म्याग्दीमा विकराल बन्दै बालविवाह
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,चैत ३ गते ।
म्याग्दीको चिमखोला ६ की १५ वर्षिया गिता बिकले आफ्नो बिवाह भएको जतिबेला थाहा पाईन त्यतीबेला उनि आफ्नै फुपुको घरमा दुलहि बनेर भित्रीइसकेकी थिईन् । ‘घर जाउँ भनेर फुपुको छोराले फकाएर लगे । फुपुको घर जान बुवा आमाले पनि रोक्नु भएन्’ गिताले तिन महिना अघिको घटना सम्झीईन ‘फुपुकोमा गएको केही दिनमा बल्ल थाहा पाए म त्यहाँ भतिजी होईन बुहारी बनेर गएकी रहेछु ।’
गत वर्षको प्रवेशिका परिक्षामा दरवाङको परिक्षा केन्द्रमा फेला परेका परिक्षार्थीहरु बच्चालाई दुध चुसाउँदै । फाइल तस्विर हरिकृष्ण गौतम
आरन पेशा गर्दै आएका गिताका बुवा र आमाको सहमतीमा छिमेकी गाविस पाखापानी घर भएका फुपुका छोराले बिवाह गर्नलाई आफ्नो घर लगेका थिए । फुपुका २४ वर्षिय छोराले गर्ने ब्यवहारबाट आफ्नो बिवाह भएको थाहा पाएपछि छाँगाबाट खसेजस्तो भएको गिताले पिडा सुनाईन ।
२३ दिनसम्म फुपुको घरमा बसेपछि उनले त्यहाँको ब्यवहार ठिन नलागेपछि आफ्नै घर फर्कने निधो गरिन् । अमर माविको कक्षा ६ मा अध्ययनरत गिताले अहिले पढाईलाई निरन्तरता दिइरहेकी छिन् । ‘सर मिसले सहयोग गर्नुभएको छ । माया गर्नुहुन्छ’ गिताले भनिन् ‘विगतमा जे जस्तो भएपनि अब पढाईलाई निरन्तरता दिन्छु ।’
मामाको छोरी र फुपुको छोराबीच हुने मागी बिवाह संस्कारलाई चुनौती दिएकी गिताको कथाजस्तै लाग्ने संघर्षको भोगाई भन्दा दर्दनाक पिडा छ उत्तरी क्षेत्र दाना ९ की १८ वर्षिया अञ्जली गर्बुजाको । गरिबीका कारण घरमा बुवाआमाले पढाउन सक्ने अवस्था नभएपछि शिख पाउद्धार माईत भएकी उनले तिन वर्षअघि दानाका मिनकुमार गर्बुजासंग लगनगाठो कसेकी थिईन् । १५ वर्षको उमेरमा बिवाह गरेकी गर्वुजा १६ वर्षकै कलिलो उमेरमा आमा बन्नु प¥यो । गर्वुजाले विहे भन्दा अगाडि गाउँमै ६ कक्षासम्मको अध्ययन गरीन भने ८ सम्म सर्वोदय उच्च मावि भू तातोपानीमा ।
बिवाहपछि ९ कक्षा पढ्न ज्ञानप्रकाश उच्च मावि दानामा भर्ना भएकी उनि पढाईमा अब्बल थिईन । उनले ९ कक्षामा तृतिय स्थान हुँदै उत्तिर्ण पनि भईन् । कक्षा १० मा पढ्न शूरु गरिन तर प्रवेशिका परीक्षामा सहभागि हुन पाईनन्, कारण उनी आमा बनिसकेकि थिईन । पढाईले १० कक्षामा पूर्ण विराम लाग्यो । उनको एस एलसी पास गर्ने सपना पूरा भएन । शिक्षा हाँसील गर्ने अधिकार कुण्ठीत मात्र भएन्, भविश्यको बाटोमा ठेस लागेको अञ्जलीको अनुभव छ ।
‘भनेजस्तो नभएपनि परिवारीक सम्बन्ध राम्रो छ । भावी सन्तानले हामीले जस्तो दुख भोग्न दिने छैनौ’ अञ्जली भन्छिन् ‘बिवाह पछि पढाईलाई निरन्तरता दिन धेरै कठिन छ ।’ कानुनले बिस वर्ष भन्दा कम उमेरमा बिवाह गर्नु गराउने कार्यलाई अपराध मानेको छ । आधारभुत तह सम्मको शिक्षालाई सरकारले निशूल्क घोषणा गरेको छ । तर समाजमा न त बालबिवाह रोकीएको छ, न सबैले आधारभुत तहको शिक्षानै पाएको अवस्था छ । 
गत वर्षको प्रवेशिका परिक्षामा दरवाङको परिक्षा केन्द्रमा फेला परेका परिक्षार्थीहरु बच्चालाई दुध चुसाउँदै । फाइल तस्विर हरिकृष्ण गौतम
यस्तो अवस्था आउनुको पछाडि चेतना, शिक्षाको कमी, गरिबी र परम्परागत गलत संस्कार प्रमुख कारण रहेको अमर मावि चिमखोलाकी शिक्षीका पोमाया पुनको ठम्याई छ । ‘मामाको छोरी र फुपुको छोराबीच बिवाह गर्ने चलन छ । आफन्तभित्रै बिवाह गर्दा सजिलो हुने बुझाईले गर्दा माईती कुटुम्बको नातालाई निरन्तरता दिनलाई अभिभावक सहमत भईसकेपछि छोरीचेलीले नाई भन्न सक्दैनन’ शिक्षिका पुनले भन्नुभयो ‘जसले गर्दा मन नभएर पनि अभिभावकले दिएको व्यक्तिसंग बिवाह गर्नुपर्ने किशोरीहरुको बाध्यता छ ।’
अर्कोतर्फ अभिभावकमा नातामा बिवाह गर्दा भविश्यमा जन्मने बालबालिकामा पर्ने असर, कानुनी व्यवस्था, महिला तथा बालबालिकाको अधिकार र बालबिवाहले निम्त्याउने दुष्परिणामको बारेमा ज्ञानको अभाव पनि उत्तिकै छ । परिवारको कमजोर आर्थिक अवस्था र गरिबीका कारणले पनि बालबिवाह हुने गरेको छ ।
विपन्न समुदायका अभिभावक छोराछोरीलाई पढाउनु भन्दा बिवाह गरिदिदाँ आफ्नो जिम्मेवारी पुरा भएको ठान्छन् । बिहे गरीदिएपछि आफ्नो जिवन आफै चलाउँछन र झञ्जटबाट मुक्त भईन्छ भन्ने मान्यता छ । गरिबी र अभावमा गुज्रीएको ग्रामिण समाजमा जस्तै शिक्षित भनिएको शहरी र सम्पन्न समुदाय पनि बालबिवाहबाट मुक्त छैन् ।
गाउँघरमा बाध्यताले बालबिवाह हुन्छ भने सहरी क्षेत्रमा सूचना प्रबिधिको दुरुपयोग, अभिभावकको बेवास्ता र गलत संगतका कारण रहरले सानैमा दुलाह, दुलही बन्नेहरु भेटिन्छन् । मोवाईल, ईन्टरनेट, सामाजिक सञ्जालको सहयोगले प्रेम सम्बन्ध स्थापीत गरेर शारीरिक सम्र्पक हुदै बिवाह गर्नुअगावै बुवाआमा बन्ने अवस्थामा बाध्यतात्मक परिस्थीतीले सानैमा बिवाह गर्ने विकृती सामाजिक समस्याकै रुपमा देखिएको छ ।
कम उमेरमा हुने बिवाहले सामाजिक, आर्थिक, सांस्कृतीक, शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या थपेको छ । उनिहरु शारिरीक, मानसिक र संवेगात्मक हिसावले परिपक्क हुदैनन् । छोटो समयको माया प्रेम र बाध्यतामा परेर बिवाह गरेका दम्पतीहरुको सम्बन्ध रसीलो, कसीलो र दिगो बनेको कमै मात्र उदाहरण छन् । उमेर नपुग्दै बिवाह गरेपछि पारिवारीक जिम्मेवारी बढ्दै जाँदा एक अर्कामा अविश्वास सिर्जना भई अलग हुने बाटो रोज्ने गरेका छन् ।
पछिल्लो समय सम्बन्ध बिच्छेद गर्न आउनेमा सानै उमेरमा बिवाह गरेकाहरु बढी हुने गरेको जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार गोकर्णराज पन्तले बताउनुभयो । जिल्ला अदालतमा आर्थिक वर्ष २०७१७२ मा ११३ थान सम्बन्ध बिच्छेदका मुद्दा परेकोमा १०७ वटाको फैसला भएको थियो । चालु आर्थिक वर्षको पौष महिनासम्ममा ३१ जनाले मिलापत्रको माध्यमबाट (फास्ट ट्याक) बिधी अपनाएर सम्बन्ध बिच्छेद गरेको अदालतको तथ्याङ्क छ ।
प्रहरी र अदालतमा बालबिवाह सम्बन्धि मुद्दा परेको भने भेटिदैन् । यदाकदा अन्तरजातीय बिवाह भएको र केटा अथवा केटी पक्षले नचाहेको व्यक्तिलाई बुहारी वा ज्वाँईको रुपमा स्वीकार गर्न नसकेको अवस्थामा मात्रै बालबिवाहको उजुरी पर्छ । धेरैजसो यस्ता मुद्दा सहमतीमा मिलापत्र गरेर टुङ्गीन्छ ।
बालबिवाहले किशोर किशोरीहरुको शिक्षामा पनि नकारात्मक असर पारेको छ । विद्यालय, दश जोड दुई तहमा अध्ययनरत धेरैले बिवाहपछि शिक्षालाई निरन्तरता दिन सकेका छैनन् । किशोरहरु पारिवारीक समस्या र घरब्यवहार चलाउन रोजगारीका लागि बिदेशिने तथा किशोरीहरु आमा बन्ने र घरधन्दा सम्हालेर बस्ने गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार २०७१ को प्रवेशिका परिक्षा (एसएलसी)मा सहभागिताका लागि आवेदन फारम भरेका मध्य पढाई छाडेको र ७५ प्रतिशत हाँजीरी नभएका कारण ६६ जना विद्यार्थी परिक्षा दिनका लागि अयोग्य भएका थिए । पढाई छाड्नु र नियमित कक्षामा हाँजीर नहुनुको पछाडीएको एउटा कारण विद्यालय पढ्ने उमेरमा हुने बिवाह भएको विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले बताउनुभयो ।
शिक्षा हाँसील गर्न नसकेका युवा युवतीहरु स्वदेशमा रोजगारीको अवसरबाट बञ्चित हुन्छन् । गाउँमै ब्यापार, ब्यवसाय, कृषि पेशा गर्ने बाहेक राम्रो शिक्षा हाँसील गर्न नसकेकाहरुका लागि रोजगारीको अन्तिम विकल्प बैदेशिक रोजगारीनै बनेको छ । अर्कोतर्फ गाउँघरमै रहने युवतीहरु पनि शिक्षाको कमीले गर्दा घरधन्दा, दाउराघाँसमै सिमीत हुनुपर्ने र सामाजिक, आर्थिक, राजनितीक गतिबिधिमा सहभागि हुन नसक्ने अवस्था छ ।
कम उमेरमा हुने बिवाहको सबैभन्दा धेरै असर महिलाको स्वास्थ्यमा देखिएको छ । म्याग्दीमा तिस प्रतिशतको हाराहारीमा गर्भवतीहरु बिस वर्ष भन्दा कम उमेरका रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कम उमेरमै आमा बन्नु स्वास्थ्यका हिसाव आमा र बच्चा दुवैको प्रतिकुल हो । छिटो बच्चा जन्माउने दर हुने, पाठेघर खस्ने, शारिरीक कमजोरी, औसत आयुमा असर, बच्चामा कुपोषण र अपाङ्गता हुने जस्ता समस्या देखिने गरेको जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताउनुभयो ।
आर्थिक वर्ष २०७१७२ मा दुई हजार ३०७ जना गर्भवती मध्य ६५२ जना २० वर्षभन्दा कम उमेरका रहेका थिए । चालु आर्थिक वर्ष २०७२७३ को पहिलो चार महिनामा ५१८ जना गर्भवती मध्य १४३ जना बिस बर्ष भन्दा कम उमेरका छन् । बिस वर्ष भन्दा कम उमेरमा आमा बन्नेहरुको संख्या पछिल्लो केही वर्षयता घट्दै गएको देखिएपनि सन्तोषजनक अवस्था भने नरहेको जनस्वास्थ्य अधिकृत चौधरीले बताउनुभयो ।
बिस वर्ष भन्दा कम उमेरमा आमा बन्नेहरुको संख्या आर्थिक वर्ष २०७०७१ मा ३२ र २०६९७० मा ३८ प्रतिशत थियो । बालबिवाह र त्यसको असरले समाजमा विभिन्न समस्या उत्पन्न गरेपनि न्युनीकरणका लागि प्रभावकारी काम भएको देखिदैन् । सम्बद्ध सरकारी कार्यालय र गैरसरकारी संघ संस्थाले तालीम, गोष्ठि र सहर केन्द्रित कार्यक्रम गर्दा दुर्गम तथा ग्रामिण क्षेत्रमा बालबिवाह विरुद्ध सन्देश प्रवाह हुन सकेको छैन् ।
केही गाविसमा गठन भएको युवा महिला संस्था र विद्यालयका बालकल्व बालबिवाह बिरोधी अभियानमा सक्रिय बनेपनि उनिहरुले साथ, सहयोग पाएका छैनन् । बालबिवाह न्युनीकरणका लागि किशोर किशोरीहरुलाई परामर्शको माध्यमबाट सचेतीकरण गर्ने, अभिभावकमा बालअधिकार र बालबिवाह विरुद्ध बनेका कानुनको बारेमा जानकारी गराउने तथा विद्यालय र समाजलाई किशोरीमैत्री बनाउनुपर्ने युवा महिला संस्था जिल्ला सञ्जालका सचिव लक्ष्मी बिकले बताउनुभयो ।
सञ्जाल अन्तरगत म्याग्दीको दरवाङ, रुम, ओखरबोट, अर्मन, ताकम, देविस्थान, मुदी, दाना, बेग, पात्लेखेत, चिमखोला, रत्नेचौर, कुईनेमंगले, दग्नाम लगायतका गाविसका किशोरीहरुलाई युवा महिला संस्थामा आवद्ध गराइएको छ । संस्थामा आवद्ध किशोरीहरुलाई बालबिवाह नगर्न सुझाव र परामर्श दिने गरीएको बिकले बताउनुभयो ।
महिला हिंसा र सामाजिक विकृती न्युनीकरणका लागि पनि चेतनामुलक कार्यक्रम गर्दै आएका संस्थाहरुलाई आर्थिक स्रोतको समस्या छ । सहर, बजारका महँगा होटलमा नेता, कर्मचारी, दाता, सामाजिक अगुवाहरु भेला भएर तालीम गोष्ठि गरेर बर्षेनी करोडौ बजेट बालुवामा पानी हालेसरह उपलब्धिहीन तरीकाले खर्च गरिरहेका छन् । ग्रामिण तहमा जनचेतना अभिवृद्धी गर्न स्वमसेवकको रुपमा सक्रिय व्यक्तिहरु आर्थिक स्रोत, सम्बन्धित निकायको साथ र सहयोगको अभावमा खुम्चीएर बस्नुपर्ने बिडम्बनापूर्ण अवस्था छ । नवविकल्प साप्ताहिकको २५ औ संस्करणमा प्रकाशित
प्रतिक्रिया राख्नुहोस्