भेडापालनलाई ब्यवसायिक बनाएका ३० वर्षिय बिमल एघार वर्षको अवधिमा करोडपति बनेका छन् । भेडापालेर दुःख र सफलता दुवै पाएका बिमललाई गत हप्ता जिल्ला पशु सेवा कार्यालयमा भेट्दा उनको अनुहारमा उत्साहसंगै, पीडा पनि झल्कन्थ्यो । गोठालाबाट उद्यमीमा रुपान्तरण भएका बिमलको अनुभव यस्तो छ ।
गोठाला होइन उद्यमी
बेगखोला गाविस १ मा ३० वर्षअघि जन्मिएका बिमलको गोठमा अहिले आठ सय भेडा छन् । उनले १९ वर्षको हुँदादेखि भेडाको अघिपछि गर्न सुरु गरेका हुन् । संगै पढेका साथीसङगी लाहुरे र जागीरे बन्न सहर पस्दा जंगल छिरेका बिमललाई त्यतीबेला धेरैले मती बिग्रेको भनेर गाली गरे । तर अहिले उनको परिचय फेरीएको छ । उनि अहिले गोठालाबाट उद्यमीमा परिणत भएका छन् । आठ सय भेडाको मूल्य हिसाव गर्दा एक करोड २० लाख रुपियाँ हुन्छ । त्यो उनको ब्यवसायको पुँजी हो । सुरुमा उनिसंग ५० वटा भेडा थिए । गोठमा नयाँ जन्मिने पाठापाठी र आम्दानीले उनले ब्यवसाय विस्तार गरेका हुन् । उनले भेडा पालेर आफू मात्र होइन अरु आठ जनालाई पनि रोजगारी दिएका छन् । भेडा हेर्न उनिले कर्मचारीसंगै कुकुर पनि पालेका छन् । अब उनि जिल्ला पशु सेवा र घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा फार्म दर्ता गर्ने तयारीमा छन् ।
पढाइको कमीले भेडा पाले
बेगको महादेव माविमा नौ कक्षासम्म पढेका फगामी भेडा पाल्न पढाई नचाहिने बताउँछन् । पढाईको कमीले गर्दा भेडा पालनमा लागेको बताउने फगामी धेरै पढेको भए अहिले यो अवस्थामा हुने थिएनन् । भेडा पाल्नलाई पढाई भन्दा दुःख र मेहनत धेरै आवश्यक रहेको फगामीको अनुभव छ । भेडापालन गर्नुको अर्को कारण यसमा उनले देखेको सम्भावना पनि हो । बाबुबाजेले गर्दै आएको पेशा र भुगोल तथा हावापानी अनुकुल भएकाले भेडापालन गरेको फगामीले बताए । एकैपटक धेरै लगानी गर्नु नपर्ने र आम्दानीको हिसावले राम्रो सम्भावना भएको पेशा हो भेडापालन ।
लेकबेंशी गर्दाका दःख
अहिले बेगको लेकमा उनको भेडागोठ छन् । चैत सकिएलगत्तै धौलागिरी हिमालको फेदीमा पर्ने मुस्ताङको बुकीमा गोठ सर्छ । चिसो हुँदा बेग गाउँमा गोठ ल्याउँछन् । हिउँदमा बेशी र बर्खामा लेकमा गोठ सार्ने चलन छ । भेडाको बथानसंगै अघिपछि गर्नु र तिनीहरुकै स्याहार सुसारमा दिनरात बिताउन कम्ती सजिलो छैन् । तर पनि खाडी मुलुकमा अरु नेपालीले भोगेको पीडा सुनेका बिमल आफ्नै दुःखमा सन्तोष मान्छन् । जंगलमा हिड्दा काँडाले कोतर्ने । चप्पलबिनै हिड्नुपर्ने । भिर, पहरा गर्नुपर्ने । जंगली जनावरको उत्तिकै डर । भनेको बेला खान नपाउने । भेडा हराएमा र समूह छुटेमा खोज्दा हुने हैरानी । न गतिलो सुत्ने ठाउँ हुन्छ । भकारी र पालले छाएको गोठमुनी घुम ओढेर कुकरुक्क परेर चिसोमा रात कटाउनु भेडागोठको अर्को दुःख हो ।
मन बुझाउने ठाउँ पनि छ
भेडा पालेर बिमलले दुःख मात्र भोगेका छैनन् । गाउँमै बसीबसी लाखौ आम्दानी पनि गरिरहेका छन् । उनको गोठमा आठ सय भेडा कम्तीमा पनि हुन्छन् । उनले बरुवाल जातका भेडा पालेका छन् । बर्षमा चार सय नयाँ पाठापाठी जन्मछन् । भिरबाट लडेर, रोगले मर्ने, जंगली जनावरको आक्रमणमा पर्ने बाहेक वर्षमा दुई सय भेडा बिक्री हुन्छ । एउटा भेडाको सरदर मूल्य १५ हजार रुपियाँ छ । उनि बर्षमा बिस लाख बराबरको भेडा बिक्री गर्छन् । बर्षमा दुई सय भेडा बिक्री नगरे थाम्न गाहे पर्छ । भुमीपुजा, बडादसै जस्ता चाडवाड र मेला पर्वमा भेडाको बली चढाउने चलन हुन्छ । थुमा र साँड पुजा गर्नलाई बिक्री हुन्छ । खसी पारेका भेडा पनि मासुका लागि बिक्री हुन्छ । चिसो हावापानीमा जडिवुटीयुक्त चरनमा चरेका भेडाको मासु स्वादीलो हुने भएकाले बिक्री नहुने समस्या छैन् । ब्यापारी भेडा किन्न गोठ भएकै ठाउँमा पुग्छन् । खनखन्ती पैसा गनेर हातमै हालीदिन्छन् । यसैमा उनलाई सन्तोष छ । पैसाका लागि कसैलाई ज्यू हजुर गर्नु परेको छैन् ।
समस्या चरनको
फगामी मात्र होईन् भेडापालन गरेका म्याग्दीका कृषकहरुको लागि चरनको अभाव साझा समस्या बनेको छ । लेकाली क्षेत्रका चरनमा घाँस कम उम्रने र बेशीमा जंगलमा सामुदायीक वनले चरिचरन बन्द गरेपछि भेडापालक कृषकहरु आफ्नो ब्यवसायबाटै पलायन हुनेपर्ने अवस्थामा रहेको फगामी गुनासो गर्छन् । घाँस नपलाउने र कम उम्रने एउटा समस्या हो भने घाँस भएको जंगलमा पनि चरिचरन गर्न नपाउदाँ उनिहरुलाई दुख लागेको छ । वन संरक्षण गर्नु आवश्यक भएपनि त्यसको ब्यवस्थापन र उपयोग पनि हुनुपर्ने फगामी तर्क गर्छन् । बिस वर्षदेखि जंगलमा चरिचरन र दाउरा घाँस गर्न बन्देज लगाउने सम्मको अन्यायपूर्ण काम भएकोमा उनिहरुको दुखेसो छ । ससाना रुख बिरुवा हुर्कीसकेपछि चरीचरन र उपभोगमा खुल्ला गर्ने ब्यवस्था गरिदिन फगामीले सरकारसंग माग गर्छन् ।
सरकारको पुच्छ्र निमोठ्दै
पहिले कृषकहरुलाई पशु सेवा कार्यालय र त्यसले प्रवाह गर्ने सेवा सुबिधाको बारेमा जानकारी थिएन् । भेडाबाख्रामा रोगको महामारी देखिए जंगली जडिवुटीको प्रयोग गरेर उपचार गरिन्थ्यो । अहिले पशु सेवा कार्यालयनै कृषक खोज्दै गोठमा मात्र पुगेको छैन् विभिन्न भेगमा छरीएका कृषकहरुलाई संगठीत पनि गराएको छ । बिमल लगायत कालीगण्डकी भेगका कृषकहरु अहिले कालीगण्डकी भेडापालक कृषक समूहमा आवद्ध छन् । उनिहरुलाई कार्यालयले औषधी र विभिन्न औजारहरु सहयोग गरेको छ । सरकारले पनि कृषकलाई प्राथमिकता दिएको जानकारी पाएपछि आफूहरु पशु सेवा कार्यालयसंग नजिकीएको र सेवा सुबिधाका लागि कार्यालयसंग समन्वय गरिरहेको फगामी बताउँछन् । ‘हाम्रो काम पशु सेवा कार्यालयमा आएर सेवा सुबिधा खोज्ने हो’ फगामीले ठट्यौली शैलीमा भने ‘हामी पुच्छ्र निमोठ्छौ, कार्यालय कति दौडीन सक्छ । त्यसैमा भर पर्छ यहाँका कृषकहरुको भविष्य ।’ नवविकल्प साप्ताहिकको अंक २६मा प्रकाशित । कुराकानीमा आधारित प्रस्तुती सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्