धौलागिरिको कम्युनिष्ट आन्दोलन सम्बन्धि पुस्तकको समिक्षा
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ चैत ।
बागलुङका कृष्ण केसीद्धारा लिखिति धौलागिरीमा कम्युनिष्ट आन्दोलन– उद्भव र विकास भन्ने पुस्तकको विषयमा आईतबार बेनीमा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखा म्याग्दीले आयोजना गरेको कार्यक्रममा धौलागिरीको समग्र कम्प्युनिष्ट आन्दोलनलाई समेटेर केसीले पहिलो पटक प्रकाशन गर्नुभएको पुस्तकको बारेमा समिक्षा तथा छलफल भएको थियो ।
पुस्तकमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङमा कम्युनिष्ट पार्टीको स्थापना, विगत र वर्तमान अवस्थाको बारेमा उल्लेख गरिएको छ । कार्यक्रममा सहभागिहरुले कम्प्युनिष्ट बिचारको एकतामा जोड दिएका थिए ।
लेखक केसीले म्याग्दीका कम्प्युनिष्टहरुमा बिद्रोही स्वभावको बिशेषता रहेको उल्लेख गर्नुभएको छ । यसैगरी उहाँले धौलागिरीका कम्युनिष्ट पार्टीहरुमा बैचारीक भन्दा पनि हाटहुटे प्रवृती चुनौतीको रुपमा बिश्लेषण गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका केन्द्रिय परिषद् सदस्य तथा पुर्व सभाषद गोविन्द पौडेलले कम्युनिष्ट विचारको रक्षा, प्रयोग र विकास आवश्यक रहेको बताउनुभयो ।
नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले कम्युनिष्ट आन्दोलन मार्फत भएका उपलब्धिलाई रक्षा, कमजोरीको समिक्षा र एकताका साथ नयाँ योजनाको विषयमा बहस आवश्यक रहेको बताउनुभयो ।
सहभागिहरुले धौलागिरीको कम्युनिष्ट आन्दोलनको ऐतिहाँसीक दस्तावेज मानिएको पुस्तकमा धेरै बिषय छुटेकाले त्यसलाई समेट्न लेखकलाई सुझाव दिएका छन् । म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक तारानाथ शर्मा, कम्युनिष्ट अगुवा धु्रबलाल शर्मा र एकिकृत अखिल नेपाल शिक्षक संगठनका ४ नम्बर प्रदेश संयोजक सोमनाथ ढुंगानाले पुस्तकको समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादीका जिल्ला सहसंयोजक शिवकुमार श्रेष्ठ, म्याग्दीमा माओवादीका संस्थापक सुवासकुमार श्रेष्ठ, लेखक कृष्ण केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो । क्रान्तिकारी पत्रकार संघ म्याग्दीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सचिव सन्दिप खत्रीको सञ्चालन र उपाध्यक्ष पदम बिकको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्