कालीगण्डकी नदी किनारको स्थलगत अनुगमन ः सफाई अभियान चलाइने
प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, चैत ४ गते ।
म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने पवित्र नदी कालीगण्डकीमा फ्याँकिने फोहोरको बिहीबार अनुगमन भएको छ । कालीगण्डकी नदीमा फोहोर बढ्दै गएपछि वास पत्रकार मञ्च म्याग्दीको अगुवाइमा सरोकारवाला निकायसहित स्थलगत अनुगमन र निरीक्षण गरिएको हो ।
प्रशासन, जिविस, प्रहरी, नगरपालिका, खानेपानी तथा सरसफाई सव–डिभिजन, कृषि, गैरसरकारी संस्था महासंघ, बेनी खानेपानी उपभोक्ता संस्था र पत्रकारहरु सहभागी संयुक्त टोलीले म्याग्दी तथा कालीगण्डकी नदीको सङ्गमस्थलदेखि नदी किनार हुँदै कालीपुल बसपार्क क्षेत्रसम्म संयुक्तरुपमा अनुगमन गरेको छ । 
अनुगमनका क्रममा नदी तथा किनारमा कागजका पोका, टुक्रा, खाली सिसा र प्लाष्टिकका बोतलहरु, फोहोरजन्य बस्तु, घरायसी फोहोर फ्याँकिएको पाइएको छ । यसैगरी बजारबाट दैनिक निस्कने फोहोर, अव्यवस्थित ढल निकास समेत भएको अनुगमनमा भेटिएको उक्त टोलीले जनाएको छ । त्यस्तै कालीपुल बसपार्कनजिकै खुला ठाउँमा कुखुरा काटेर त्यहीँ भुत्लाएको पनि पाइएको छ । 
नयाँ नगरपालिका बनेपछि टोल सुधार समिति बनाएर बजारमा फोहोर व्यवस्थापन र सरसफाई गर्ने गरिएपनि दुवै खोलाको किनारमा बजारवासीले फोहोर फाल्दै आएका छन् । मुक्तिनाथ मन्दिरको १०८ ओटा धाराको पानी मिसिएर बग्ने पवित्र नदीका रुपमा चिनिएको कालीगण्डकीमा फोहोर बढ्दै गएपछि फोहोर व्यवस्थापन गर्न स्थलगन अनुगमन गरिएको वास पत्रकार मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।
फोहोर व्यवस्थापनका लागि सरोकारवाला निकायसँग आवश्यक छलफल गरी गृहकार्य अगाडि बढाइने म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताउनुभयो । कालीगण्डकी नदी सफा राख्नु सबैको दायित्व भएको बताउँदै उहाँले यसलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । 
त्यसैगरी टोल सुधार समितिसँग छलफल गरेर फोहोर व्यवस्थापनको काम अघि बढाइने बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताउनुभयो । नगरपालिकाले ट्याक्टरमार्फत घरघरबाट फोहोर सङ्कलन गरेर फाल्ने व्यवस्था गरेपनि बजारवासीले भने जथाभावी रुपमा नदी किनारमा फोहोर फाल्दै आएका छन् ।
फोहोरको उचित व्यवस्थापन गर्नसके फोहोरबाटै मोहोर उत्पादन गर्न सकिन्छ । यसैबीच गएको शनिबारदेखि मानवअधिकार तथा शान्ति समाज म्याग्दीले कालीगण्डकी नदी सफाई अभियान सञ्चालन गरिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्