घरमा इन्धन भेटीए कारवाही ः प्रशासन
विकल्प न्यूज/बेनी
चैत ३ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले निजी घरमा इन्धन भण्डार गर्ने व्यक्तिहरुलाई कारवाही गर्ने भएको छ ।
व्यक्तिगत प्रयोजन भन्दै बजारका केही व्यक्तिहरुले ठूलो परिमाणमा इन्धन भण्डार गरि महङगोमा विक्रि गर्ने गरेको गुनासो सर्वसाधारणहरुले गर्न थालेपछि प्रशासनले यस्तो चेतावनी दिएको हो । 
गर्मी मौसममा असुरक्षित तरिकाले भण्डार गरिएको इन्धनका कारण आगलागी हुन सक्ने संभावित जोखिमलाई समेत मध्यनजर गरेर प्रशासनले व्यक्तिगत प्रयोजनका लागि भन्दै राखिएको ठूलो परिमाणको इन्धनलाई पेट्रोल पम्पमा लगेर राख्न सवैमा अनुरोध गरेको छ । ‘कसै सँग घरमा इन्धन छ भने कृपया इन्धन हटाउनुहोस,यसले संभावित दुर्घटना समेत निम्त्याउन सक्छ ।’ प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले भन्नुभयो ‘अनुगमनका क्रममा इन्धन भेटिए प्रशासन कारवाही गर्न बाध्य हुन्छ ।’
पेट्रोल पम्प बाहेक कसैलाई पनि इन्धनको भण्डारण गर्ने अधिकार नभएको उहाँले बताउनुभयो ।
‘कसैले व्यक्तिगत प्रयोजनका लागि घरमा इन्धन राख्नुभएको छ भने कृपया पेट्रोल पम्पमा लगेर राख्नुहोस’ प्रमुख जिल्ला आचार्यले भन्नुभयो ‘प्रशासनबाट अनुगमन हुँदा घरमा इन्धन भेटिए कालोबजारी ऐन अनुसार कारवाही हुन्छ ।’ प्रशासनले छिटै नै बजार अनुगमन गर्ने जनाउ समेत दिएको छ ।
पछिल्लो समय इन्धन आपूर्ती सहज भएपनि म्याग्दीमा इन्धन सहज तरिकाले उपलब्ध नभएको उपभोक्ताहरुको गुनासो छ । बेनीमा केही सिमित व्यक्तिहरुले ठूलो परिमाणमा इन्धन लुकाएर राखेको गुनासो आएको छ । यसरी लुकाएर राखेको इन्धनलाई उनीहरुले महङगोमा विक्री गरेर कालोवजारी समेत गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्