“म्याग्दीका होस्टेलहरु” अवैध छन् ः विद्यार्थी संगठन
विकल्प न्यूज /बेनी
म्याग्दी चैत ३ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालनमा रहेका होस्टेलहरु अवैध भएको विद्यार्थी संगठनहरुले बताएका छन् । बुधवार जिल्लामा क्रियाशिल तिन विद्यार्थी संगठनले अवैध होस्टेलहरुलाई कानुनी कारवाही गर्नुपर्ने माग सहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यलाई बुझाएका छन् । अबैध तरिकाले सञ्चालन भैरहेका होस्टेलहरुका कारण शैक्षिक क्षेत्रमा विकृती मौलाएको विद्यार्थीहरुले बताएको छन् ।
नेविसंघ,अनेरास्ववियु र अखिल क्रान्तिकारीले अवैधरुपमा सञ्चालन भएका होस्टेलहरुका कारण विद्यार्थीहरुको भविष्य नै खतरामा परेको भन्दै नियमन र अनुगमन गरि गैरकानुनी होस्टेलहरुलाई कारवाहीको माग सहित जिल्ला प्रशासन कार्यालयमा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन ।
जिल्ला शिक्षा कार्यालयमा दर्ता नगरी र अनुमती नलिईकन होस्टेल सञ्चालन भएको, आधारभुत सेवा, सुबिधा नभएको, कमजोर ब्यवस्थापनका साथै चर्को शूल्क लिने गरिएकाले नियमनका लागि माग गरेको अनेरास्ववीयुका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

बेनीमा सञ्चालन भएका होस्टेलहरु मापदण्ड विपरित सञ्चालन गरेर अभिभावबाट चर्को शुल्क लिने गरेको छन् । होस्टेलको फितलो व्यवस्थापनका कारण विद्यार्थीहरु भविष्य समेत अन्यौलमा परेको पौडेलले बताउनुभयो । उहाँले होस्टेलको फितो व्यवस्थापनका कारण मंगलबार एकजना विद्यार्थीको जिवननै समाप्त भएको बताउनुभयो । पौडेलले उक्त घटनाको छानविन गर्न समेत माग गर्नुभएको छ । किन र कसरी पढ्न गएका विद्यार्थी खोला किनारमा पुगे ? यो विषयको छानविन होस पौडेलले भन्नुभयो । 
बेनी स्थित एसियन होस्टेलमा अध्ययन गर्न वसेका बेनी नगरपालिका १२ का अनिल पाइजाको म्याग्दी नदीमा डुवेर मृत्यु भएको थियो । पाइजाको मृत्यु भएपछि होस्टेलका सम्बन्धमा बहश सुरु भएको हो । मापदण्ड पुरा नगरी खुलेका
होस्टेलहरुलाई कानुनी दायरामा ल्याइ कारवाही गर्नुपर्ने नेपाल विद्याथीं संघका जिल्ला अध्यक्ष भरत रकालले बताउनुभयो ।
बेनीमा मावि, उच्च मावि र क्याम्पस तहका विद्यार्थीलाई ट्युसन कोचीङ पढाउन सञ्चालन भएका चार वटा होस्टेल जिल्ला शिक्षा कार्यालयमा दर्ता भएका छैनन् । ति होस्टेलहरु घरेलु तथा साना उद्योग विकास समितिमा होटलको रुपमा दर्ता भएका छन् । होटलका रुपमा दर्ता गरी शैक्षिक व्यापार गरेको विद्यार्थीहरुले बताएका छन् ।
नियम विपरित खुलेका होस्टेलहरुका सम्बन्धमा तत्काल कारवाही प्रकृयामा नगए कडा आन्दोलन गर्न बाध्य हुने अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुदिन पौडेलले बताउनुभयो । ट्युसन, कोचीङ सञ्चालन गर्न र विद्यार्थीहरुलाई आवासीय सुबिधा दिन होस्टेल सञ्चालन गर्न शिक्षा कार्यालयमा ५० हजार रुपैयाँ घरौटी राखेर अनुमती लिनुपर्ने कानुनी ब्यवस्था छ । विद्यार्थीहरुको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले अवैध रुपमा सञ्चालन भएको होस्टेलहरुको नियमन र अनुगमन गरिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्